दोमुखामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

झापा २७ पुस । झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको दोमुखा क्षेत्र आन्तरिक पर्यकटकको आकर्षक गन्तव्य बनेको छ । अहिले दैनिक वनभोजका लागि दुई हजार ५ सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

इलामको महमाई नगरपालिकासँग सीमा जोडिएको सो क्षेत्रमा देखिने हरिया चुरे पहाड, कनकाई नदीमा ड्यामबाट झरेको पानी, नदी किनारमा रहेको समथल भू–भागमा बनाएको कृत्रिम उद्यान नै पर्यटकका लागि आकर्षणका केन्द्र हुन् ।

मङ्सिर, पुस, माघ र फागुन महिना वनभोजको महिना भएको हुँदा दैनिक आन्तरिक तथा बाह्य गरी दुई हजार ५ सयको हाराहारीमा पर्यटक आउने गरेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनबहादुर लावतीले बताए ।

पूर्वपश्चिम राजमार्गको माईधार चोकबाट करीब चार किलोमिटर उत्तर रहेको सो क्षेत्रमा नगरभित्रकै सबैभन्दा सुविधासम्पन्न होटलसहित ठूला–साना गरी आधा दर्जन होटल सञ्चालनमा छन् । होटलमा कनकाई नदीमा पाइने माछा, घुँगी, गङ्गटाहरुसमेत पाइने गरेको छ ।

झापाका अन्य पर्यटकीय क्षेत्रभन्दा पृथक रहेको सलल बग्ने कनकाई नदी किनारमा रहेको यस सुन्दर पर्यटकीय क्षेत्रको पर्यापर्यटन विकासका लागि थप पूवधार निर्माण गर्न सङ्घीय र स्थानीय सरकारले चालू आर्थिक वर्षमा ४०÷४० लाख रुपैयाँ रकम विनियोजन गरेका छन् ।

२३ करोड लगानीमा सो क्षेत्रको पर्यापर्यटन पूर्वाधार विकास अगाडि बढेको छ । उद्यानमा झापाका विभिन्न जातजातिका पहिचान झल्कने सामग्री राखिने छ ।

नदीकै काखमा रहेको यस क्षेत्रमा फिसिङ गर्न चाहनेका लागि व्यवस्था गरे झापामै छुट्टै पहिचान बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न सक्ने अध्यक्ष लावतीले बताउँछन् ।

Loading...