कारागारका क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानीको समस्या

लहान, २६ पुस । क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएका कारण सिरहा कारागारमा खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको हो ।

कारागारमा पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ । उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता छ ।

सिरहा कारागारमा १३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता छ । तर कारागारमा ४६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरुसँगै आश्रित एक बालक र दुई बालिका छन् ।
उनीहरुका लागि खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ ।

“एउटै कोठामा १०÷१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ”, कारागारमा कैदी जीवन बिताइरहेका ज्ञानबहादुर थापा मगरले भने‘क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ, तर जम्मा १२ मात्र शौचालय छ ।’

एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीन÷तीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी शुभकलादेवी यादवले बताइन् ।

क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतोले बताइन । रासस

Loading...