ट्रेड युनियन गठन गर्दा २३ मजदूर निष्काशित, पुनर्वहाली गर्न माग गर्दै मजदूर श्रम कार्यालयमा

विराटनगर, १ माघ । श्रम ऐनको व्यवस्थाअनुसार सेवा सुविधा माग गर्दा विराटनगर–१४ मा रहेको गोल्डेन स्टार सोप इन्डष्ट्रिजले श्रमिकहरूलाई कामबाट निकालेको छ । ट्रेड युनियन गठन गरी सामूहिक माग पेस गरेका २३ मजदूरलाई उद्योगले कामबाट निकालेको हो ।

मजदूरले १६ मंसिरमा ट्रेड युनियन गठन गरी २ पुसमा नौं सुत्रीय माग व्यवस्थापनलाई पेस गरेका थिए । माग पेस गरेपछि भने व्यवस्थापनले २७ पुसमा २३ मजदूरलाई कामबाट निकालेको हो ।

कामबाट निकालिएका मजदूरहरूले पुनर्वहाली माग गर्दै श्रम कार्यालय विराटनगरमा निवेदन दिएका छन् । श्रम कार्यालयमा पुनर्वहालीको माग गर्दै पुगेका मजदूरहरुले व्यवस्थापन पक्षहरूबाट ज्यान मार्ने धम्की दिएका गुनासो गरेका छन् । उनीहरूले सुरक्षाको प्रत्याभूतिसहित काममा फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

पटक–पटक श्रम कार्यालयले पत्र पठाए पनि उद्योगले पुनर्वहाली नगरेको निकालिएका मजदूरमध्येका एक गौतमकुमार चौधरीले बताए । उनका अनुसार सुरुमा २३ मजदूर निकालिएको थियो । व्यवस्थापन पक्षले पुनः ५ मजदूरलाई निकालेको चौधरीले बताए ।

Loading...