पहिले छोरीमैत्री समाज बनाऊँ

मधु राई

“भाउजू, छोरीको बिहे गर्ने बेला भएन र ?” आफन्त र इष्टमित्रको यस्ता प्रश्नले मलाई बेलाबेला ‘हाम्रो समाज किन छोरीमैत्री हुन सकेको छैन ?’ भनेर सोच्न बाध्य तुल्याउँछ । डेढ वर्षअघि मात्र अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट पूर्ण छात्रवृत्ति पाएर पत्रकारिता विषयमा स्नातकोत्तर गरिन् छोरीले । छोरीको सफलता र विद्वताले हामी अभिभावकलाई गौरवान्वित तुल्याए पनि नेपाली समाज छोरीमैत्री नभएको कारण आफन्त र समाजलाई टाउको दुखाई भएको छ । यस्तै ‘पहिले शिक्षा अनि मात्र अरु कुरा’ भनेर हामी अभिभावकले भन्दै आएअनुसार हुर्किरहेकी छोरी र उसका जस्तै अधिकांश अभिभावकले पक्कै पनि मैले जस्तै तीतो अनुभव संगालिरहेको हुनुपर्छ ।

वास्तवमा पछिल्लो समय देशभित्रै होस वा बाहिर, उच्चशिक्षा हासिल गर्ने हाम्रा छोरीहरूको संख्या कछुवाकै गतिमा भएपनि बढ्दैछ । यसरी छोरासरह उच्चशिक्षा हासिल गरेका वा गरिरहेका छोरीहरूको इच्छा र आकांक्षा पनि छोरासरह हुनेकुरा बहुसंख्यक अभिभावकले अझै पनि बुझ्न र सोहीअनुरुप व्यवहार गर्न सकेका छैनन् । अझ कतिपय समुदायमा अभिभावकहरू पहिले एसएलसी र अहिले प्रमाणपत्र तह छिचोलेपछि छोरीलाई कसरी उच्चशिक्षा दिलाउनेभन्दा पनि ज्वाइँ खोज्नतिर लाग्ने गरेको पाइन्छ । यस्ता कतिपय अभिभावकहरू “ज्वाइँले पढाइ हाल्छन् नि ।” भन्दै छोरीलाई चाँडोभन्दा चाँडो अन्माउन हतारिन्छन् ।


यस्तै एकपटक मेरै कर्मचारी बहिनीलाई स्नातक तह पढ्दै गरेकी छोरीको बिहे गर्ने तर्खर गर्दा “यसो पढाइ पूरा गरेपछि बिहे गरिदिनुभए हुन्थ्यो नि !” भनेर सल्लाह दिँदा “के गर्नु म्याम मागेको माग्यै गरे धरै पाइएन ।” भनेर जवाफ दिइन् । उनको जवाफले मलाई धेरैदिन रिड्डाइरह्यो । एक्काइसौं शताब्दीमा पनि छोरीलाई मागेर पाइने वस्तुको रुपमा हुर्काइरहेका र माग्ने जाने अभिभावकहरूलाई धिक्कार्न मन लाग्यो । यस्तो छ हाम्रो पितृसत्तात्मक नेपाली समाजको भित्री कुरुप अनुहार जहाँ आजपनि छोरीको अस्तित्व नस्वीकार्ने र वस्तुको रूपमा हुर्काउने परम्परा र कुसंस्कारलाई निरन्तरता दिइरहेका छन् आफ्नै जन्मदाताले । यसमा रुढीवादी सामाजिक संस्कार मात्र हैन वर्तमान शिक्षा पनि दोषमुक्त भने छैन । किनभने वर्तमान शिक्षाले छोरी जातिलाई वस्तुसरह हुर्काउने कुसंस्कारविरुद्ध लड्न सिकाएन ।


यस्तै के निजी, के सामुदायिक, वर्तमान शिक्षाले छोरीहरूलाई आफ्नो योग्यता र क्षमतामाथि विश्वास गर्न त सिकाएन सिकाएन आफ्नै अभिभावकले पनि छोरीहरूको शिक्षा र योग्यताको उचित मूल्याङ्कन गर्न नसक्दाको परिणाम भोग्न बाध्य छन् छोरीहरू । किनभने हिजोका दिनमा पढाइ पूरा नगरी अन्माइएका अधिकांश छोरीहरू परनिर्भर जीवन बिताइरहेका छन् ।

यस्तै कतिपय घरपरिवारमा छोरा र छोरीबीच विभेद गरिँदैन । अझ मातृसत्तात्मक कतिपय परिवारमा बुबाभन्दा आमाकै अरनखटनमा घरपरिवार चलिरहेको हुन्छ । तथापि कतिपय यस्ता परिवारमा आमाको अशिक्षा र अयोग्यताको कारण छोरीहरुले छोरीमैत्री परिवारमा हुर्कने अवसर पाएपनि कमैले मात्र उच्चशिक्षा हासिल गर्ने अवसर पाएका छन् । यस्तै गाउँघरको के कुरा गर्नु, शहरबजारमै हुर्केका छोरीहरुलाई आफ्नै अभिभावकले विभेदित वातावरणमा हुर्काइरहेका छन् । छोरालाई मात्र चिकित्सक, इञ्जिनियर र पाइलट बनाउने सपना देख्ने र छोरीलाई जेनतेन पढाएपनि ‘ज्वाँइको घर जानेले किन धेरै पढ्नुपर्‍यो ?’ भन्ने मानसिकता पालिरहेका छन् अधिकांश अभिभावकले ।

यस्तै गाउँघरमा अझैपनि छोरीलाई उच्चशिक्षा दिलाउने कुरा बहुसंख्यक अभिभावकले सोच्न पनि सक्दैनन् भने शहरबजारमा कतिपय छोरीहरुले छोरासरह स्कुले शिक्षा पाएपनि उच्चशिक्षा हासिल गर्ने बेला घरपरिवारले बाधा–व्यवधान खडा गरेको पाइन्छ । यस्ता कतिपय शिक्षित घरपरिवारमा छोरासरह नै उच्चशिक्षा हासिल गरेका कामकाजी बुहारीहरू भएपनि उनीहरुबाट परम्परागत भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा श्रीमान् लगायत सासू–ससुराले गर्ने गरेको पाइन्छ । यसो हुँदा पनि उच्चशिक्षा हासिल गरेका कतिपय छोरीबुहारीहरू आज बौद्धिक कर्ममा भन्दा पनि घरपरिवारको परम्परागत भूमिकामै आफ्नो अतिरिक्त समय खर्चन बाध्य छन् । यसरी शिक्षित छोरी–बुहारीहरूको विद्वता र क्षमताले घरपरिवारलाई सम्पन्न बनाएपनि उनीहरूको सामाजिक सक्रियता शून्यप्रायः छ । यसले समग्र विकास निर्माणको काममा नकारात्मक र दूरगामी प्रभाव पारिरहेको छ । किनभने विकास निर्माणको काममा शिक्षित छोरीबुहारीहरूले चासो चिन्ता नलिँदाको परिणाम भन्नुपर्छ आज, विकास निर्माणको काममा पुरुषहरूको हालिमुहाली बढ्दै गएको छ ।


के स्थानीय, के मूलधारे, के छापा, के विद्युतीय, अधिकांशले महिलाहिंसासम्बन्धी घटनाप्रधान समाचार लाई मात्र प्राथमिकता दिएको पाइन्छ । यस्ता समाचार पढ्दा, सुन्दा र हेर्दा साँच्चै अब नेपाली समाज छोरीमैत्री बन्न धेरैवर्ष कुर्नुपर्छ भन्ने लागेको छ नेपाल र नेपाली समाजलाई । आजपनि बाहिरबाट आधुनिक तर भित्र पितृसत्तात्मक समाज र घरपरिवारमा छोरीप्रतिको दृष्टिकोण र व्यवहार उस्तै छ । गाउँघरको के कुरा गर्नु शहरबजारमा हुर्केका शिक्षित छोरीबुहारी निर्धक्कसाथ घुमफिर गर्ने माहोल तयार गर्न सरकार चुकेको छ । विडम्बना भन्नुपर्छ नेपाल र नेपालीले प्रधानन्यायाधीश र राष्ट्रपतिको रूपमा महिला पाए पनि गणतन्त्र नेपालले महिलामैत्री सुशासन पाउन सकेको छैन ।

वास्तवमा महिलामैत्री शासन व्यवस्था भएमात्र छोरीमैत्री समाज निर्माण हुन्छ भन्ने उदाहरण स्वीडेन र फिनल्याण्डले पेश गरेका छन् । महिलामैत्री शासन व्यवस्था भएकै कारण ती देशका ८०/८५ प्रतिशत महिलाहरू कामकाजी बन्न सकेका छन् । यसरी समृद्धि र विकासको जुनसुकै काममा महिला र छोरीहरू को सहभागिता हुने हो भने नेपाल र नेपालीले पनि धेरै वर्ष कुर्नु पर्दैन, विकासको अनुभूति गर्न ।

यस्तै गतवर्षदेखि विराटनगर महानगरपालिकाले ‘छोरी बचाऊ’ भन्ने अभियान थालेको छ । जसअन्तर्गत पहिलो सन्तान छोरी जन्माउने दम्पतिलाई रु ३ हजार र कदरपत्र प्रदान गर्दै आएको छ । र दोस्रो सन्तान पनि छोरी जन्मे महानगरले रु २५ हजार मुद्दती खातामा राखिदिने र यस्तो रकम १६ वर्ष पुगेपछि दिने भन्ने घोषणा गरेको छ । विराटनगर महानगरपालिकाले जस्तै दुई नम्बर प्रदेशले पनि ‘बेटी बचाऊ, बेटी पढाऊ’ भन्ने कार्यक्रम ल्याएको छ । यी र यस्ता सरकारी कार्यक्रमले मात्र छोरीमैत्री परिवार र समाज बन्दैन । यसका लागि छोरीबुहारी र महिलामैत्री सुशासन चाहिन्छ । यसका लागि घरपरिवार र समाजको छोरी र महिलाप्रतिको पुरातन दृष्टिकोण फेरिनु जरुरी छ ।

Loading...