मीरगन्ज पुलको सास्ती : रेल रिजर्भ गरेर नेपाली उत्पादन भारत निकासी

विराटनगर, १ माघ । मीरगन्ज पुलबाट आवागमन ठप्प भएपछि विराटनगर भन्सार नाकाबाट पैठारी मात्र नभएर निकासी पनि ठप्प भएको छ । निकासी ठप्प भएपछि नेपाली उद्योगहरूले उत्पादन गरेका वस्तुहरू भारत र तेस्रो मुलुक पठाउन कठीनाइ भइरहेको छ ।

पैठारी अभावमा उद्योगहरूले कच्चा पर्दाथको अभाव झेल्न थालिसकेका छन् भने निकासी समस्याले उत्पादन भएको मालवस्तु विदेश निर्यात गर्न पाइरहेका छैनन् । गोल्छा अर्गनाइजेसनको अरिहन्त मल्टिफाइबर र रघुपति जुटमिल प्रालिले उत्पादन गरेका ८ सय मेट्रिक ६ टन जुटका तयारी सामग्री मंगलबार भारतीय रेल रिर्जव गरेर भारत पठाएको छ ।

sdf

भारतको जोगबनी नाकाबाट गोल्छा कम्पनीले ४२ वटा डब्बा रिजर्भ गरेर जुटका सामग्री भारत पठाएको हो । नेपालमा बन्दरगाहा नहुँदा रेलबाट सामग्री आयात–निर्यात गर्दा पटकपटक लोडअनलोड गर्नुपर्ने भएकोले खर्चिलो हुन्छ । उत्पादन भएका जुटका सामग्री गोदाममा राखिरहन कठिनाइ भएको र पार्टीलाई डेलिभरी दिन ढिलाइ भएपछि रेल रिजर्भ गरेर भएपनि जुट सामग्री भारत पठाइएको हो ।

तेस्रो मुलकका सामग्री भन्टाबारी नाकाबाट रिरुट सुरु

विराटनगर जोगवनी नाकामा पर्ने मीरगन्ज पुलमा आवत–जावत बन्द भएपछि ठप्प भएका मालवाहक सवारी साधन सुनसरीको भन्टाबारी नाकाबाट रिरुट हुन थालेका छन् । विराटनगर जोगवनी नाकादेखि ५ किमी दक्षिणमा पर्ने भारत बिहार राज्यको अररिया जिल्लास्थित मीरगञ्जमा रहेको परमान खोलाको पुल भारतले पुनः मर्मतका लागि जनवरी १० तारिखदेखि बन्द भएको थियो । मालवाहक सवारी आवतजावत ठप्प हुँदा भारततर्फ सयौँ ट्रक कन्टेनर र टयाङकहरू अलपत्र परेका छन् ।

भारतले धेरै दिन होल्ड गरेर बस्दा धेरै घाटा बेहोर्नुपर्ने भएकोले तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु मात्र भन्टाबारीको भीमनगर नाकाबाट रिरुट गर्न अनुमति दिएको छ । भारतको अनुमतिपछि मंगलबारबाट तेस्रो मुलकुबाट आएका कन्टेनरहरू रिरुट हुन थालेको विराटनगर भन्सार कार्यालयले जनाएको । भारतको बिहार राज्यअन्र्तगतको सहर्ष जिल्लाको वीरपुर र नेपालको सुनसरी जिल्लाको भण्टाबारी नाका विराटनगर जोगवनी नाकाबाट करिब डेढ सय किलोमिटर दूरीमा पर्छ ।

६ माघसम्म मीरगन्ज पुल मर्मत गरिसक्ने भारतको प्रतिवद्धता

भारतले २२ जनवरीसम्ममा मीरगन्ज पुलको मर्मत सक्ने र त्यसपछि पूर्ण क्षमतामा पुल सञ्चालन गराउने जानकारी गराएको छ । मीरगन्ज पुल मर्मतले गर्दा मालवाहक सवारीको आवागमन बन्द भएपछि विराटनगर भन्सार कार्यालयको दैनिक १५ करोड राजश्व असुली प्रभावित भएको छ ।

२०७४ साउनमा आएको बाढीले क्षति पुर्‍याएको परमान नदीको उक्त फलामे पुल दुई महिनाको मर्मतपछि २३ असोज २०७४ बाट मर्मतसम्भारपछि अर्ध क्षमतामा सञ्चालनमा आएको थियो । पुल अर्ध क्षमतामा सञ्चालनमा नआउँदा उद्योगी व्यापारीले चार महिनासम्म डेढसय किलोमिटर घुमाउरो भण्टाबारी नाकाबाट मालवस्तु रिरुट गराएर महंगो ढुवानी खर्चसँगै समय र सुरक्षाको जोखिम मोलेर विराटनगर भन्सारमा जाँचपासका लागि ल्याउनु परेको थियो ।

उद्योगी व्यपारीहरूको पटकपटकको आग्रह र नेपाल सरकारको पहलसँगै भारतले क्षति पु¥याएको पुल पुनः निर्माणपछि उक्त पुलबाट ४० टन क्षमतासम्मका भारवाहनसम्मका सवारीहरू आवत गर्ने गरेका थिए । उद्योगी व्यपारीहरूले खर्चिलो रिरुट नाका छाडेर मीरगन्ज नाकाबाटै पटकपटक गरेर भएपनि मालवस्तुहरू आयात निर्यात गराउँदै आएका थिए ।

तर नेपाली उद्योगी व्यापारीहरूले पुललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन नेपाल सरकारमार्फत भारतलई बारम्बार आग्रह गरेपनि भारतले पटकपटक मीरगन्ज पुलको पुनः मर्मत गराउँदै आएको छ । हाल उक्त पुलबाट कुनै पनि मालबाहक सवारी साधान आवत–जावत गर्न पाएका छैनन् । पुलबाट एकतर्फी हलुका सवारीहरू मात्र सञ्चालन भइरहेका छन् ।

Loading...