द्रूतगतिमा सडक बनाउन मन्त्रीको निर्देशन

फिदिम २६ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन निर्माण कम्पनी तथा सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

पूर्वी पहाडी जिल्लाको विशेष चासोको रुपमा रहेको यो सडक निर्माणको कार्य सुस्त भएपछि स्थलगत निरीक्षण गर्दै मन्त्री नेम्वाङले निर्माण कार्य तत्काल द्रूतगतिमा अघि बढाउन निर्देशन दिए ।

एक वर्षअघि प्रधानमन्त्री ज्यूले यो सडकको शिलान्यास गरेको कारणपनि यसमा धेरैको चासो रहेको उनले बताए । सडक निर्माणको ठूलो रकम भारतीय सरकारको ऋण सहयोग रहेकाले भारत पक्षसँग पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

मेची र कोशी जोड्ने यो सडकको प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियतामा कालोपत्रको ठेक्का लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सस्तो ऋण सहयोगअन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ ।

यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् । यति लामो सडकखण्डमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने राँके–रबी–भेडेटार सडक आयोजनाका प्रमुख राजेन्द्र शाहले बताए ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडकको पूर्ण ट्र्याक खोल्ने कामले नै अपेक्षाकृत गति लिन नसकेको आयोजना उनको भनाइ छ । पछिल्लो पटक निर्माणले केही गति लिएपनि निर्धारित समयमा पूरा गर्न ‘चमत्कारिक’ काम गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

सात मिटर चौडा बाटोले व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषि उपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि सडकको ट्र्याक खोलिएपनि स्तरोन्नति र कालोपत्र हुन सकेको थिएन् । भारतको आयात–निर्यात (एक्जिम) बैङ्कको ३ अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ ।

भारतीय निर्माण कम्पनीका आधिकारिक पदाधिकारीसँग काठमाण्डौँमा छलफल गरी उचित रणनीति तय गर्ने निश्कर्ष सहित मन्त्रालयको टोली शनिबार काठमाडौँ फर्किएको आयोजना प्रमुख शाहले बताए ।

Loading...