सीसी क्यामेरा : अपराध अनुसन्धानमा प्रभावकारी, नाकामा खटिएका प्रहरी पनि कारबाहीमा

विराटनगर, २८ पुस । गत भदौंमा भारतीय सीमावर्तीक्षेत्र रानीमा कार्यरत तीन प्रहरी जवान विभागीय कारवाहीका लागि जिल्ला तानिए । ड्युटीमा रहेका बेला सर्वसाधारणबाट आचरणविपरीत कार्य गरेको सीसी क्यामेराबाट देखिएपछि उनीहरू कारवाहीमा परे ।

भदौ पहिलो साता विराटनगरमा भएको श्रृंखलाबद्ध चोरीमा संलग्न तीन भारतीयसहित सात जना १२ भदौमा पक्राउ परे । भारतबाट स्करपीयो भाडामा लिएर चोरीका लागि विराटनगर छिरेकाहरू सडकमा जडान भएका सीसी क्यामेराकै आधारमा पक्राउ परे ।

विराटनगरमा भएका मोटरसाइकल चोरी र राजमार्गमा भएका १३ वटा सवारी दुर्घटनामा संलग्न व्यक्ति र सवारी पनि सीसी क्यामेराकै रेकर्डका आधारमा पक्राउ परे ।

माथि उल्लेखित घटना प्रतिनिधl हुन् । राजमार्ग र बजार क्षेत्रमा जडान गरिएको सीसी क्यामेरा नेपाल प्रहरीका लागि अपराध अनुसन्धानको दरिलो माध्ययम बनेको छ । बजार र राजमार्गमा जडान भएका एक सय ५५ सीसी क्यामेरा अनुसन्धानका लागि दरिलो प्रमाण बनेको हो ।

भदौयता पूर्व–पश्चिम राजमार्ग र विराटनगर–इटहरी सडक खण्डमा भएका १३ वटा सवारी दुर्घटना र पाँच चोरीका घटनामा संलग्नहरूलाई सीसी क्यामेराको रेकर्डका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी बताउँछन् । उनका अनुसार ड्युटीमा खटिएका प्रहरीको निगरानी सीसी क्यामेराबाट पनि हुन्छ ।

राजमार्ग, विराटनगर बजारक्षेत्र र प्रहरी कार्यालयहरूमा १ सय ५५ सीसी क्यामेरा जडान गरिएको अधिकारीले बताए । राजमार्ग निगरानीका लागि भने गत भदौमा ५८ क्यामेरा जडान गरिएको हो ।

राजमार्गमा हुने ‘हिट एण्ड रन’ प्रकृतिका दुर्घटनामा संलग्नहरूको पहिचान गरी कारवाहीको दाहेरामा ल्याउन प्रभावकारी बनेको अधिकारी बताउँछन् । राजमार्गमा हुने दुर्घटना अनुसन्धानका लागि क्यामेराको प्रयोग प्रभावकारी भएको उनले बताए ।

१ नम्बर प्रदेश सरकारको एक करोड १४ लाख बजेटमा गत भदौमा राजमार्गमा क्यामेरा जडान भएको थियो । सीसी क्यामेराका लागि राजमार्गको मोरङ खण्डमा ६० किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइएको छ । प्रहरीले विराटनगर महानगरपालिको सीमावर्ती क्षेत्र रानीदेखि ढाटसम्म ३२ वटा, पूर्व–पश्चिम राजमार्गको इटहरीपूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान गरेको छ ।

सीसी क्यामेरा जडान गर्दा ६० किलोमिटर क्षेत्रमा ‘६ कोर’ का आधुनिक फाइबर बिछ्याइएको छ । तीमध्ये सीसी क्यामेराका लागि ‘२ कोर’ प्रयोग भएको छ । बाँकी चार कोरमा ‘फेस डिटेक्सन क्यामेरा’, राडर गन र ट्राफिक लाइट जडान गर्न सक्ने सुविधा पनि छ ।

राजमार्गमा जडान भएका क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीबाट हुँदै अधिकारीले बताए । अधिकारीका अनुसार विराटनगर महानगरपालिकाभित्रका सडकमा मात्र ५० वटा क्यामेरा प्रयोगमा छन् ।

Loading...