नेविसङ्घको रिले अनशन एक महिनादेखि जारी

काठमाडौं, २ माघ । १२ औँ महाधिवेशनको माग गर्दै नेपाल विद्यार्थी सङ्घको रिले अनसन एक महिनादेखि जारी रहेको छ ।

विधानअनुसार नेविसङ्घको १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै गत पुस २ गतेदेखि नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको रिले अनशन बिहीबार एक महिना पुगेको छ ।

नेविसङ्घको नयाँ विधानमा ३२ वर्ष मुनिकालाई अध्यक्ष बनाउनुपर्ने व्यवस्था गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिसक्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घ भने नेतृत्वको खोजीमै अल्मलिएको छ ।

विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएसँगै एक वर्षदेखि नेविसङ्घ नेतृत्वविहीन बनेको हो ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले विधानअनुसार २० जिल्लाको महाधिवेशन सम्पन्न भइसकेकाले अव बन्ने तदर्थ समिति विधानअनुसार ल्याउनुपर्ने बताए ।

तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने अनशनकारीको माग रहेको उनले बताए ।

नेविसङ्घ नेता त्रिपाठीले भने विधान मिचेर नेतृत्व आए आमरण अनशन बस्ने बताए ।

नेविसङ्घका अर्को नेता सुशील भट्ट स्ववियु निर्वाचनमा अरु विद्यार्थी सङ्गठनसँग प्रतिस्पर्धा गर्नपनि तत्काल तदर्थ समिति निर्माण गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस भने पार्टीभित्रको १४औँ महाधिवेशनको समय तालिका र भ्रातृ संस्थाभित्र नेतृत्व कसलाई दिने भन्ने विवादमा अल्झिएको छ ।

पार्टीभित्रको विवादका कारण अनशन पनि ओझेलमा पर्दै गएको छ ।

Loading...