अबको आन्दोलन आर्थिक विकासका लागि हुनुपर्छ : अर्थमन्त्री डा खतिवडा

महोत्तरी २७ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताएका छन् ।

महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको उद्घाटनमा अर्थमन्त्री खतिवडाले प्रदेश २ मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यस प्रदेशका स्थानीय सरकार, प्रदेश सरकार तथा जनताको सेवा सुविधाका लागि कार्यरत प्रत्येक निकायलाई एकअर्कासँग समन्वय गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सुझाव दिए ।

उनले अहिले सबैभन्दा ठूलो आन्दोलन समाज परिवर्तनको आन्दोलन गर्न, आर्थिक रुपान्तरण गर्न र चौतर्फी विकासका नयाँनयाँ योजना ल्याउन सुझाव दिए । उनले कुनै एक प्रदेश, कुनै एक स्थानीय तह वा कुनै एक क्षेत्र विशेषको विकास गर्दैमा नेपालको विकास नहुने उल्लेख गर्दै सङ्घीय सरकारले देशको चौतर्फी विकासका लागि सबै प्रदेश र स्थानीय तहलाई आवश्यकता हेरी बजेट दिने गरेको बताए । अर्थमन्त्री डा. खतिवडाले बजेटको सदुपयोग गरेमा देश साँच्चै विकास हुने विश्वास व्यक्त गरे ।

प्रदेश २ को सरकारले प्राप्त बजेटको ६० प्रतिशत पनि खर्च गर्न नसकेकाले विकास पनि सोचेजस्तो नहुने उनको भनाइ छ । उनले ८०÷८५ प्रतिशतसम्म बजेट खर्च गर्न निर्देशन समेत दिए ।

Loading...