Rumpum

Rumpum Advertisement

नाट्य क्षेत्रमा सफलता होइन सन्तुष्टि खोज्नुपर्छ : कट्वाल दीपक

नाट्य क्षेत्रमा सफलता होइन सन्तुष्टि खोज्नुपर्छ : कट्वाल दीपक

मोफसलमा बसेर नाट्यक्षेत्रमा लाग्नु सहज छैन । विराटनगरको नाट्यक्षेत्रलाई हेर्ने हो भने बेलाबेलामा नाटक मञ्चन दर्शक अभावका कारण नाटकले खर्च उठाउनसमेत धौ–धौ परेको देख्न सकिन्छ । विभिन्न समयमा विराटनगरकै वा बाहिरका टिमहरूले नाटक मञ्चन गरे तापनि सबै नाटकमा घाटा खानुपर्ने बाध्यता छ ।

विराटनरमा टिकट काटेर नाटक हेर्नुपर्छ भन्ने संस्कारको विकास अझै भइसकेको छैन । विराटनगरमा नाट्य क्षेत्रले दर्शक अभावका कारण दुःख झेलिरहेको अवस्थामा नाट्यक्षेत्रमा प्रवेश गरेका एक युवा हुन्, कट्वाल दीपक (२४) । कोशी अनलाइनले उनीसँग गरेको भलाकुसारी यहाँ प्रस्तुत छ…..

deepak

विराटनगरको पहिलेको नाट्यक्षेत्र र अहिलेको नाट्यक्षेत्रमा के फरक पाउनु भएको छ ?

विराटनगरमा पहिले पनि टिकट काटेर नाटक हेर्ने नियमित दर्शक थिएनन् । हुनतः अझै पनि नाटकै हेर्ने रेगुलर दर्शकको अभाव छ । तर, पछिल्लो समय विद्यालयले आफ्ना विद्यार्थीहरूलाई नाटक देखाउनु पर्छ भन्ने संस्कारको चाहिँ विकास हुँदैगएको छ । यसले पनि हामी नाट्यकर्मीलाई खुशी बनाएको छ ।

‘छिँडीभरिको आकाश’ नाटक हेरेका दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

मलाई लाग्छ, ‘छिँडीभरिको आकाश’ नाटक हेर्न जान जति दर्शक आउनुभयो, अहिलेसम्म नेपालमा त्यति धेरै दर्शक सायदै कम नाटकहरूले पाउने गरेका छन् । दर्शक आउनु भनेकै नाटक राम्रो हुनु र मन पराउनु हो जस्तो मलाई लाग्छ । जति दर्शकले मेरो निर्देशन र रुपान्तरणमा रहेको नाटक हेर्नुभयो, सबै दर्शकबाट मैले राम्रो प्रतिक्रिया पाएको छु ।

तपाईं त कलम चलाउने मान्छे, छिँडीभरिको आकाशमार्फत् पहिलोपल्ट निर्देशनमा आउनुभयो । लेखन र निर्देशनमध्ये कुनचाहिँ काम जटिल जस्तो लाग्यो ?

तपाईंले सोध्नुभएको प्रश्नचाहिँ अलि जटिल नै छ । लेख्नु र निर्देशन गर्नु दुवै कठिन नै छन् । अब लेख्ने काम जटिल भनौं भने निर्देशन गर्ने काम सहज छैन । त्यसैले यी दुवै काम जटिल हुन् तर, मेरो विचारमा जटिल काम गर्न सक्नु नै सफलता हो ।

नाट्यक्षेत्रमा लागेर कत्तिको सफल भएको मान्नुहुन्छ आफूलाई ?

सफलताका आ–आफ्नै प्रकार हुन्छन् । नाटक क्षेत्रमा सफलता होइन सन्तुष्टि खोज्नुपर्छ । भन्न खोजेको कसैका लागि कार किन्नु सफलता हुन सक्ला तर नाट्यक्षेत्रका अन्तिम बिन्दु नभएका कारण सफलता मापन गर्ने श्रेणी हुँदैन ।

विराट आदर्श साहित्य मञ्चको अध्यक्ष हुनुहुन्छ । अब आगामी योजनाहरू के–के छन् ?

मञ्चकै ब्यानरमा आगामी माग २५ गतेबाट ‘बहुलाकाजीको सपना’ नामक नाटकको तयारीमा जुटेका छौं । यसका साथै ‘मुनामदन’ नाटकलाई पुनः पोखरामा मञ्चन गर्नेछौं । त्यसपछि सोही ‘मुनामदन’ नै बंगलादेशमा मञ्चन गर्ने तयारीमा लागेका छौं । त्यसबाहेक ‘स्रष्टा र सिर्जना’ नामक कार्यक्रमको अर्को श्रृंखला र विद्यार्थीसँग साहित्य यात्रा कार्यक्रम आयोजना गर्दैछौं । र, विराट आदर्श साहित्य मञ्चलाई पूर्वमा मात्र नभएर देशैभरि चिनाउने योजना छ । साहित्य, कला र गलामा रुचि भएका सम्पूर्ण व्यक्तिहरूलाई समेटेर एउटा सिंगो टिम बनाउने योजना छ ।

तपाईंलाई दर्शकले कलाकारको रूपमा हेर्न कहिलेदेखि पाउलान् ?

अहिले नै भन्न सक्दिँन म । लेखन र निर्देशनमा तयार हुन नै चार वर्ष लाग्यो । म कलाकारितामा अझै तयार भएको छैन । जब मैले कलाकारिता क्षेत्रमा दर्शकको मन जित्न सक्छु जस्तो लाग्छ त्यो दिनबाट म पर्दा अगाडि आउन चाहन्छु । त्यसका लागि मलाई २–४ वर्ष लाग्न सक्छ ।

तपाईंको नाटकमा दर्शकभन्दा पनि बढी विद्यार्थी नै देखिएका थिए । किन ?

विराटनगरमा नाटकका दर्शक छैनन् । विद्यालय र कलेजहरूबाट विद्यार्थी ल्याउनुपर्ने अवस्था छ । हामीले खोजेका दर्शकचाहिँ आम नागरिक हुन् । जो नाटक भइरहँदा टिकट काटेर नाटक हेर्नुपर्छ भन्ने मनसाय लिएर नाटकघरसम्म आऊन् । तर, हामीले अहिले विद्यार्थीहरूलाई नाटक देखाउनु भनेको पछिका दर्शकहरू बढाउनु हो ।

१८ वर्षको उमेर उपन्यास नैना लेखेर चर्चा कमाउनु भयो, तर त्यसपश्चात तपाईंका कुनै पुस्तक आएनन् ? किन ? लेखन क्षेत्रलाई बिट मार्न खोज्नु भएको त होइन ?

लेखन क्षेत्र भनेको अनुसन्धानात्मक हुँदोरहेछ । लेखन क्षेत्रलाई बिट मारेकोभन्दा पनि अहिले म दुई वटा पुस्तकको लेखनमा व्यस्त छु । एउटा कथासंग्रह ‘च्यातिएको मोजा’ र अर्कोचाहिँ कवितासंग्रह ‘गाउँको सिंहदरवार’ । यी दुईमध्ये वैशाखसम्ममा एउटा प्रकाशन गर्ने योजना छ ।

पढाइ, लेखाइ र नाटक निर्देशन । कसरी समय मिलाउनु हुन्छ ?

समस्या त हरेक क्षेत्रमा हुन्छ । सबै कुरा एकै समयमा गरिन्छ भन्ने पनि छैन । कलेज टाइमभन्दा बाहिर रहेर नाटक र लेखन क्षेत्रमा समय दिने गरेको छु । कामको शिलशिलामा पढाइ छोड्नुपर्ने दिनहरू पनि आएका छन् । काम गर्दै जाँदा जे अगाडि आउँछ त्यहीँ गर्नुपर्दोरहेछ । फुर्सदको बेलामा पढाइलाई अलि बढी प्राथमिकता दिने गरेको छु ।

हाल तपाईं पत्रकारिताको पनि विद्यार्थी हुनुहुन्छ ? लेखन र नाट्य क्षेत्रमा हिँडिरहँदा किन यो विषय रोज्नुभयो ?

पहिलेदेखि नै पत्रकारहरूसँग संगत भयो,जसले पत्रकारितामा रुचि बढायो । पत्रकारिता, नाट्य क्षेत्र र लेखन क्षेत्र, लेखन क्षेत्रकै एउटा पाटो भएकाले एउटा पत्रकारिताको विद्यार्थीले अनुसन्धान गरेर खोजेको कुराहरूलाई नै कथा बनाउन पनि सकिन्छ, नाटक बनाउन पनि सकिन्छ । यी सबै विधा एकै प्रकारका भएका हुनाले यी सबै क्षेत्रमा म सक्रिय छु ।

नाटक लिएर काठमाडौं, पोखरालगायत ठूला शहरहरूमा पनि पुग्नु भयो, त्यहाँका दर्शक र यहाँका दर्शकमा के फरक पाउनुभयो ?

काठमाडौं र पोखरामा चाहिँ नाटकरू भइरन्छन् । र, नेपाली नाट्यक्षेत्रका हस्तीहरू उतै बस्ने गरेका छन् । र, दर्शकहरूले पनि राम्रा राम्रा नाकट हेर्न पाइरहेका छन् । जुन विराटनगरमा चाहिँ स्कुल र कलेजहरूको सहकार्यमा वर्षमा दुई पटक मात्र नाटक गर्न सकिन्छ । काठमाडौं र पोखरामा नाटक भइरहने हुनाले टिकट काटेर हलसम्म जानुपर्छ भन्ने ट्रेन्ड छ तर विराटनगरमा त्यस्तो पाइँदैन ।

पछिल्लो समय दर्शकहरूले कस्तो प्रकारको नाटकको अपेक्षा गरेको जस्तो लाग्छ ?

नाटकका लेखकहरू पछिल्लो समय नेपालबाट हराउँदै गइरहेका छन् । पुराना कृतिहरूलाई नाट्यरुपान्तरण गरी मञ्चन गर्ने गरिएको छ । अहिलेसम्म दर्शकले रुचाएका नाटकहरूमा नेपालको संस्कृति र समाजमा विद्यमान समस्याहरूको चित्रण गरेर प्रस्तुत गरिएका नाटकहरू बढी दर्शकले हेर्ने गरेका छन् ।

कोबाट प्रेरित भएर नाट्यक्षेत्रमा लाग्नुभयो ?

पहिले पहिले रेडियो सुन्ने चलन थियो । मचाहिँ रेडियो नाटकहरू धेरै सुन्ने गर्थेँ । त्यसको अलावा पुस्तकहरूमा भएका नाटकहरू पढेर गाउँमै स्टेज बनाएर नाटक गर्थेँ । पछि नाटक थाहा पाइसकेपछि विराटनगरदेखि काठमाडौंका नाटकघरसम्म हेर्नलाई पुगेँ । र, नाटक यसरी गर्नुपर्दोरहेछ भन्ने भावनाको विकास भएर नाट्यक्षेत्रमा लागेको हुँ ।

तपाईंलाई आफूले गरेका नाटकमध्ये कुन नाटकचाहिँ उत्कृष्ट लाग्छ ?

हालसम्म मैले पाँच वटा नाटक गरिसकेको छु । आफूले लेखेका सबै नाटकहरू उत्कृष्ट नै लाग्छ एउटा लेखकलाई । त्यसमध्ये पनि एउटा मात्र रोज्नुपर्दा ‘मुनामदन’लाई रोज्नुपर्छ ।

नाटक क्षेत्रकै लागि सरकारबाट कस्तो प्रकारको सहयोगको अपेक्षा गर्नुहुन्छ ?

विराट आदर्श साहित्य मञ्चको आफ्नै नाटकघर छैन । हामीले भाडा तिरेर नाटकहरू मञ्चन गर्नेगरेका छौं । सरकारले हरेक शहरमा एउटा नाटकघर स्थापना गरी कला र रंगमञ्च क्षेत्रमा लागिरहेका नाट्य संस्थाहरूलाई निःशुल्क नाटक मञ्चन गर्न पाउने वातावरण बनाइदिनुपर्छ । जसले गर्दा नाट्यक्षेत्रलाई गाह्रो नहोस् । र, कलाकारहरूलाई पनि मनोवल बढाउने काम गरोस् ।

प्रस्तुति : माधव काफ्ले