पत्रपत्रिकामा देश : छाउगोठ बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर

विराटनगर २८ पुस । कर्णाली र सुदुरपश्चिम प्रदेशमा सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेपनि महिनावारी भएका महिलाले घरभित्र भने बस्न पाएका छैनन् ।

त्यही भत्किएकै छाउगोठमा उनीहरुले बस्नु पर्ने बाध्यता छ । जनप्रतिनिधि र प्रहरी पुग्दा छाउगोठ छाडेर भागेका महिला राति त्यही भत्किएकै गोठमा बस्ने गर्छन् । यो समाचार नयाँ पत्रिका दैनिकले मुख्य खबरमा स्थलगत रिर्पाेट छापेको छ ।

स्थानीयको मनमा रहेको छाउ गोठ भत्काउन जनचेतना अभियान आवश्यक रहेको समाचारमा उल्लेख छ ।

आसमको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले भत्काइएका छाउगोठ फेरी बन्न थालेको बताए । प्रहरीले अभियानमा कर्णाली र सुदूरपश्चिमका ९ जिल्लामा २६ सय १० छाउगोठ भत्काएको छ ।

संसद बन्यो गुटबन्दीको बन्धक

संसद बन्यो गुटबन्दीको बन्धक शिर्षकमा कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ । समाचारमा पटक पटक स्थगतले कानून निर्माणमा अवरोध, संसदीय समितिका कामहरु प्रभावित भइरहेका छन् ।

संसदलाई सत्तारुढ दलभित्रको विवादको लाचार छाया बनाउन खोज्नु लज्जास्पद रहेको कांग्रेसको प्रतिकृया रहेको छ ।

आवरणमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएको कारण देखाइएपनि अन्तर्यमा दुई अध्यक्षबीच शक्तिसंघर्षले गर्दा सभामुख चयनमा ढिलाई भइरहेको छ ।

सभामुख नभए संवैधानिक परिषदमा आफ्नो उपस्थिति शुन्य हुने र राजनीतिक नियुक्तिमा पूर्व एमालेको एकलौटी हुने पूर्वमाओवादीको बुझाइ छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई सहयोग पुग्ने गरी सभामुख बनाउन चाहान्छन् भने अर्का अध्यक्ष प्रचण्ड पूर्वमाओवादीको भागमा परेको सभामुख पद फेरी पनि पूर्वमाओवादीले नै पाउनु पर्ने अडानमा छन् ।

चालु बजेटको अर्धवार्षिक खर्चबारे नागरिक दैनिकले बलियो सरकारको कमजोर खर्च शिर्षकमा मुख्य समाचार छापेको छ ।

यो आर्थिक वर्षको मध्य भइसक्दा खर्च गर्न कमजोर देखिएको सरकारले लक्ष्य भने चार खर्ब आठ अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने राखेको छ । अनि खर्चभने ५२ अर्ब रुपैयाँमात्रै भएको छ ।

बजेटमा विना तयारी विना पूर्वाधार घोषणा गरिएको कार्यक्रम राख्दा यस्तो भएको पूर्व अर्थमन्त्री डा.रामशरण महतले बताए ।

Loading...