नेपालको नदी विपत्ति हैन सम्पत्ति बन्नुपर्छ

सरोज पोखरेल

विश्वको कूल क्षेत्रफलमध्ये एक तिहाई जमिन र दुई तिहाई पानीले ओगटेको छ । पानी मानव जीवनको अभिन्न प्राकृतिक स्रोत हो । हरेक सजीवका लागि पानी प्राण हो भन्दा पनि फरक नपर्ला । प्रकृतिको निःशुल्क उपहार पानीका विभिन्न स्रोतमध्ये नदी पनि एक प्रमुख  हो । प्राचीनकालमा विकास भएका मानवीय सभ्यताको विकासक्रमको प्रमुखस्थल नै नदी, नदी किनार र आसपासका क्षेत्रहरू हुन् । मिश्रको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धुघाँटीको सभ्यता, ह्वाङ्हो नदीको सभ्यता आदि सबै सभ्यता नदी किनारामा मै विकसित भएका हुन् । त्यसकारण नदी मानव विकास क्रमसँगै वर्तमान आधुनिक सभ्यतामा पनि महत्त्वपूर्ण रहेको छ र मानव जीवनको  विकासक्रमसँगै अत्यावश्यक रहँदै आएको छ ।   

हाम्रो देश बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक हो । यहाँ विभिन्न किसिमका धर्म मान्ने मानिसहरूको बसोवास छ । अधिकांश धर्महरूले प्रकृतिको पूजा गर्ने र प्रकृतिमाथि आस्था र सद्भाव राख्ने गर्दछन् । पहिले नदी, कुवा, खोला, रुख इत्यादिको पूजा गर्दै प्राकृतिक प्रकोप नहोस् भन्ने कामना गर्ने गरिन्थ्यो तर आज कम हुँदै गएको छ । प्रकृतिको संरक्षण गर्नुको सट्टा प्रकृतिमाथि नै आजकल व्यक्ति तथा समुदायले नियन्त्रणको अनुचित प्रयास गरिरहेका छन् ।

देश तीन किसिमको भौगोलिक वनावट हिमाल, पहाड र तराई मिलेर बनेको छ । यी तीनै क्षेत्रमा कुनै न कुनै नदीको उद्गम स्थल र आश्रयस्थल रहेको छ । यहाँ ६००० भन्दा बढी नदीहरू रहेका छन् र यी सबै नदीमा कुनै न कुनै समुदाय, प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका छन् । नदी कृषि उत्पादनको महत्त्वपूर्ण प्राकृतिक आधार हो । मौसमअनुसार नदीमा पानीको वहाव घटबढ हुनु स्वभाविक हो । नदीजन्य प्रकोप र समस्या हिमालमा भन्दा पहाडमा, पहाडमा भन्दा तराईमा विकराल बन्दै गइरहेको छ । सामान्यतया मनसुन भित्रिएर वर्षात भएपछि खोला, खोल्सा र नदीहरू सुसाउनु  स्वभाविक हो तर परिस्थिति यति जटिल बनेको छ कि वर्षात् भयो तटीय क्षेत्रमा बसस्थान र धनजनको नाश हुन्छ कि भन्ने त्रास पैदा हुन्छ र अन्त्यमा त्रास यथार्थमा परिणत हुन पुग्छ । जल र जमिन मानव जीवनको आधारस्तम्भ हो तर हाम्रो प्रकृतिमाथिको अत्याचारको कारणले यही जल र जमिनले जीवनलिला नै समाप्त पारिदिने गरेको छ ।            

हामी नेपाली बढीभन्दा बढी प्रत्यक्ष वा परोक्ष रूपमा कृषिमा आश्रित छौँ । हाम्रो जीवनशैली र जीवनयापन अधिकांश समय जल र जमिनभन्दा बाहिर रहन सक्दैन । नदीले हिमालभन्दा पहाड र पहाडभन्दा तराईमा बढी सिञ्चित गरेको छ  । तर बर्सेनि त्यही नदी र त्यही वर्षाले धेरैलाई घरवारविहीन र भावविह्वल बनाउँछ । हाम्रो जस्तो आम्दानिको स्रोत कम भएको मुलुकका लागि त अर्वोँ रकम बाढीपीडित, पहिरोपीडित, डुबानपीडितलगायतका विभिन्न पीडितका लागि राहत बाँड्दै सकिने गरेको छ । बर्सेनि यही क्रम निरन्तर चलिरहेको छ र चलिरहने छ । नदीले विपत निम्त्याएको समयमा यसलाई रोकथाम र क्षति न्यूनीकरण गरिन्छ भन्दै सरकार र सम्बन्धित निकायहरू आश्वासन दिन पछि पर्दैनन् तर उनीहरूको आश्वासन “झ्याउँकिरी कराएजस्तो” भइसक्यो । एक सिजन कराउँछ, हराउँछ अनि फेरि सिजन आएपछि कराउन थाल्दछ । हाम्रो राजनीतिक नेतृत्त्व पनि नदीको सदुपयोग गरी आम्दानीको रूपमा प्रयोग गर्नेभन्दा दुरुपयोग गरी दुर्घटना निम्त्याई पीडित र राहतमाथि घृणित राजनीति गर्न उद्यत छन् ।             

        हिमाल र पहाडमा विनामापदण्ड जथाभावी खनिने सडकले केही व्यक्तिको वाञ्छित स्वार्थ पूरा गरेतापनि पर्यावरणीय सन्तुलनमा भने जटिलता निम्त्याएको छ । वर्तमान समयमा स्थानीय तहको काम भनेको विनामापदण्ड डोजर लगाएर जमिन कोट्याई अव्यवस्थित सडक निर्माण गर्नु मात्रै रहेको छ  । तर यसले गर्ने वातावरणीय असरबारे उनीहरूलाई मतलव नै छैन । यसरी हिमाल र पहाडमा हुँदै आएको अवैज्ञानिक जमिन कटानका कारणले तटीय क्षेत्रमा प्रत्येक वर्ष वर्षायाममा नदीले बितण्डा मच्चाउने गरेको छ र जीवन नै कठिन बनाउँदै छ । प्राय: सहरी क्षेत्र र शहर भनिने क्षेत्रमा नदीले वर्षायाममा प्रकोप निम्त्याउँछ । नदीले आफ्नो सीमाना आफैँ निर्धारण गरेको हुन्छ । तर त्यही सीमानालाई हामी सामान्य सम्झेर ११ महिना राज गर्छौँ र एक महिना पीडित हुन्छौँ । हामी खोलालाई कुलोको रूप दिन्छौँ नदीले चर्चेको क्षेत्र अतिक्रमण गर्छौँ अनि बाढी वस्तीमाथि नबगेर कहाँबाट बगोस् ? हामी आफैँ नदी क्षेत्र अतिक्रमण गरी वस्ती विकास गर्छौँ, अनि वस्ती डुबान भयो राहत चाहियो भनेर लम्पसार पर्छौं ! खोला वस्तीमा नपसी वस्तीनै खोलामा पसेको हुँदा किन राहत दिनुपर्‍यो ? सरकारी निकाय, राजनीतिक नेतृत्त्व र सरकार पनि बर्सेनि बाढीपीडितलाई राहतको नाममा पाल र चाउचाउ बाँडेर रबैया देखाउनुभन्दा यसको दीर्घकालीन समाधान र रोकथाम गर्नतिर लाग्दा नदीको यति धेरै बदनाम हुँदैन थियो कि ?

                हामी परापूर्व कालदेखि प्रकृतिको पूजा गर्दै आएका हौँ । पूर्वजले संरक्षण गरेको प्रकृतिको वर्तमानमा सन्ततिले नाश गर्दै गयौँ र त्यसैको परिणाम भोग्दै छौँ । नदीलाई नदीकै बाटोमा बहन दियौँ र नदीको बहन क्षेत्र अतिक्रमण नगरी वस्ती र पूर्वाधारको विकास गर्‍यो भने बाढीपीडित र डुबान समस्या धेरै मात्रामा न्यूनीकरण हुन्छ । विकासका नाममा जथाभावि सडक बनाउँदा जमिन थर्कने र वर्षातमा त्यही जमिन खसेर बाढी, पहिरो जस्ता प्रकोप निम्तिने गरेको छ । महाभारत पर्वतमा खनिएका पर्यावरण प्रतिकूल सडकले चुरे क्षेत्रमा खानेपानीको सङ्कट निम्तिने खतरा बढेको छ । चुरे क्षेत्रमा भएको वन र जमिनमाथिको दोहनले बाढीको समस्या बढ्दै गएको छ । फलस्वरुप वर्षायाममा मुसलधारे वर्षा हुँदा जथाभावि कोतरिएका जमिन बग्दै खहरेमा परिणत हुन्छन् र भौतिक संरचना साथै मानव जीवन उथलपुथल पार्न पछि पार्दैनन् ।

हाम्रो देशमा यति अथाहरुपमा रहेको जलसम्पदा अर्थात् नदीको अहिलेसम्म समुचित र भरपुर उपयोग हुन सकेको छैन । न त नदीको प्रयोगसम्बन्धी सरकारी नीति नै छ । स्पष्ट सरकारी नीति नहुँदा नदीको जथाभावि दुरुपयोग भई सङ्कट र समस्या निम्तिँदै गएको छ । नदीको बहन क्षेत्र अतिक्रमण हुँदै गएको र छिमेकीले आफ्नो स्वार्थ र सुरक्षाका लागि सीमानजिक बाँध बाँधेको र आवश्यक समयमा नखोलिने हुँदा बर्सेनि तराईका सीमावर्ति क्षेत्रमा डुबान हुने गरेको छ । हिन्दू धर्ममा नदीलाई पवित्र मानी पूजा  गरिन्छ तर आजकल मानिसको अतिरञ्जित क्रियाकलापको कारणले नदी फोहोर र अस्तव्यस्त भई बदनाम बन्न पुगेको छ । यो नदीले बगायो, ऊ नदीले गााउँ डुबायो भनेर, हामीले प्राकृतिक स्रोत र साधनमाथि गरेको अनावश्यक दोहनले बर्सेनि प्राकृतिक प्रकोप बढ्दै गएको छ । सडक निर्माण गर्न, मर्मत तथा विस्तार गर्न रुख काट्ने सडक विभागको नयाँ रुख रोप्ने कुनै योजना वा कार्यक्रम नै हुँदैन । फलस्वरुप जमिन कमजोर हुने र बाढी पहिरोको रूप लिई धनजनको क्षति हुने गर्दछ । तराईको शहरी क्षेत्रमा नदी अतिक्रमण गरेर बसेका वस्तीले हरेक बर्खामा सास्ति भोग्दै आएका छन् तर सम्बन्धित निकाय र राजनीतिक दलहरू राहतको नाममा घृणित राजनीति गर्दै पीडितको भावनामाथि खेलवाड गरिरहेका छन् । समस्याको दीर्घकालीन समाधान गर्नुभन्दा राहत बाँडेको नाटक गर्दै सेल्फी खिचेर रमाउने प्रचलन बढ्दै गएको छ । बर्सेनि राहतमा खर्चिने रकमले दीर्घकालीन समाधान निकालेमा पीडितको घाउ पुनः बल्झँदैन थियो कि ? स्थानीय तहका जनप्रतिनिधि, जनप्रतिनिधिभन्दा पनि ठेक्कापट्टा प्रतिनिधिको रूपमा प्रस्तुत भएका छन् । उनीहरूको परोक्ष सहभागितामा र आसेपासेले नदीको स्वरुप नै बिग्रने गरी निर्धारित मापदण्डभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्ने गरेका छन् । जसको कारण नदीको प्राकृतिक स्वरुप बिग्रने र प्रकोप निम्तिने गरेको छ । यसरी नै नदी बदनाम बन्दै विपत्ति बन्न पुगेको छ ।

हाम्रो मुख्य जलसम्पदा अर्थात् नदीको समुचित उपयोग गर्न सकेमा नदी विपत्ति हैन सम्पत्ति र भरपर्दो स्रोत बन्छ । कतिपय देशमा नदीलाई कानुनी हैसियतसमेत प्रदान गरिएको छ । हाम्रोमा पनि नदी क्षेत्र मापन गरी त्यसबराबर बाढी नियन्त्रण गर्ने प्रकृतिका बोटबिरुवा हुर्काउने गर्दा बाढी नियन्त्रण गर्न सकिन्छ । त्यसैगरी नदी आसपासमा भरसक बस्ती नबसाउने र बस्नैपर्ने भएमा जोखिम मूल्याङ्कन गरेर मात्र बसाउनु पर्दछ । नदीलाई बहुआयामिक आम्दानीको स्रोत बनाइनु पर्दछ । विकास निर्माण पर्यावरणमैत्री गरौँ । पानीका स्रोत र मुहानको संरक्षण गरौँ । नदीको बहन क्षेत्र निर्धारण गरी आवश्यक परेमा बाँध बाधौँ । नदीमाथि गरिने राजनीति र अतिक्रमण बन्द गरौँ । नदीलाई सम्पत्ति कि विपत्तिको रूपमा प्रयोग गर्ने त्यो हाम्रै नदीप्रतिको व्यवहार र प्रयोग गर्ने  तरिकाले पुस्टि गर्नेछ ।        

Loading...