सिंघिया घाटमा जलाउन ठिक्क पारिएको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ

विराटनगर, २ माघ । विराटनगर महानगरपालिका–८ की २८ वर्षीया प्रेमदेवी साहको मृत्यु भएको खबर टोलका मानिसलाई थाहा थिएन । बिहीबार बिहान मृत्यु भएको खबर माइती पक्षसम्म पुग्यो ।

केही छिमेकी र आफन्त शव लिएर सिंघिया घाटतर्फ जाने तयारी गर्दै थिए । बिहान सूचना पाएका दाजु राजु साह सोही बेला आइपुग्दा बहिनीको घाटीमा चोट देखे ।

उनले सोधीखोजी गर्दा जवाफ पाएनन् । हत्तार–हत्तार केही छिमेकी र आफन्त शव लिएर विश्वकर्मा चोकपूर्व रहेको सिंघिया घाटतर्फ लागे ।

घाटमा चित्ता पनि बन्यो । तर शवलाई चित्तामा राख्ने तयारी हुँदै गर्दा प्रहरी टोली पुग्यो ।

घाटमा प्रहरी भ्यान पुगेपछि मात्र टोलका अन्य छिमेकी प्रेमदेवीको मृत्युबारे जानकारी पाए ।

मृतकको घाँटीमा चोट देखिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ ।

घाँटीमा शंकास्पद डाम देखिएपछि २८ वर्षीया साहको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

घटना शंकास्पद रहेकाले श्रीमान् गोविन्द साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।

दाजु भन्छन्– घाँटीमा चोट कसरी आयो ?

प्रेमदेवीको मृत्युका खबर बिहान साढे ५ बजे उनका माइती पक्षलाई पुगेको थियो ।

बराहक्षेत्र नगरपालिका–४ कालाबञ्जार घर भएका दाजु राजु साह बिहानै निस्किए ।

घाट लैजाने तयारी गर्दै गर्दा बहिनीको घाँटीमा डाम देखिएपछि प्रहरीलाई खबर गरेको उनले बताए ।

‘बहिनी बिरामी थिइन्, माइतबाट १५ दिनअघि मात्र घर आएकी हुन्,’ उनले भने, ‘आज एक्कासी मृत्युको खबर आयो ।’

sadf

घरमा बहिनीलाई हेला गर्ने गरेको बताउँदै उनले घाँटीमा चोट देखिएकाले अनुसन्धान हुनुपर्ने बताए । मृतक महिलाको १२ वर्षअघि विराटनगर–८ बलुवाहीका गोविन्द साहसँग भएको थियो ।

श्रीमान भन्छन्– चोट पुरानै हो

प्रेमदेवीका श्रीमान गोबिन्द साहले घाटीमा देखिएको चोट पुरानो भएको बताएका छन् ।

करिब पाँच महिनाअघि आत्महत्या प्रयास गर्दा आफूले बचाएको बताउँदै उनले त्यतिबेला नै घाटीमा चोट रहेको बताए ।

श्रीमतीको मानसिक अवस्था ठिक नभएको उनले बताए ।

बुधबार मध्यरातसम्म आफूले श्रीमतीसँग गफ गरेको बताउँदै उनले बिहान उठ्दा श्रीमती खाटमुनि मृत अवस्थामा भेटिएको बताए ।

‘राति अबेरसम्म गफ गरेर सुतेका थियौं,’ उनले भने, ‘बिहान भुइँमा लडेको देखेपछि उठाएर स्वास्थ्यकर्मीलाई बोलाएँ तर उनले मृत्यु भइसक्यो भने ।’

उनी राठी पोलिमर्समा काम गर्छन् । मृतक साहका ८ र १० वर्षका दुई छोराहरू छन् ।

प्रहरी भन्छ घाँटीको चोट आलै हो

घटना शंकास्पद देखिएपछि जलाउन ठिक्क पारेको शव नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

श्रीमानको बयान पनि बाझिएका कारण उनलाई नियन्त्रणमा लिएको अधिकारीले बताए ।

शंकास्पद मृत्यु भएको सूचना आएपछि वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायव निरीक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रामबहादुर ढकाल नेतृत्त्वमा टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार महिलाको घाँटीमा देखिएको चोट पुरानो होइन ।

Loading...