visit-nepal

विराटनगरका उद्योगीहरूले थाले आधुनिक प्रविधिको व्यवसायीक कृषि खेती

विराटनगर, २४ पुस । भौतिक वस्तुको उत्पादन र आयात–निर्यात व्यापार गर्दै आएका विराटनगरका उद्योगीहरूले आधुनिक प्रविधिसहितको व्यवसायीक कृषि खेती सुरु गरेका छन् ।

नेपालको कृषि खेतीलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्‍याउन विराटनगरका तीन उद्योगीहरूले करोडौँको निजी लगानीमा आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक कृषि खेती सुरु गरेका हुन् ।

विराटनगरमा बसेर जुट उद्योग सञ्चालन गर्दै आएका नेपालको औद्योगिक घराना गोल्छा अर्गनाईजेशनका सदस्य राजकुमार गोल्छासहित प्लाईउड उद्योग सञ्चालन गर्दै आएका सोम अधिकारी र वायरलगायत विभिन्न भौतिक वस्तु उत्पादन गर्दै आएका उद्योगी गिरिस लुनियाले सुनसरीका विभिन्न स्थानमा जमिन लिजमा लिएर संयुक्त रूपमा व्यवसायीक कृषि खेती थालेका छन् ।

सुनसरीको सीतागञ्ज र सोनापुरमा एक सय बिगाहा जमिन लिजमा लिएर खेती सुरु

हाल सुनसरीको सीतागन्ज र सोनापुरमा एक सय बिगाहा जमिन लिजमा लिएर ‘अरिहन्त कर्मसियल एग्रिकल्चर एण्ड रिसर्च सेन्टर’ निर्माण गरी व्यवसायीक कृषि खेती सुरु गरेको सञ्चालक सोम अधिकारीले बताए । सञ्चालक अधिकारीका अनुसार हाल सुनसरीको सीतागन्ज र सोनापुरमा ऊखु, तरकारी, धान, कागती आदि बालीको खेती सुरु गरिएको छ । र, व्यवसायीक खेतीलाई विस्तार गर्न मोरङ, धनकुटा, इलाम, तेह्रथुमलगायतका जिल्लामा पनि जमिनको खोजी भइरहेको छ । पहाडी क्षेत्रमा जमिन लिजमा लिएर सुन्तला, अलैँची, अदुवा र तरकारीलगायत बालीको खेती सुरु गर्ने कम्पनीको तयारी छ ।

खेती बिस्तार गरी उत्पादन बढाएर आयात घटाउने चाहना

नेपाल कृषिप्रधान देश भए तापनि कृषिजन्य वस्तुहरू दोस्रो र तेस्रो मुलकबाट आयात गर्नु परिरहेको छ । अझै पनि नेपालको कृषि खेती परम्परागत ढंगको निर्वाहमुखी मात्रै छ । यसैले आधुनिक प्रविधि र यन्त्रहरूको प्रयोग गरी उत्पादन बढाएर आयातलाई घटाउन हामीले आधुनिक ढंगले व्यवसायीक खेती थालेका हौँ,’ सञ्चालक अधिकारीले भने ।

एक वर्षअघि सुरु गरेको व्यवसायीक कृषि खेतीलाई पाँच वर्षभित्र ५ देखि ६ सय बिगाहामा विस्तार गर्ने योजना अरिहन्तको रहेको छ । व्यवसायीक खेतीको विस्तार भएसँगै आफ्नै लगानीमा कृषि प्रशोधन उद्योगहरू सञ्चालन गर्ने सञ्चालकहरूले बताएका छन् ।

दक्ष प्राविधिक र आधुनिक कृषियन्त्रको प्रयोग

सुरु गरको व्यवसायीक कृषि खेती दक्ष कामदार र कृषि विज्ञहरूको रेखदेखमा गर्ने गरिएको दाबी अरिहन्तको छ । विषादी प्रयोगलाई कम गर्दै अर्गानिक ढंगले कृषि वस्तुहरू उत्पादन सुरु भइसकेको सञ्चालक अधिकारीले जानकारी गराए ।

हाल अरिहन्त कम्पनीले सुरु गरेको व्यवसायीक खेतीलाई कृषि प्राविधिकसहित १५ जना कर्मचारीहरूले रेखदेख गरिरहेका छन् । खेतीको विस्तारसँगै प्राविधिक र कर्मचारीहरू पनि बढाउँदै लगिने योजना अरिहन्तको छ । जमिनलाई कहिल्यै बाँझो रहन नदिने र बढीभन्दा बढी आधुनिक कृषियन्त्र र प्रविधि प्रयोग गरेर खेती गरिने भएकोले कृषि मजदूरहरूको प्रयोग कम भएको र उत्पादन पनि बढेको पाइएको छ ।

आफ्नै बिक्री कक्ष स्थापना गर्ने सोच

हाल उच्च आधुनिक प्रविधि प्रयोग गरेर सुरु गरिएको खेतीबाट कृषि वस्तुहरू उत्पादन हुन थालिसकेको र बजार पनि राम्रो रहेको सञ्चालक अधिकारीले बताए । उत्पादित कृषि उत्पादनहरू सहज रूपले बिक्री गर्न अरिहन्त एग्रिकल्चरले विभिन्न शहरमा आफ्नै बिक्रीकक्ष पनि स्थापना गर्ने भएको छ । उनले भने, ‘सुरु गरेको व्यवसायीक खेतीले हामीलाई हौस्याएको छ यसैले हामीले व्यवस्थित बिक्री कक्ष पनि स्थापना गर्ने सोच बनाएका छौँ ।’

Loading...