visit-nepal

ग्लोबल रकेट लन्चमा मकालु एकेडेमी सहभागी

विराटनगर २३ पुस । एपोलो ११ यान चन्द्रमामा अवतरण गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा यूएस स्पेस एण्ड रकेट सेन्टर अमेरिकाले आयोजना गरेको ग्लोबल रकेट लन्च कार्यक्रममा विराटनगर १ को मकालु एकेडेमीले सहभागी भएको छ ।

३ जना मानवसहित एपोलो ११ यान १६ जुलाई १९६९ का दिन चन्द्रमाको सतहमा कुसल अवतरण गरेको थियो । यानमा रहेका बज एल्ड्रिन, माइकल कोलिन्स र निल आर्मस्ट्रङमध्ये निलले पहिलोपटक चन्द्रमाको सतहमा पाइला टेकेको विश्वास गरिन्छ ।

मानव जातिले पहिलोपटक चन्द्रमामा पदार्पण गरेको पचास वर्ष पूरा गरेको खुशियालीमा स्पेस क्याम्प आयोजना गरी विश्वभरिबाट एकैपटक धेरैभन्दा धेरै रकेट लन्च गर्नका लागि यूएस स्पेस एण्ड रकेट सेन्टर अमेरिकाले इच्छुक सबैलाई आव्हान गरेको थियो ।

मकालु एकेडेमी विराटनगरका प्रिन्सिपल रामप्रसाद पौडेलले सन् २०१९ को मेमा अमेरिकाको अलाबामा राज्यस्थित रकेट सेन्टरको अवलोकन गरी ग्लोबल रकेट लन्चमा मकालु एकेडेमीको सहभागिताका लागि पहल गरेका थिए ।

१६ जुलाई २०१९ का दिन विश्वभरि नै एकैसाथ रकेट लन्च गर्ने योजना रहे पनि मकालु एकेडेमीको सवालमा भने ५ जनवरी २०२० मा मात्रै रकेट लन्च सम्भव भएको हो ।

यूएस स्पेस एण्ड रकेट सेन्टर अमेरिकाका प्रतिनिधि मण्डल विराटनगरस्थित मकालु एकेडेमीको भ्रमण गरी विद्यालयका ३१ जना विद्यार्थीहरूलाई वाटर रकेट लन्च सम्बन्धी तालिम दिएका थिए ।

तालिमपछि ३१ जना विद्यार्थी र केही शिक्षकहरूले मकालु स्कूलको आँगनमा वाटर रकेट लन्च गरेका थिए । प्रतिनिधि मण्डलले मकालु एकेडेमीलाई सहभागिताको प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।

रकेट लन्चपछि आफ्ना विद्यार्थीहरूले व्यवहारिक ज्ञान हासिल गर्न पाएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिँदै प्रिन्सिपल पौडेलले सिकाइहरूको अभ्यास गर्दै जाने बताए ।

Loading...