गरिबीमा फष्ट डिभिजन, छात्रवृत्तिमा पिएचडी

गाउँमा विद्यालय थिएन । स्कुल पुग्न दैनिक एक घण्टा पैदल हिँड्नु पथ्र्याे । टाढा विद्यालय भएका कारण सँगैका साथीको ध्यान खेल्ने र काम गर्ने मै हुन्थ्यो । तर कानेपोखरी गाउँपालिका–४ खोरियाका डाक्टर कृष्णबहादुर राई (४६) को दैनिकी भने फरक थियो ।

सँगैका साथी काम गर्न जाँदा उनी स्कुल जान्थे । अति विपन्न परिवार भएपनि बुबा कान्छाबहादुर राईले काम गर्न दिँदैनथे । बिहान बेलुका दैनिक छाक टार्न समस्या भएका कारण स्कुल पढ्न कृष्णबहादुरलाई ठूलो संघर्ष गर्नुपर्यो ।

दुर्लभ मानिने ‘नानो टेक्नोलोजी फिजिक्स’ मा विद्यावारिधी गरेका राईले कक्षा १० सम्मको पढाई दुःखले सके । स्कुले जीवन अभावमा बित्यो । स्कुल पढ्दा मासिक शुल्क तिर्नुपथ्र्याे तर पैसा नहुँदा उनका बुबाले पेट पाल्ने औजार बसिला–छिनो नै बेच्नुपर्यो । एसएलसीमा उनले बसिला बेचेर पढाउने बुबालाई निराश पारेनन् । उनले एसएसली फष्ट डिभिजनमा पास गरे । छात्रवृत्तिमा विद्यावारिधी गरेका राई आफ्नो अनुभव यसरी सुनाउछन् :

खान लाउन मुस्किल परेका कारण झापाको तोपगाछीबाट २०३८ सालमा बुबा कानेपोखरी–४ डासखोलाको बगर नजिकै खोरिया (साबिक बयरबन–६) आउनुभएको थियो । घर खोला छेउमा थियो । खोला कुद्ने बगरमा धान उब्जनी हुँदैनथ्यो । बिहान छाक टारे बेलुका के खाने भन्ने सँधै चिन्ता थियो । दैनिक गुजाराका लागि बुबा हलो, कोदालोको बिँड, जुवालगायत काठका सामाग्री बनाएर बेच्नुहुन्थो । किनकि बगरको आम्दानीले खान पुग्दैन थियो ।

तोपगाछीमा कक्षा ३ सम्म पढेका कारण बुबाले जनता निम्न माध्यमिक विद्यालय बयरबनमा ३ कक्षामा भर्ना गराइदिनुभयो । त्यहाँ कक्षा ७ सम्म पढेपछि जनसेवा स्कुल जान थालेँ ।
स्कुल पुग्न दैनिक एक घण्टा जति हिँड्नुपथ्र्याे । हिउँदमा जाडो, वर्षामा पानीले दुःख दिन्थ्यो । वर्षामा कयौं पटक केराको पात ओडेर भएपनि स्कुल गएँ । पढाई छुटाइनँ ।

जनसेवाबाट २०४६ सालमा ७१.७० प्रतिशत अंक ल्याएर एसएसली पास गरेँ । सँगैका साथी साहु महाजनकोमा काम गर्न जान्थे । तर बुबाले सानैदेखि पढाएका कारण एसएलसीमा मैले फष्ट डिभिजन ल्याएँ । स्कुल पढ्दा जाँच फिस अनिवार्य तिर्नुपथ्र्याे । पढाईमा जान्ने भएका कारण मासिक फिस बेला बेला छुट हुन्थ्यो ।

एसएलसीपछि सेन्टर टेक्नोलोजी क्याम्पस हात्तीसार धरानबाट छात्रावृत्तिमा नै आइएसी गरँे । त्यसपछि महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट बिएस्सी गरेँ । बिएस्सी गरेपछि २०६१ देखि २०७० सालसम्म काठमाडौंका कलेजहरुमा पढाएँ । त्यसपछि भौतिक शास्त्रमा एमएस्सी गरेँ ।

विस २०७० सालमा कोरियाले छात्रवृत्तिमा पढाउने योजना निकालेको रहेछ । ‘नानो टेक्नोलोजी फिजिक्स’मा एप्लाई गर्दा छनोट भएँ । त्यसपछि विद्यावारिधी गर्न कोरियन सरकारको बिके २१ परियोजना (ब्रेन कोरिया २०२१) अन्तरगत कोरिया गएँ । चार वर्ष लगाएर सुनक्यून क्वाङ विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गरेँ ।
……..

खोला किनारको बगरमा घर भएपनि बुबाआमाले निरन्तर पढाउन संघर्ष गर्नुभयो । बगरमा घर भएका कारण तरकारी बारी थिएन । गरिबीका कारण तरकारी किन्न सक्ने हैसियत पनि थिएन ।
स्कुल जाने समयमा चुलोमा भात बसाएर माछा मार्न डास खोला पुग्थ्याैं । खोला अलिकति छेकेर माछा मार्दा धेरै भेला हुन्थ्यो । माछा मारेर घर आउँदा भात पाकी सकेको हुन्थ्यो । तरकारी किन्ने पैसा नभएका कारण दैनिक जसो माछा नै तरकारी बन्थ्यो । खर्च जुटाउन दाजु ऋषि र म बेला बेला सखुवाको फूल भेला गथ्र्याैं ।

वर्षाै पहिलेको दुःख सम्झँदा खोला र जंगल छेउमा बस्ने मान्छे भोकै मर्दैन जस्तो लाग्छ । किनकि हामीलाई बचाएकै खोला र जंगलले हो । बुबाले जंगलको काठबाट हलो, जुवा बनाउनुहुन्थ्यो । खोलाबाट हामी तरकारी ल्याउथ्यौं ।


जनता निमाविमा म कक्षा ३ मा भर्ना हुँदा दाजु ऋषि कक्षा ४ मा हुनुभयो । वार्षिक परीक्षा आउँदै गर्दा सरहरुले परीक्षा शुल्क बारम्बार माग्नुभयो । घरमा पैसा नभएका कारण तिर्न सकेनौं । स्कुलले दाजुको परीक्षा नै रोकिदिएपछि दाजु रुँदै घर आउनुभयो । बुबाले ऋण खोजेर फिस तिरिदिएपछि परीक्षा दिन पाउनुभयो ।

निरक्षर भएपनि बुबामा सन्तानलाई पढाउनुपर्छ भन्ने चेत थियो । बुबा सँधै जंगलबाट काठ ल्याएर सामान बनाएर बजार लानुहुन्थ्यो । तर बुबाले बनाएको सामान सँधै बिक्दैन थियो । मान्छेहरु फ्रीमा माग्थे ।

२०४३ सालको वार्षिक परीक्षाका बेला बुबासँग फिस तिर्ने पैसा थिएन । गाउँमा पनि खोज्दा पाउनु भएन् । ऋण पनि नपाएपछि बुबाले हाम्रो पढाईका लागि हलो बनाउने बसिला र छिनो बेचिदिनुभयो । बसिला बेचेपछि बञ्चरोले सामान बनाउनुहुन्थ्यो ।
…..

मैले कोरियामा पढेको विषय नयाँ टेक्नोलोजी हो । चार वर्ष कोरियामा अध्ययन गर्दा सिलिकनलाई प्रतिस्थापन गर्न तीव्ररुपमा विस्तार हुँदै गरेको ‘ग्राफिन’ बनाउन सिकेँ । विश्व बजारमा ग्राफिनको राम्रो भविष्य देखेको छु ।

प्रविधिको सहजताका लागि सिलिकनको प्रयोग भएको थियो । तर सिलिकनभन्दा पनि सरल प्रविधि ग्राफिन बनेको छ । विश्व बजारमा ग्राफिनको माग धेरै छ । मेरो अध्ययनको क्षेत्र नै ग्राफिन भएका कारण म बनाउन पनि सक्छु ।

नाङगो आखाले देख्न नसकिने ग्राफिन ‘आइसी’, ट्रान्जेस्टर, मोबाइल लगायतका इलेक्टोनिसक्स डिभाईसमा प्रयोग हुन्छ । तर नेपालमा ग्राफिन पाउन मुस्किल पर्छ । ग्राफिनमा थेसिस गर्न खोज्दा तीन जना विद्यार्थी खोजेँ कतै पाउन सकिनँ । नेपाल सरकारले लगानी गर्ने हो भने ग्राफिनको मार्केट राम्रो छ ।

Loading...