बार्सिलोनाका नयाँ प्रशिक्षकले गरे मेस्सीको तारिफ

एजेन्सी, २९ पुस । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक क्वेक सेटिनले अर्जेन्टिनी स्टार लियोनल मेस्सीको प्रसंशा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा सेटिनले मेस्सी पेलेको स्तरका खेलाडी भएको बताएका हुन् ।

रियल बेटिसका पूर्वप्रशिक्षक सेटिन अर्नेस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोना आएका हुन् । बार्सिलोनाले सेटिनसँग साढे २ वर्षको सम्झौता गरेको हो । हालै मात्र बार्सामा प्रशिक्षकको रूपमा नियु्क्त भएपछि सेटिनले आफ्ना कप्तान मेस्सी ब्रालिलियन लिजेन्ड पेलेको स्तरको खेलाडी भएको बताए ।

‘मैले मेस्सीमा केही महान् खेलाडीहरूमा हुने गुण देखेको छु’, उनले भने, ‘यस्तैमध्येका एक मेस्सी हुन् । लामो समयदेखि उनी व्यवसायिक देखिन्छन् । १२ वा १४ वर्षअघिदेखि उनी प्रोफेशनल छन् । सायद पेले मा उनको समयमा यस्ता थिए, तर, उनकै स्तरमा १२ वर्षयता मेस्सी छन् ।’

‘मेस्सी हरेक खेलमा पेलेको जस्तो गुण देखाउँछन्’, उनले भने, ‘मलाई थाहा छैन कि मेस्सीले कति धेरै ह्याट्रिक गरिसकेका छन् । तर, अहिले उनी उत्कृष्ट छन् । उनलाई पछिल्ला १२ या १४ वर्षयता प्रत्येक आइतबार देख्दै आएको छु । उनी एकदमै अब्बल छन् ।’

Loading...