रेल चढेर माग्न आए भारतीय भिखारी (फोटोफिचर)

पर्वमा माग्नकै लागि सीमापार

यज्ञ अधिकारी

रंगेली, १ माघ । भारत अररीया जिल्ला कटिहार घर भएका प्रेमचन्द्र पासवान रेल चढेर जोगवनी हुँदै विराटनगर आए । पुसको चिसो ठिहीमा उनीसँगै अरु १०–१२ जना पनि थिए ।

मंगलबार विराटनगर आएका उनीहरू बुधबार उज्यालो नुहँदै काली मन्दिरअगाडि सडकमा बसे । दिउँसो २ बजेसम्म बसेर दान संकलन गरेका प्रेमचन्द्रसहित सबै भारत फर्किए । प्रेमचन्द प्रत्येक शनिबार शनि मन्दिरमा माग्नका लागि रेल चढेर आउँछन् । तर बुधबार भने उनी बढी भक्तजन आउने भएकाले काली मन्दिरअगाडि बसे ।

अन्दाजी ५५ वर्ष उमेरका उनले मागेरै परिवार चलाउने गर्छन् । चार छोरीको बिहेपनि मागेरै गरेका उनले मंगलबार आउँदा भने एक छोरीलाई साथमै लिएर आएका थिए । ‘अररियाबाट ट्रेनमा जोगबनी अनि त्यहाँबाट बसमा विराटनगर आएको हुँ,’ पासवानले भने, ‘हामी दश–बाह्र जना साथीहरूसँगै आएका हौँ ।’ दान पाउने आशमा बिहारबाट विराटनगरसम्म आएको प्रेमचन्द्रले बताए ।

प्रेमचन्द प्रतिनिधि हुन् । भारतबाट हुल बाँधेर पर्वहरूमा विराटनगरका मन्दिरहरूमा माग्न आउनेको भीड लाग्छ । माघे संक्रान्तिको दिन बुधबार पनि मन्दिरहरूमा माग्नेको भीड लागेको थियो । माघे संक्रान्तिमा पूजा गर्न मन्दिर जाने परम्परा छ । पर्वमा मन्दिरको दर्शन गर्न आउने भक्तजनहरूले क्षमताअनुसारको दान पनि गर्छन् ।

काली मन्दिरमा माघे संक्रान्तिको दिन ६०–७० जनाको भीड लागेको थियो । अघिल्लै दिन रातिदेखि मन्दिरअगाडि माग्नेहरूको लाइन लागेर बसेको स्थानीय व्यापारी अजय दासले बताए । ‘पाँच सात जना नेपाली थिए बाँकी सबै भारतबाट आएका हुन्’, दासले भने, ‘नियमित आउने त थोरै हुन्छ चाड पर्वको समयमा भने ठूलै संख्यामा भारतीय आउँछन् ।’

माघे संक्रान्ति दिनमा मात्रै माग्नको लागि पनि भारतबाट आउने गरेको स्थानीय माग्नेहरू बताउँछन् । मोहमद अर्सद पनि आफ्नो परिवारसँग माग्नको लागि आएको बताउँछन् । मागेर गुजारा चाउने उनीहरू विराटनगरको भूमि प्रशासन चोकमा बस्ने गरेको उनले बताए ।

विराटनगर–२२ घर भएका आस मोहमद पेसाले कवाडी संकलन गरेर बेच्छन् । धेरैले दान गर्ने भएको विराटनगरको काली मन्दिरमा आइपुगेका थिए । ‘तपाईंहरूको पर्व हो नि, त्यही भएर माग्न आएको हुँ,’ उनले भने, ‘के गर्नु घरमा साना बालबच्चा छन् ।’ आफू नेपाली भएको बताउने उनले भारतबाट धेरै माग्न आउने गरेको उनले बताए ।

तस्बिर : सुरेन्द्र मल्ल

Loading...