अष्ट्रेलिया, २२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् । भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय रूपमा मंगलबार अष्ट्रेलियामा औपचारिक शुभारम्भ गर्दै उनले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरेका हुन् ।
प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उनले भने, ‘लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।’ नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उनले नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिए । काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको उनले बताए ।

दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको उनको भनाइ थियो । आफ्नो मन्तव्यको शुभारम्भमा नै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरुप्रति समवेदना प्रकट गरे ।
छिट्टै डढेलो नियन्त्रणमा आएर यहाँको जानजीवन सहज हुने पनि उनले विश्वास व्यक्त गरे । सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गरे ।
अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासङ्घका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ । गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ ।
यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो । रासस