‘साँङ्लो’ को गीतमा निकिता र विराज मस्ती मूडमा

विराटनगर, १ माघ । चर्चित अभिनेता विराज भट्टको अभिनय तथा डेब्यूनिर्देशन र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यू रहेको फिल्म ‘साँङ्लो’को दोस्रो गीतको तयारी हुँदैछ ।

पहिलो गीत ‘चरीले काफल’लाई दर्शकले निकै मनपराएपछि फिल्मको निर्माण टिम दोस्रो गीत पनि उत्कृष्ट बनाउनतर्फ लागिपरेको हो । डान्सिङ नम्बर रहेको गीतको छायांकन सकेको केही दिनमै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिँदै गीत छायांकनका केही तस्विरहरू सार्वजनिक गरेको छ ।

छायांकन सेटबाट बाहिरिएको तस्बिरमा विराज र निकिता मस्ती मुडमा देखिन सकिन्छ । निकितालाई बोल्ड अवतारमा देखाइएको छ । यो गीतबाट विराजले ठूलो अपेक्षा राखेका छन् । अन्जु पन्त र निशान भट्टराइको स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ भने गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् ।

फिल्ममा विराज र निकिताका साथ प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलागयत कलाकारहरूको अभिनय छ । किड्नी तस्करीको कथामा आधारित रहेको फिल्ममा विराज र निकिता प्रेमी, प्रेमिका हुँदै श्रीमान्–श्रीमति बनेको देखाइएको छ ।

मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बूले संगीत भरेका छन् । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...