बढ्दो यौन दुर्व्यवहार

विष्णु शर्मा

हिलाहरूमाथि हुने यौन दुर्व्यवहार विश्वव्यापी रूपमा विद्यमान छ । यो अपराध मानवअधिकार विरोधी कार्य मानिए पनि यसमा कुनै कमी आएको छैन । नयाँनयाँ रूपमा यौन दुर्व्यवहारका घटनाहरू देखा परिरहेका छन् । यो समस्या विश्वव्यापी रूपमा विद्यमान भए पनि धेरैका लागि सरोकारको विषय थिएन र यो विषयलाई सामान्य रूपमा लिने गरिन्थ्यो । महिलाहरू पनि आफूमाथि भएको यौन दुर्व्यवहारलाई सहेर बस्थे र आफूमा मात्र सीमित राख्थे ।

सन् १९९४ मा बेजिङमा भएको चौथो विश्व सम्मेलनले महिलामाथि हुने हिंसालाई महिलाहरूको एउटा प्रमुख मुद्दाका रूपमा पहिचान गरेपछि यो मुद्दाले सरकार, अन्तर्राष्ट्रिय दातृ संस्था, गैरसरकारी संस्था, सञ्चारमाध्यमलगायत सबैको ध्यानाकर्षण गरेको छ ।


बेजिङमा भएको महिला र विकाससम्बन्धी चौथो विश्व सम्मेलनले महिला हिंसाको व्यापक रूपमा परिभाषा पनि गरेको छ । बलात्कार, यौन शोषण, यौन दुर्व्यवहार, मानसिक हिंसा, सबै हिंसाको परिभाषाभित्र पर्छन् । महिलाहरू जिस्क्याउने, उनीहरूको शरीरलाई छुने, अश्लील पत्रपत्रिकाहरू देखाउने, मानसिक रूपमा यातना दिने, सबै यौन दुर्व्यवहारको परिभाषाभित्र पर्दछन् । धेरै अवस्थामा महिलाहरू आफूमाथि भएको यौन दुर्व्यवहार सहेर बस्छन् । धेरैजसोलाई कहाँ गएर उजुरी दिने भन्ने कुराको जानकारी पनि हुँदैन । कति महिलाले सामाजिक प्रतिष्ठाका डरले आफूमाथि भएको यौन दुर्व्यवहारलाई आफूभित्रै सीमित राख्छन् जसले गर्दा उनीहरूको जीवनमा धेरै नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

यौन दुर्व्यवहारको पीडालाई खप्न नसकेर महिलाहरू आत्महत्यासम्म गर्न बाध्य भएका घटना प्रकाशित भएका छन् । यसैगरी स्कुल पढिरहेका केटीहरूले यौन दुर्व्यवहारका कारणबाट स्कुलको पढाइ छोडेका, अफिसमा काम गरिरहेकाले पनि कामै छोडेका कैयौं उदाहरण छन् । योबाहेक यौन दुर्व्यवहारले पीडितहरूमाथि पर्ने अन्य असर हुन्- मानसिक तनाव, चाँडै रिसाउने, आत्म विश्वासको कमी, जीवनप्रति निराशा, शारीरिक अस्वस्थता, डिप्रेसन तथा आत्महत्याका प्रवृत्तिहरू । यसैले यो समस्याको निदान समयमै गर्नु आवश्यक छ ।

संयुक्त राष्ट्रसंघको महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलनविरुद्धको महासन्धिको धारा १९ ले महिलामाथि हुने सबै प्रकारका हिंसा, यौन दुर्व्यवहार, बेइज्जतीविरुद्ध महिलाहरूलाई संरक्षण गर्ने कुरा उल्लेख गरेको छ । यसैगरी संयुक्त राष्ट्रसंघको १९६६ को आर्थिक, सामाजिक र सांस्कृतिक सन्धिको दफा ७ ले पनि सबै मानिसले एउटा काम गर्ने अनुकूल वातावरण हुनुपर्ने कुरामा जोड दिएको छ तर पनि महिलामाथि हुने यौन दुर्व्यवहारमा कमी आएको छैन । सडकदेखि लिएर शिक्षण संस्था, धार्मिकस्थल, विभिन्न सरकारी कार्यालय, उद्योगधन्दाहरूमा महिलामाथि यौन दुर्व्यवहार भएका समाचारहरू आउने गरेका छन् ।

महिलाहरूमाथि हुने यौन दुर्व्यवहारका धेरै कारक तत्त्व छन् जसको निवारणका लागि प्रभावकारी कार्यक्रम आवश्यक छ । सबैभन्दा पहिले त महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । महिलालाई अझै उपभोगको वस्तुका रूपमा हेर्ने प्रवृत्तिमा आमूल परिवर्तन हुनुपर्छ । अहिले सिनेमाहरूमा पनि यौन दुर्व्यवहारका प्रशस्तै दृश्य देखाइएका हुन्छन् जसको नक्कल युवाहरूले गरेको देखिन्छ । उनीहरूले बोल्ने संवादहरूमा पनि सिनेमाको प्रशस्त प्रभाव देखिन्छ । यसैले सिनेमाका दुष्प्रभावहरूलाई रोक्नेबारे पनि अभिवावकले ध्यान पुर्‍याउनु जरुरी छ । घरदेखि नै हामीले आफ्ना छोराछोरीलाई महिलाप्रति सम्मान गर्नुपर्ने कुरा सिकाउनु जरुरी छ ।

विभिन्न कार्यस्थलमा पनि महिलाप्रति गर्नुपर्ने व्यवहारबारे प्रशस्त जानकारी गराउनु आवश्यक छ । मर्यादा उल्लंघन गर्नेहरूलाई सजाय पनि दिनुपर्छ । यौन दुर्व्यवहार हुन्छ भनेर हामी महिलालाई घरको कोठाभित्र थुनेर राख्न सक्दैनौं र राख्नु पनि हुँदैन । यो पनि मानवअधिकार विरोधी कार्य हो तर कसरी महिलाहरू सुरुक्षित हुन सक्छन् भन्ने प्रयत्न गर्नु जरुरी छ ।

महिलाहरूमाथि हुने यौन दुर्व्यवहारविरुद्ध सरकार चनाखो हुनु त्यतिकै आवश्यक छ । महिलाहरूलाई सडकमा हिंड्दा यौन दुर्व्यवहार गर्नेहरूमाथि प्रहरीले कडा निगरानी राख्ने र आवश्यक परेमा तत्कालै कारबाही पनि गर्नुपर्छ । यसो भएमा मात्र अपराध नियन्त्रण हुन सक्ने वातावरण सिर्जना हुन सक्छ। महिलाहरूले पनि आफूमाथि दुर्व्यवहार भएको खण्डमा तत्कालै परिवार, साथीभाइ वा सम्बन्धित निकायमा जानकारी गराउने प्रयास गर्नुपर्छ । महिलामाथि हुने हिंसा हेर्ने निकायले पीडितको उजुरीलाई लिने र गोप्यतालाई कायम राख्न सक्नुपर्छ । यसो भएको खण्डमा उजुरी गर्ने संख्यामा तीव्र वृद्धि हुन सक्छ ।

यौन दुर्व्यवहारसम्बन्धी कानून पुनरावलोकन गरी समयसापेक्ष कानुन निर्माण गर्नुपर्छ । महिलाहरूले ढुक्क भएर हिंडडुल गर्न सक्ने वातावरण सिर्जना हुनुपर्छ, अनि मात्र उनीहरूले आफ्नो व्यक्तित्वको विकास गर्न सक्छन् । अहिले सबैभन्दा पहिले यौन दुर्व्यवहारसम्बन्धी प्रभावकारी कानून र त्यसको कार्यान्वयन आवश्यक छ ।

महिला र बालबालिकाहरू सँधै हिंसाको जोखिममा छन् । उनीहरू आफ्नो परिवार वा नजिकैका आफन्तबाट पीडित भएका कैयौं घटनाहरू समाचारमा प्रकाशित भइरहेका छन्। धेरैजसो महिलाको हत्या र हिंसामा आफ्नै लोग्नेको संलग्नता हुनुजस्तो दुःखपूर्ण घटना के हुनसक्छ? लोग्ने भनेको स्वास्नीमान्छेको ठूलो आधार हो। हाम्रो धर्म संस्कारले श्रीमतीलाई अर्धाङ्गिनीको रूपमा स्वीकार गरेको छ। एउटा महिलाले विवाह गरेर घर आएपछि उसले लोग्नेलाई पति परमेश्वर सम्झिएर उसमाथि ठूलो विश्वास गरेकी हुन्छे। तर महिलाको त्यो विश्वासलाई कुठाराघात गर्दै आफ्नो पतिबाट हत्या गरेका कैयौं घटना समाजमा बढ्दै जानु राम्रो संकेत होइन । वैदेशिक रोजगारीका कारण पनि एकअर्काप्रति समझदारीको अभावमा हिंसा बढ्दै आइरहेका छन् ।


समाजमा बढ्दै रहेका यस्ता विकृतिहरूविरुद्ध सबैको प्रयास आवश्यक छ। बलात्कारसम्बन्धी कानूनलाई अझ कठोर बनाउन जरुरी छ। बढ्दै गइरहेका बलात्कारका घटनाविरुद्ध महिलाहरूले मात्र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्दै आइरहेका छन् । आजीवन कारावास दिनुपर्ने पनि जोडदार आवाज उठाइरहेका छन् । निश्चय नै कानुनमा पुनरावलोकन आवश्यक छ, साथै कानूनी प्रावधानबारे पनि जनतालाई सञ्चारका विभिन्न माध्यमहरूबाट सूचना सम्प्रेषणको आवश्यकता छ।

बढ्दै गइरहेको बोक्सीको आरोपमा महिलालाई कुटपिटलगायत हत्यासमेत गर्ने गरेको घटनाहरूलाई ध्यानमा राखेर हालै बोक्सी कसुर विधेयक संसदमा पेस भएको छ। महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा प्रस्तुत बोक्सीसम्बन्धी कसुर तथा सजाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यस्तो कसुर गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्मको सजाय र पचास हजारदेखि एक लाखसम्मको जरिवाना गर्ने कुरा उल्लेख गरिएको छ।

यसैगरी बोक्सीको आरोपमा मलमूत्र खुवाउने, चारपाटा मुढ्नेलाई दस प्रतिशत सजाय हुने व्यवस्था छ। सरकारले महिलामाथि हुने विभिन्न हिंसाविरुद्ध शून्य सहिष्णुता अपनाउने नीति बनाए तापनि महिला हिंसाका शृङखलाबद्ध घटनालाई गम्भीर रूपमा लिनसकेको देखिँदैन। महिलाहरूका हिंसालाई रोक्न प्रहरी, प्रशासन र सिंगो समाज सचेत हुन जरुरी छ।

समाजमा घट्दै गइरहेको नैतिक मूल्य र मान्यतालाई जगाउने प्रयास हुनु जरुरी छ। किन आजका युवाहरू र पुरुषहरू हिंस्रक बन्दै गइरहेका छन् ? अश्लील पत्रपत्रिका, सञ्चारका अन्य माध्यमले के यस्ता हिंस्रक प्रवृत्तिलाई टेवा दिइरहेको छ त ? अहिले महिला र बालबालिकामाथि बढ्दै गइरहेको पाशविक हत्या, हिंसा, बलात्कार आदिले के अनिष्ट होला ? सोच्नु जरुरी छ।

विष्णु शर्मा, एबीसी नेपालकी अध्यक्ष हुन् ।

Loading...