visit-nepal

यस्ता छन् डकार र पाद आउनुका कारण

विराटनगर, २९ पुस । अधिकांश मानिसहरूलाई पेटमा ग्यास भरिने समस्या र अफ्ठ्यारो पर्ने गरी ग्यासबाहिर निस्किने समस्याले सताइरहेको छ । मानिसको पेट तथा आन्द्रामा थोरै तथा धेरै मात्रामा ग्यास हुन्छ । उक्त ग्यासले बिरामीलाई पेट फुल्लिएको, दुखेको जस्तो अनुभव गराएर धेरै डकार तथा पाद पनि आउन सक्छ ।

पेटमा ग्यास भरिएर असजिलो महसुस हुन्छ र डकार वा पाद आइसकेपछि केही आराम भएको जस्तो अनुभव हुने गर्छ । दिनभरिमा बीस पटकसम्म डकार तथा पादबाट ग्यास जानुलाई नर्मल मानिन्छ तर, धेरै मात्रामा पाद जाने बिरामीले दिनभरिमा कति पटक ग्यास जान्छ र कस्ता खानेकुरा खाँदा धेरै ग्यास जान्छ भनेर ख्याल राख्नु आवश्यक हुन्छ । डकार तथा पाद आउनुलाई सामान्य प्रक्रिया मानिन्छ ।

पेटमा निलेको हावाको मात्रा धेरै हुँदा डकार आउने गर्छ । निलेको हावा डकारेर बाहिर फालिन्छ वा डकार बनेर निस्किन नसक्दा फेरि सानो आन्द्रा अनि ठूलो आन्द्राको बाटो हुँदै पाद बनेर बाहिर निस्किन्छ । दिसा गर्ने बाटोबाट निस्किँने ग्यासको कारण निलेको ग्यास वा खाएको खाना नपच्दा ग्यास उत्पन्न हुने गर्छ ।

खाना निल्ने बेलामा, बोलेको समयमा, चुइगम चपाउँदा केही मात्रामा हावा पनि सँगै निलिन्छ । कार्बोनेटेड चिसो पेय पदार्थ, सोडा र बियरको सेवन गर्नेहरू बढी मात्रामा ग्यास बनाउछन् । मानसिक रोग एन्जाइटीले ग्रसित बिरामीहरू पनि बढी मात्रा मा हावा निल्ने गर्छन् । त्यस्तै, केही खाने कुराहरू सानो आन्द्राले पचाउन सक्दैन र ठूलो आन्द्रासम्म पुग्ने हुँदा त्यहाँ भएका किटाणुहरूले खानेकुरा पचाउन कोसिस गर्दा हाइड्रोजन र कार्बोनडाइअक्साइड ग्यास उत्पन्न हुन्छ ।

ग्यास बन्नुको आर्को कारण सानो आन्द्रामा किटाणुहरूको संक्रमणले गर्दा हुन्छ । दिसा साह्रो हुने र टाइममा दिसा नहुनेलाई पनि ग्यासको समस्या हुन सक्छ । यस्ता खानेकुराको सेवन गर्ने व्यक्ति, इरिटेबल बावेल सिन्ड्रोम भएका बिरामी तथा पेटको अप्रेसन गरेका बिरामीलाई ग्यास बन्ने जोखिम हुन्छ ।

अत्यधिक ग्यास हुने मानिसहरूले चिसो पेय पदार्थ, सोडा, बियर, फूलगोबी, पत्तागोबी, चोकर, गेडागुडी, ब्रोकाउली, दूध र दूधबाट बनेका परिकार तथा चुइगम गम र क्यान्डी मिठाईको सेवन गर्नु हुँदैन । यी सबै खानेकुरा बार्दा पनि ग्यासको समस्या निको नभएको खण्डमा डाक्टरको परामर्श लिनु आवश्यक हुन्छ ।

Loading...