visit-nepal

पत्रकार न्यौपाने र साहित्यकार श्रेष्ठ सम्मानित

विराटनगर, २९ पुस । शिरोमणि पुस्तकालयले साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्तीको अवसरमा पुस्तकालयले ‘कवि शिरोमणि साहित्य सम्मान’ डा. विमला श्रेष्ठ र शिरोमणि पत्रकारिता सम्मान अनन्तराज न्यौपानेलाई प्रदान गरेको हो ।

श्रेष्ठ र न्यौपानेलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र अध्यक्ष बालकृष्ण निरौलाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

श्रेष्ठ चार दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छिन् । उनका विभिन्न चारवटा कृति प्रकाशित छन् ।
न्यौपाने दुई दशकयता पत्रकारितामा सक्रिय छन् । गत वर्ष पुस्तकालयले पत्रकारिता सम्मान मीनकुमार नवोदित र साहित्य सम्मान मञ्जुश्री गिरीलाई प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पराजुलीले भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा महानगरपालिकाले काम गरिरहेको बताए ।

उनले शिरोमणि पुस्तकालयलाई १ कठ्ठा जग्गा उपलब्ध गराइसकेको चर्चा गर्दै भवन निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कवि भरत गुरागाईं, मीनकुमार नवोदित, बाबुराम पोखरेल, ममता श्रेष्ठ, कविता केसरी, ओम आचार्य, सरिता लुधाधर, प्रिन्स प्रमोद ढकाल, रोहिणी रसिक, मीना श्रेष्ठलगायत डेढ दर्जन स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

Loading...