मधुमेहले आँखामा जटिल समस्या निम्त्याउँछ

विराटनगर, २ माघ । मधुमेहका बिरामीलाई अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिने गर्छ । पटकपटक आनो आउने, आँखा सुख्खा हुने, छिटोछिटो चश्माको पावर परिवर्तन हुने, मोतियाविन्दु छिटो देखा पर्ने, जलविन्दुको सम्भावना बढी हुनेलगायत आँखाको पर्दामा गम्भीर असर देखा पर्छ । आँखामा हुने समस्याहरूमध्ये डाइबेटिक रेटिनोपेथी मानिसहरूलाई दृष्टिविहीन गराउने कारणमध्ये एक हो ।

डाइवेटिक रेटिनोपेथीमा आँखामा भएको पर्दाका रक्तनलीमा असर पु¥याइ आँखाका पर्दामा रक्तस्राब र चिल्लो जम्मा हुनु हो । साथै, यसको समयमै उपचार नभएको खण्डमा दृष्टि गुम्ने सम्भावना धेरै रहन्छ । एक तथ्यांकअनुसार संसारमा ४.८ प्रतिशत अन्धोपना मधुमेहका कारणले हुने गरेको छ । मधुमेहले आँखाको पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने हुँदा आँखामा जटिल समस्या निम्त्याउने गर्छ ।

डाइवेटिक रेटिनोपेथी मधुमेह रोग नियन्त्रणमा नहुने व्यक्तिहरूमा, मधुमेह रोगको अवधि बढ्दै जाँदा देखिने गर्छ । साथै, गर्भावस्थामा, उच्च रक्तचाप, कोलेस्ट्रोल, रक्तअल्पता भएका व्यक्ति, मिर्गाैलाको समस्या तथा धुम्रपान गर्ने व्यक्तिमा पनि यो प्रकारको आँखाको समस्या बढी देखिन्छ । डाइवेटिक रेटिनोपेथी मधुमेह रोग भएको २० वर्षमा टाइप १ डाइविटिज सबै बिरामीमा र टाइप २ बिरामीहरूमा करिब ७० देखि ८० प्रतिशतमा देखा पर्छ ।

आँखाको दृष्टि पर्दामा असर भए पनि व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखा पर्दैन । आँखा धमिलो हुँदासम्म रेटिनामा क्षति भइसकेको हुन्छ । समयमा डाक्टरकोमा जाँदा आँखाको जाँच गर्दा रोगको असर पहिचान गर्न सकिन्छ । समयमै उपचार गर्दा दृष्टि गुम्नबाट बचाउन सकिन्छ तर, असर परिसकेको खण्डमा दृष्टिलाई फर्काउन मुस्किल नै हुने गर्छ । मधुमेहका कारणले हुने अन्धोपनबाट बच्नका लागि मधुमेहका बिरामीले रगतमा चिनी तथा चिल्लो पदार्थको मात्रालाई नियन्त्रणमा राख्ने, उच्च रक्तचाप हुन नदिने र धुम्रपानबाट टाढा रहनु पर्छ ।

डाइवेटिक रेटिनोपेथीको समयमै उपचार भए धेरै हदसम्म दृष्टि बचाउन सकिन्छ । मधुमेह रोग पहिचान हुनासाथ र त्यसपछि कम्तीमा वर्षमा २ पटक नियमित आँखाको परीक्षण गराउन आवश्यक हुन्छ । मधुमेहले मिर्गाैलामा असर गरिसकेका, उच्च रक्तचापको समस्या भएका र गर्भवती महिलाले यस विषयमा विशेष सावधानी अपनाउनुपर्छ ।

Loading...