visit-nepal

सरकारलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृतिमुक्त बनाउनु पर्छ : पौडेल

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र बुझ्दै आइतबार उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । “ सुशासनलाई अगाडि बढाउन र संविधानको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्छ”, उनले भने ।

वरिष्ठ नेता पौडेलले सरकारसँग असन्तुष्ट भएका जनतालाई काँग्रेसमा आकर्षण गर्नुपर्ने बताए । सरकारलाई भ्रष्टाचारमुक्त र कांग्रेसलाई विकृतिमुक्त बनाउनुपर्ने उनको भनाइ छ ।

उनले पार्टीको १४औँ महाधिवेशन विधिसम्मत रुपमा तोकिएको समयमा हुनुपर्ने बताए । पार्टीलाई सुधार गर्नका लागि आफू विधान कार्यान्वयनका पक्षमा उभिएको उनले बताए ।

पार्टीका नेता प्रकाशमान सिंहले विधिविधानअनुसार चल्न नसक्दा कांग्रेस दिनानुदिन कमजोर बन्दै गएको बताए । “सिद्धान्त, आदर्श र संविधान निर्माणको नेतृत्व गरेको पार्टीको वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न सक्दैन्”, उनले भने ।

Loading...