visit-nepal

साधारण तारेख माग्दै सिद्धबाबा पनि उच्च अदालतमा

विराटनगर २४पुस । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पनि उच्च अदालत विराटनगर पुगेका छन् । धरौटीमा छाड्ने आदेशको आलोचना भइरहेको अवस्थामा गिरी साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगर निवेदन दायर गरेका हुन् ।

१६ पुसमा जिल्ला अदालत सुनसरीको आदेश विरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अदालतमा जिल्लाको आदेश बदर गरी थुनामा राख्ने माग गर्दै निवेदन दायर गरेको थियो । सरकारी वकिलको निवेदनमा मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो ।

सिद्धबाबाले पनि जिल्लाको आदेश बदरका लागि निवेदन गरेपछि मुद्दालाई लगाउमा राख्न आदेश भएको छ । बुधबार मुख्यन्यायाधीश श्रेष्ठको इजलासले दुई मुद्दालाई लगाउमा राख्ने आदेश दिएको हो ।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि उनीमाथि सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । सो मुद्दामा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख रुपैयाँ धरौटीमा छाड्न पुस १४ गते आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशका विरुद्धमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार पुस १६ गते निवेदन दिएको थियो ।

निवेदनमा बेरितको आदेश बदर गरी प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । उक्त निवेदन १७ गते दर्ता गरेको उच्च अदालतले सबै व्यहोरा र विवरण खुलाएर १५ दिन भित्रमा सुरु मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्न जिल्ला अदालतलाई १८ गते आदेश दिएको थियो । उच्चको आदेशअनुसार जिल्लाले कैफियत प्रतिवेदन पठाइसकेको छ ।

बलात्कारका अभियुक्त सिद्धबाबाले पनि मंगलबार उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार नै साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका हुन् ।

एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार मुद्दा लगाउमा राख्न आदेश दिएको उच्च अदालतका रजिष्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए ।

मुद्दामा लगाउमा राखेपछि सिद्धबाबाको हकमा छुट्टै कैफियत प्रतिवेदन आवश्यक नपर्ने उनको भनाइ छ । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।

बलात्कार आरोपको अनुसन्धान अवधि विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा विताएका सिद्धबाबाले गत आइतबार मात्रै डिस्चार्ज भएपछि अस्पताल छाडेका थिए ।

बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै उनी मंसिर १२ गतेबाट अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधिमा भने प्रहरी हिरासत बस्न परेन ।

Loading...