visit-nepal

वैशाख भित्र रानीपोखरी पुरानै शैलीमा


काठमाडौं, २६ पुस । रानीपोखरीको निर्माण बैशमख भित्र सक्ने गरी काम थालिएको छ । आगामी तीन महिना भित्र सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको कामलाई तीव्ररुपमा अघि बढाइएको हो ।

पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम भइरहेको छ ।

पोखरीको ४६ प्रतिशत काम सकिएको छ । पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।
पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ । हाल ६० कामदारले काम गरिरहेका छन् ।

भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

निधारीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ । माघ अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालोमाटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणले जनाएको छ ।

बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ । त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन् ।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् ।
रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ ।
पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले २५ करोड बजेट विनियोजन गरेको छ ।
चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।रासस

Loading...