मीरगञ्ज पुलमा धमाधम काम, तेस्रो मुलुकका सामाग्रीलाई मात्र रि–रुट अनुमति

विराटनगर,२७ पस । भारतीय पक्षले मीरगञ्ज पुलमा आवात–जावत बन्द गरी मर्मतको काम अघि बढाएको छ । बिहीबारबाट ११ दिनका लागि पुलमा सवारी आवागमनमा रोक लगाएको भारतीय पक्षले ममर्तको काम अघि बढाएको हो ।

पुल मर्मत थालेको भारतीय पक्षले तेस्रो मुलुकबाट भित्रिएका सामाग्रीलाई मात्र वीरपुर– भाण्टाबारी सडकबाट रि–रुट गरेर ल्याउने अनुमति दिएको छ । भारतबाटै आएका सवारीले भने नेपाल प्रवेशका लागि २० डिसेम्बरसम्म कुर्नुपर्ने विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले बताए ।

उनका अनुसार भारतले पुल बन्द गर्ने पूर्वजानकारी दिएका कारण करिब ६ सय सवारी पुल वारी आएका थिए । पुल पार गरेका सबै सवारी साधनको जाँचपासका लागि ४–५ दिन लाग्ने उनको भनाइ छ ।

मीरगञ्ज पुलबाट भित्रिसकेका सवारी साधनको जाँचपासपछि मात्र वीरपुर भाण्टाबारीबाट सवारी आउने छ । तेस्रो मुुलुकबाट सामाग्री लिएर आएका सवारीलाई भाण्टाबारीबाट स्कटिङ गरेर ल्याउने भण्डारीले बताए । भाण्टाबारी नाका प्रयोगका लागि भन्सार विभागबाट अनुमति पाइसकेको उनले जानकारी दिए ।

भारतीय पक्षले मीरगञ्ज पुलबन्द भएपछि बरौनीबाट आयात हुँदै आएको इन्धनलाई पनि रोकेपछि आयल निगमनले अन्य डिपोबाट इन्धन आयात गरी वितरण गरिरहेको छ ।

Loading...