म दमाइँकी छोरी अनिता परियार !

anita
अनिता परियार (संविधानसभा सदस्य)

पाईंले एकैचोटी २० र १० वर्षको मान्छेलाई सँगै लडाउनुभयो भने के हुन्छ ? कसले जित्छ ? पक्कै २० वर्ष उमेर पुगेकोले जित्छ नि । एउटा समुदाय हाम्रो नेपालमा यस्तो पनि छ जसले हिजो राणाकालीन अवस्थादेखि शिक्षा पायो । त्यो बेलादेखि नै उसले देश विदेश घुम्न जान पायो । राम्रो लाउन मीठो खान पायो । त्यति बेलादेखि नै उल्ले डाक्टर इन्जिनियर बन्न पायो । तर हामी अझै पनि त्यहीँ नजिकको मुसहर बस्तीमा एकजना पढेको मान्छे छैन यीनलाई आरक्षण अधिकार छैन चाहियो भनेर पीडा व्यक्त गर्दछौँ किन होला ?

आरक्षण अधिकारको कुरा गर्नेबित्तिकै तँ क्षमताविहीन र अयोग्य रैछस् भन्ने कुरा गर्ने गरिन्छ । यसो भन्नु भनेको दलित आन्दोलनलाई स्थानविहीन बनाउन खोजिएको होइन र ? मनोवल गिराउन खोजिएको होइन र ? हो, हामी एउटा कुरा मान्छौँ सधैँ आरक्षण हुनु हुँदैन ।

आरक्षणको एउटा अवधि हुनुपर्छ । तर यसको अर्थ आरक्षण नै हुँदैन भनेर भन्नु गलत हो । यो भन्नु भनेको फेरि पनि यो समुदायलाई तल राख माथि आउन नदेओ भन्न खोजिएको होइन र ? यसकारण दलितमैत्री गैरदलित साथीहरूले पनि यो कुरा बुझिदिनुहुन विनम्र आग्रह गर्दछु । हामीलाई अहिलेसम्म मात्र होइन अझै १० वर्षसम्म आरक्षण चाहिन्छ ।

तपाईं मलाई टिकट दिनुहोस् म जित्नसक्ने योग्य मान्छे हो । हामी सबै योग्य हौँ । अयोग्य को हुन्छौँ ? दलित भन्नेबित्तिकै अयोग्य भन्न पाइन्छ र ? मान्छेको ब्रेन आफैँमा योग्य हुन्छ । मानव समुदाय आफैँमा योग्य छ । सबै प्राणीहरूमध्येको सर्वाेत्कृष्ट प्राणी मान्छे हो । यसकारण मान्छे को योग्य र को अयोग्य भनेर जात र समुदायका आधारमा छुटयाउन बन्द गरौँ । कथित जाति भएकै भरमा आज एउटा सर्टिफिकेट हातमा लिँदैमा ऊ योग्य तर जसले जीवनका थुप्रै भोगाइहरूमा मास्टर डिग्री गरेको छ ऊचाहिँ अयोग्य हुने चलन अब गइसक्यो ?

समाजको खाडललाई पुर्न, तलमाथि भएको समाजलाई लेबलमा ल्याउनको निम्ति आरक्षण आवश्यक छ भनेर भनिएको हो । त्यसकारण कम्तिमा दलितमैत्री गैरदलित सहयोगीहरूले यो कुरा बुझिदिएर सही ढगंले लैजान सक्ने हो भने मात्र हामी विभेदरहित निष्कर्षमा पुग्न सक्छौँ ।

अर्को शब्द छ, दलितलाई घृणा गर्न हामी अझै उदत्त छौँ । दलित शब्द नै हटाइदिऊँ, शिल्पी राखौँ समान होइन्छ भनिरहेका छौँ । शिल्पी शब्दले मात्र हाम्रो समुदायको उत्पीडनलाई सम्बोधन गर्न सक्दैन बाबा । शब्द फेर्दैमा दलितहरूमाथि भएको अन्यायपूर्ण सोच फेरिँदैन । त्यसका लागि राजनैतिक आर्थिक र साँस्कृतिक रुपान्तरणसहितको समानता आवश्यक पर्छ । के महिलालाई महिला भन्न छाड्दैमा उनीहरूमाथि हुँदै आएको हिंसा च्वाट्टै अन्त हुन्छ त ?

सबैले बुझ्नुपर्छ, दलितसँगको परिभाषा आफैँमा पृथक ढंगले र सबै कुरा जोडिएर आएको छ । पछाडि पारिएका, अछुत मानिएका, गरिब, राज्यको मूलधारबाट बञ्चित सबै समुदायको आइडेन्टीटी नै दलित हो । सदियौँदेखिका पीडितहरूलाई एउटै शब्दले परिभाषित गर्न सक्छ भने त्यो शब्द अहिले हामी किन छोड्ने ? केका लागि छोड्ने ? दलितदेखि मैलै घृणा किन गर्नुपर्ने । म अनिता परियार दमाइँकी छोरी भनेर किन घृणा गर्नु ? तपाईंलाई एउटा म कोइराला हुँ भन्दा छाती फुल्छ , गौरवले भन्नुहुन्छ ।

मैले परियार हुँ भनेर किन घृणा गर्नु ? मेरो पुर्खाले त कुनै अपराध नै गरेको छैन नी । बरु मेरो पुर्खाले यो समाजको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पुर्‍याएको छ । मेरो पुर्खा २४ घण्टामा १८ घण्टा काम गर्थे । उहाँसँग सीपयुक्त पेशा थियो । जतिबेला अरु बेरोजगार भएर भाषण मात्र गरेर वा किताब मात्र पढेर भात खान्थ्यो त्यो बेला मेरो पुर्खा दिनभरि पसिना बगाएर मात्र भात खान्थ्यो ।

त्यत्रो महान् अर्थतन्त्रमा कठिन परिश्रम गरेर योगदान पुर्‍याउने समुदायका सन्तान हौँ हामी दलित । यसैले म त गौरवले भन्न सक्छु म दलित दमाइँकी छोरी अनिता परियार हुँ । हामी परिश्रमी पुर्खाको सन्तान हौँ । यसैले म कामीको म दमाइँको सार्कीको सन्तान हुँ भनेर गर्व गर्न किन नसक्ने ।

त्यसकारण न त आफ्नो थरसँग घृणा गर्न पर्ने आवश्यकता छ न त हाम्रो परिभाषित शब्दसँग नै घृणा गर्नुपर्ने आवश्यकता छ । यो कुरा ‘फुटाऊ र शासन गर’ भन्नेहरूको जालमा फसिरहेका हाम्रो समुदायले पनि बुझ्न जरुरी छ । शब्द फेरेर संगठन बनाउँदैमा मुक्ति हुँदैन । मुक्ति त समानताको सोच विकास भएपछि मात्र हुनेछ । हामीले दलित की शिल्पी भनेर विवाद गर्नु बेकार हो । शब्दको जालमा फसाएर हामीलाई फुटाएर जुधाउन खोजिँदैछ हामी सर्तक हुनुपर्छ ।

दोस्रो कुरा हामीलाई माया गर्ने गैरदलितले पनि यो बुझ्न जरुरी छ कि तपाईंहरूको मुखबाट दलित भन्न छाड्नुपर्छ र आरक्षण गलत भन्ने कुरा किन आइराखेको छ ? कतै हामीप्रति तपाईंको अन्तरमनमा घृणा पो छ कि । हाम्रो थरप्रति, हाम्रो पहिचानप्रति घृणा छ कि । हामीलाई सम्बोधन गर्नप्रति कतै–कतै इगो छ कि । हाम्रो बराबरीको भयो भनेर जलन पो छ कि । त्यसले आरक्षण लिएर नपढीकन सुब्बा हुन पाउने ? त्योचाहिँ अलिकति पनि पैसा खर्च नगरीकन नेता हुन पाउने ? ए त्यो मात्रै गरिब म गरिब हैन र भन्ने भित्री मनमा खोट पो उब्जेको छ कि ।

तपाईं गरिब हुनुहुन्छ भने तपाईंले सहज रूपले गरिबी निवारण गर्न सक्नुहुन्छ । र, तपाईंको आर्थिक अवस्था सवल भएपछि तपाईं सम्पन्न कहलिनुहुन्छ । तर वर्षौंदेखि हेपिएका, मिचिएका, किचिएका दलिएका दलितहरूले आफ्नो टाउकोमा अझै सानो जात, अछुत जात भनेर अपमान सहिरहन बाध्य छन् । समाजमा गरिबी निवारण गरेर मात्रै पनि इज्जत पाउन सकेका छैनन् । हेपिँदैछन् । होच्याइँदैछन् । यसैले सबैले शब्द फेराएर देखावटी जलप लगाउने चटकभन्दा पनि दलितहरू भनेका अर्थतन्त्रमा महान योगदान दिने पौरखीहरूका सन्तान हुन उनीहरूलाई सलाम गनुपर्छ भन्ने सोचको विकास गर्नु–गराउनुपर्छ ।

Loading...