सनिषको आवाजमा ‘दुःखको काँडा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर २४ पुस । ‘म यस्तो गीत गाउँछु २’को दोश्रो गीत सार्वजनिक भएको छ । गीतलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

दि भ्वाइस अफ नेपाल–२’को टप ४ मा पर्न सफल गायक सनिश श्रेष्ठको स्वरमा रोमान्टिक जनरामा आधारित ‘दुःखको काँडा’ बोलको गीत सार्वजनिक भएको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द रहेको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई प्रस्तुत गरिएको छ । गीतमा प्रेमीले प्रेमिकाप्रति देखाएको मायालाई देखाएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका हुन् । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गरिएको छ ।

प्रेम कथामा आधारित भएर निर्माण फिल्ममा सुदर्शन र पूजा शर्मा निर्माता हुन् भने जन्मजय साम्पाङ राइ फिल्मको सह–निर्माता हुन् । फिल्म फागूणको २३ गतेबाट प्रदर्शन हुने भएको छ । फिल्ममा समावेश पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूजका साथ दर्शकहरूले निकै माया दिएका छन् ।

Loading...