visit-nepal

एभरेष्ट साइन्स सेन्टर सञ्चालकमाथि गुरुलाई ठगी गरेको आरोप

विराटनगर, १ माघ । सुनसरीको बर्जु गाउँपालिका– ५ मा एभरेष्ट साइन्स सेन्टर सञ्चालन गरिरहेका डा. दिलीपकुमार अधिकारीलाई ठगी आरोप लागेको छ । आफूलाई वैज्ञानिक बताउने अधिकारीमाथि आफ्नै गुरु शिवबहादुर कार्कीले ठगी गरेको आरोप लगाएको हुन् ।

२०६१ सालमा एक महिनाका लागि भन्दै कार्कीको घर धितो राखेर पैसा लगेका अधिकारीले अझै सो रकम फिर्ता गरेका छैनन् । अधिकारीले २०६१ कात्तिकमा कार्कीको सहमतिमा घर धितो राखेर २७ लाख १५ हजार रुपैयाँ बैंकबाट ऋण लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनाका लागि ऋण लिएका अधिकारीले सो रकम फिर्ता गरेका छैनन् ।

दिलीप अधिकारी

महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउँदा आफ्नो नजिकको विद्यार्थी भएका कारण अधिकारीलाई जग्गा धितो राखेर ऋण दिएपनि फिर्ता नगरेको कार्कीले बताए । एक महिनाभित्र फिर्ता गर्छु भनेर लगेको पैसा फिर्ता नगरेपछि तत्कालीन सिएसआइटी (हाल महालक्ष्मी विकास बैंक) ले विराटनगरमा रहेको ३१ धुर जग्गा र १६ कोठे घर लिलामीका लागि सूचना निकालेको थियो ।

घर जग्गा खरिद गर्ने नआएपछि बैंकले नै लिलामी निकालेको थियो । तर दोस्रो पटक २०७३ सालमा लिलामी निकालेपछि कार्कीले एक करोड तीन लाख तिरेर घर उकासेका थिए ।

आफ्ना भएका केही घडेरी बेच्दा र बैंक तथा साथीभाइबाट ऋण लिएर घर उकासेपनि १६ वर्षसम्म अधिकारीले सापटी फिर्ता नगर्दा आफू अन्यायमा परेको कार्कीले बताए । पछिल्लो समय ब्याजबाहेक ८६ लाख २ सय १० रुपैयाँ अधिकारीले फिर्ता गर्ने गरी कागज गरेका छन् । तर रकम फिर्ता गर्न पटकपटक आग्रह गर्दा अधिकारीले मान्छे लगाएर धम्की दिने गरेको शिवबहादुरका छोरा सुभाष कार्कीले बताए ।

आफ्ना पूर्वअध्यक्ष ठगिएपछि नेपाल पत्रकार महासंघ मोरङले अधिकारीसँग रकम फिर्ता गराउन पहल गरेको थियो । महासंघ र सामाजिक अगुवासहितको छलफलमा अधिकारीले रकम तिर्ने भन्दै ४४ लाख १० हजार दुई सय १० र ४१ लाख १० हजारको चेक हस्तान्तरण गरेका थिए । २०७६ असोज ३० र मंसिर ३० मा दिएको चेक साटिएको छैन ।

चेक बाउन्स भएपछि अधिकारीले पुस मसान्तसम्ममा रकम फिर्ता गर्ने आश्वासन दिएका थिए । तर अधिकारीले पैसा नदिइ मान्छे लगाएर धम्की दिइरहेको सुभाष कार्कीले बताए ।

यता, अधिकारी आफूले लिएको सापटी रकम फिर्ता गर्ने बताए । कार्कीलाई तिर्नुपर्ने रकमको प्रमाणका लागि चेक दिएको बताउँदै उनले विस्तारै रकम तिर्ने बताए ।

Loading...