visit-nepal

विराटनगरका ११ हजार ल्याण्डलाइन फोनको घण्टी अझै बज्दैन

दिक्क भएर उपभोक्ताहरूले धमाधम आफ्नो टेलिफोनको लाइन कटाउन थाले

यज्ञ अधिकारी
रंगेली, २८ पुस । नेपाल टेलिकम विराटनगर शाखामा दुई वर्षदेखि पटकपटक ‘कम्प्लेन’ गर्दा घरमा टेलिफोनको घण्टी नबजेपछि तीनटोलिया निवासी यशोदा कार्की सधैँको लागि टेलिफाेन ‘लाइन’ काट्ने मनस्थितिमा पुगेकी छन् ।

फोनमा अभ्यस्त उनी मोबाइल प्रयोग गर्न रुचाउँदिनन् । तर, पटकपटक ताकेता गर्दा पनि दिक्क भएर ल्याण्डलाइन फोनको लाइन कटाउने उपभोक्ताहरूमध्ये यशोदा प्रतिनिधि मात्र हुन् ।

उनी जस्तै अन्य धेरैले तीन वर्षदेखि जडान गरेको टेलिफोन उपभोग गर्न पाएका छैनन् । पटक–पटक फोनको घण्टी बजाउन माग गर्दैै निवेदन दिन टेलिकमको विराटनगर शाखामा पुग्नेहरू दजनौँ हुन्छन् । तर जति पटक ताकेता गरेपनि टेलिफोनमा घण्टी भने बज्ने गरेको छैन ।

विराटनगर महानगरमा पाँच वर्षदेखि भइरहेको ढलनाला तथा सडक स्तरोन्नत्ति कार्यले बिग्रिएका ११ हजार ल्याण्डलाइन टेलिफोन नेपाल टेलिकमले अझै सञ्चालनमा ल्याउन सकेको छैन ।

विराटनगर महानगरमा एसियाली विकास बैँकको मझौला शहर स्तरोन्नत्ति आयोजना र नेपाल सरकारको शहरी विकास परियोजना कार्यान्वयनमा आएपछि पाँच वर्षदेखि विराटनगवरमा ल्याण्डलाइन टेलिफोनका उपभोक्ता मारमा छन् । परियोजनाअन्र्तगत महागरका सडक र ढलनाला स्तरोन्नति गर्नका लागि भत्काइएपछि नेपाल टेलिकमको ल्याण्डलाइन फोनसेवा पनि अवरुद्ध भएको छ । तर महानगरका सडक बनेर सञ्चालनमा आइसकेपनि टेलिफोन भने अझै सञ्चालनमा आउन सकेको छैन ।

विनाजानकारी वर्षौंसम्म फोन सेवा अवरुद्ध हुँदा धेरैले पाउनुसम्म सास्ती पाएको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल बताउँछन् । उनका अनुसार टेलिफोन सेवा बन्द हुँदा धेरैलाई कार्यालय सञ्चालन गर्न दिक्दारी मात्र भइरहेको छैन कारोबारमा बाधा पनि पुगिरहेको छ ।

विराटनगरको सडक विस्तार आयोजना सुरु भएसँगै डायलटोन बन्द हुने घरहरूको संख्या बढेर गएको छ । नेपाल टेलिकम विराटनगर शाखाका अनुसार विराटनगरमा सञ्चालनमा रहेका २१ हजार टेलिफोन लाइनमध्ये ११ हजार लाइन अझै बन्द अवस्थामा छन् । सडक विस्तारको क्रममा अण्डरग्राउण्ड तारमा असर परेको कारणले लाइन कटेको टेलिकम विराटनगरका प्राविधिकहरूले बताउने गरेका छन् ।

विराटनगर महानगरको रोडशेष चौक, रानी एरिया, बजारक्षेत्र, तीनपैनी चौक, टंकीसिनवारी, देवकोटा चौक, तीनटोलीया र कोचाखालमा एक्सचेन्ज पोइन्ट राखेर टेलिफोन वितरण गरिएको टेलिकम विराटनगर शाखाले जनाएको छ । तर अन्य स्थानमा भने अझै टेलिफोन सुचारु हुन सकेको छैन ।

जमिनमुनि बिछ्याएको तार सडक विस्तारको क्रममा ढल राख्ने क्रेनले खन्ने क्रममा तारमा क्षति पुग्ने भएकोले समस्या उत्पन्न भएको टेलिकम कार्यालय विराटनगरका प्रमुख घनश्याम महासेठले बताए । ‘विराटनगरमा रोड र ढलको काम सुरु भएपछि टेलिफोनको तारमा क्षति पुगेको कारणले बन्द हुन सुरु भएको हो,’ उनले भने, ‘अन्डरग्राउण्ड र ओभरहेड दुवै तारमा क्षति पुग्ने भएकोले घर–घरमा विस्तार गरिएको टेलिफोन बन्द हुन पुगेको हो ।’

सडकको काम राति पनि हुने र खन्ने तथा पुर्ने काम हुने गरेकोले कुन ठाउँमा समस्या भएको हो त्यो पत्ता लगाउन मुस्किल हुँदा फोन मर्मतमा कठिनाइ भएको प्रमुख महासेठ बताउँछन् । ‘कपरको तारमा कहाँनिर समस्या भएको छ भनेर पत्ता लगाउन एकदैम मुस्किल हुन्छ’, उनले भने ।

प्रमुख महासेठका अनुसार मर्मतको काम खर्चिलो र झन्झटिलो भएकोले कार्यालबाटै समस्या थाहा पाउन सकिने अप्टिकल फाइबर बिछ्याउने काम थालिएको छ । सञ्चार आदानप्रदानमा मोबाइल फोनको प्रयोग बढदो भएपनि ल्याण्डलाइन टेलिफोनको उपयोगिता घटेको छैन ।

डायल गरेर कुराकानी गर्न सजिलो हुने भएकोले धेरैले अझै ल्याण्डलाइन फोन नै रुचाउने गरेका छन् । यसैले टेलिकमले चाँडोभन्दा चाँडो बन्द भएका ल्याण्डफाइन फोन सञ्चालनमा ल्याउनुपर्ने उपभोक्ता तेज काफले बताउँछन् ।

टेलिकमको टाउको दुखाइ तार चोरी

सडक विस्तारले ग्राहकको थामिनसक्नु गुनासो आइरहेको बेलामा दैनिकजसो हुने तार चोरी टेलिकम विराटनगरको अर्को टाउको दुखाइको कारण बनेको छ । विराटनगरका कुनै न कुनै स्थानमा दैनिक तार चोरीको समस्या भइरहेको टेलिकमले जनाएको छ । ‘चोरी भएको ठाँउमा दिउँसो तार टाँगेर आयो, भोलिपल्ट फेरि त्यहि ठाँउको तार चोरी भइसकेको हुन्छ,’ कार्यालय प्रमुख महासेठले भने ।

खासगरि दुई पोलबीचको ५० देखि ७५ मिटरसम्मका १ सय ५० ‘पियर’का तार चोरी हुने गरेका छन् । एक लठ्ठा तारमा १ सय ५० लाइन टेलिफोन सञ्चालन हुने गर्दछ । विराटनगरमा विद्युत प्राधिकरणले पनि विजुलीको पोल सार्ने काम गरिरहेको छ । तार सार्दासँगै रहेको टेलिफोनको तार भुइँमा झर्ने हुँदा चोरहरूलाई झन् सजिलो भएको छ ।

विकल्प अप्टिकल फाइबर

तार चोरीको समस्या समाधान गन विराटनगरमा टेलिकमले धमाधम अप्टिकल फाइबर जडान गर्न थालेको छ । पछिल्लो समयको प्रविधिको माग र विभिन्न समस्याको सहज समाधानको लागि अप्टिकल फाइबर केवल नै उपयुक्त भएको कार्यालय प्रमुख महासेठ बताउँछन् ।

कुन ठाँउमा समस्या भएको हो कार्यालयबाट समस्या थाहा हुने भएकोले अप्टिकल फाइबरको जडानपछि काममा चुस्तता आउने उनले बताए । पहिलो चरणमा विराटनगरको बजारक्षेत्रको एक्स्चेन्ज पोइन्टका सबै टेलिफोन लाइन अप्टिकल केवलबाट जडान हुने भएका हुन् । क्रमशः सबैलाई अप्टिकल फाइबरमा लैजाने टेलिकमको योजना छ ।

फाइबर केवलबाट एकै पटक भ्वाइस, डाटा र भिडियो आदान–प्रदानको काम हुन सक्छ । विराटनगरबाहेक एक नम्बर प्रदेशको इटहरी, बिर्तामोड, दमक, धरान र इनरुवामा पनि अप्टिकल फाइबर जडान धमाधम भइरहेको छ ।

Loading...