Rumpum

Rumpum Advertisement

जाभीको खुलासा : बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेँ

जाभीको खुलासा : बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेँ

एजेन्सी, २ माघ । कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् । कतार कपको फाइनलअघि पत्रकारसँग कुरा गर्दै जाभीले पूर्वक्लब बार्सिलोनाबाट आएको प्रशिक्षकको प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका हुन् ।

xavi

केही समयअघि बार्सिलोनाले उनलाई प्रशिक्षक बनाउनका लागि प्रस्ताव राखेको थियो । बार्सिलोनाका प्रमुख कार्यकारी ओस्कार ग्राउ र टेक्निकल सेक्रेटरी इरिक अबिडाल जाभीसँग भेट गर्न शुक्रबार कतारको दोहा पुगेका थिए । भेटमा जाभीलाई बार्सिलोनाको प्रशिक्षकका लागि प्रस्ताव राखिएको थियो ।

त्यसपछि बार्सिलोनाले प्रशिक्षकका रूपमा रियल बेटिसको पूर्वप्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको थियो । तर, कतार कपको फाइनलअघि पत्रकारसँग बोल्दै जाभीले आफूले बार्सिलोनालाई अस्वीकार गरेको खुलासा गरेका हुन् ।

‘हो, मलाई बार्सिलोनाबाट प्रस्ताव आएको थियो,’ उनले भने, ‘एरिक अबिडाल र ओस्कार ग्राउ प्रस्ताव लिएर मकहाँ आएका थिए । तर, मैले उनीहरूको प्रस्ताव स्वीकार गरिँन । विशेषगरी बार्सिलोना प्रशिक्षकको लागि हतारमा थियो । त्यै पनि बार्सिलोनाको प्रशिक्षक बन्नुचाहिँ मेरो सपना हो ।’

यसैगरी बार्सिलोनाले आफूलाई फाइनलमा फोकस गरिरहेको बेलामा प्रस्ताव राखेकाले पनि निर्णय दिन नसकेको जाभीको भनाइ थियो । ‘पहिले मैले मेरो परिवारलाई बार्साको प्रस्तावका बारेमा सुनाएँ, त्यसपछि अल सादलाई,’ उनले थपे, ‘त्यतिबेला मेरो ध्यान फाइनलमा थियो । तीन दिन म राम्रो पोजिसनमा थिइँन । तर अब म आफ्नो पूरै ध्यान अल सादलाई दिइरहेको छु ।’