बंगबन्धु गोल्डकप खेलाउन फिफा रेफ्री पाण्डेसहित तीन सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं, २९ पुस । बंगलादेशमा हुने प्रतिष्ठित बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता खेलाउन फिफा रेफ्री सुदेशकुमार पाण्डेसहित तीन सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेश फुटबल संघको निमन्त्रणामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष महेश विष्ट, फिफा सहायक रेफ्री रोजेन श्रेष्ठसहितको नेपाली टोली बंगलादेश जान लागेको रेफ्री पाण्डेले बताए । बंगलादेश फुटबल फेड्रेशनको आयोजनामा यहि १५ देखि २५ जनवरीसम्म आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित कुल ६ टोलीको सहभागिता रहनेछ ।

समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन प्यालेस्टाइन, आयोजक बंगलादेश र श्रीलंका रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बुरुन्डी, मौरिसस र सिचेल्स रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सबै खेलहरू ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछन् ।

अन्य देशका फुटबल संघले पनि निमन्त्रणा गरेर बोलाउनु सुखद भएको उल्लेख गर्दै सुदिशले भने, ‘हामीले देशको प्रतिनिधित्त्व गर्ने हो । हामीले राम्रो गर्न सक्दा भविष्यमा अरुले पनि मौका पाउन सक्छन् । यसअघिको प्रदर्शनको आधारमा हामीलाई बोलाइएको हो । देशको प्रतिनिधिका रुपमा यस्तो मौकाले पाउँदा गर्व महसुस हुन्छ ।’

कात्र्तिकमा बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनल सुदिशले खेलाएका थिए भने रोजेनले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । सन् २०११ मा फिफा रेफ्री बनेका सुदेश यो अवस्थामा आइपुग्नका लागि अनुशासन, मेहनत र प्रदर्शन नै मुख्य रहेको बताउँछन् ।

१७ वर्षदेखि निरन्तर रेफ्रीको भूमिका निर्वाह गर्दै आएका सुदेशले २००७–२००९ एफसी प्रोजेक्ट कोर्षमा सहभागी हुँदै अन्तर्राष्ट्रिय रेफ्री करियरको यात्रा सुरु गरेका थिए । उनले अहिलेसम्म एसियन गेम्सको छनोट, एएफसी च्याम्पियन्स लिग, एएफसी कप, साफ च्याम्पियनसिप (२०१३, २०१५), एसइए गेम्स, अन्तर्राष्ट्रिय मैत्रीपूर्णका विभिन्न खेल सञ्चालन गरिसकेका छन् ।

यसै महिना सुदेशको फिफा रेफ्री र रोजेनको फिफा सहयाक रेफ्रीको नविकरण भएको थियो ।

Loading...