नयाँ दिल्ली २२ पुस । भारतको चर्चित बलात्कार काण्ड निर्भयाको सामूहिक बलात्कार घटनाको दोषीलाई ८ माघमा फाँसी दिने भएको छ ।
बलात्कारी ठहर भएका चार जनालाई ८ माघ (२२ जनबरी)मा फाँसी दिन पटियाला हाउस अदालतले आदेश दिएको हो ।
१६ डिसेम्बर २०१२ मा नयाँ दिल्लीमा मेडिकल पढिरहेकी युवती निर्भयाको बलात्कार पछि हत्या गरिएको थियो ।
सामूहिक बलात्कार तथा हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई ८ माघ बिहान ७ बजे फाँसी दिन आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अदालतको आदेशपछि अभयाकी आमा आशादेवीले छोरीले न्याय पाएको बताइन् । यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो।
अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए। गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो।
सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कार गरेको थियो। बलात्कारपछि उनको हत्या भएको थियो।