visit-nepal

महिला उद्यमसम्बन्धी अन्तर्क्रियात्मक तालिम

रंगेली, २४ पुस । विराटनगरमा महिला उद्यमीहरूलाई उद्यमसम्बन्धी अन्तर्क्रियात्मक एक दिने तालिमको आयोजना हुने भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पुस २८ गते हुने तालिमको बारेमा जानकारी गराइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रालिको सम्झौताअनुसार हुन लागेको तालिममा मोरङ र सुनसरीका उद्यमी महिलाको सहभागिता रहने छ । सातै प्रदेशमा सञ्चालन हुने यस्तो तालिम यहाँ भने मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले सञ्चालन गर्दै छन् ।

तालिममा महिला उद्यमीलाई वित्तीय साक्षरतालगायतका व्यवसाय सञ्चालन गर्ने प्रारम्भिक प्रक्रिया, उत्पन्न हुने जटिलता तिनको निराकरणको उपायलगायत सिकाइने मिहिला उद्यम विकास समिति, मोरङ मोरङ व्यापार संघकी संयोजक मल्लिका रिजालले जानकारी दिइन् । तालिममा महिला उद्यामीको आफ्नो उद्योगसँग सम्बन्धित विभिन्न जिज्ञासासमेत समाधान गराइन महिला उद्यम समिति, उद्योग संगठन मोरङकी संयोजक सन्ताष जैनले बताइन् ।

तालिममा सहभागी महिला उद्यमीबाटै ‘वुमन अन्त्रप्रेनर अवार्ड २०२०’ लागि पनि छनौट गरिने आयोजकले जनाएको छ । सातै प्रदेशबाट छनौट भएका महिलामध्येबाट उत्कृष्टलाई राष्ट्रपतिबाट उक्त पुरस्कार प्रदान गरिने भएको छ । तालिममा ३ सय महिला सहभागी हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष नवीन रिजाल र सचिव अनिल साह तथा निवर्तमान अध्यक्ष पवन सारडाको सहभागिता रहेको थियो ।

Loading...