काठमाडौं २१ पुस । खाडी क्षेत्रका चार देशका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम काउन्सिलर र श्रम सहचारी सिफारिश गरेको छ ।
मन्त्रालयले साउदी अरेबियाको श्रम काउन्सिलरमा उपसचिव जीवनकुमार राई,संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापा, बहराइनको श्रम सहचारीमा शाखा अधिकृत दामोदर दाहाललाई सिफारिश गरेको प्रवक्ता डा. नारायण रेग्मीले बताए । कतारका लागि अनुज गौतमलाई सिफारिश गरिएको उनले जानकारी दिए ।
सिफारिश गरिएको काउन्सिलर र सहचारी परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशमा रहेको नेपाली नियोगमा जाने छन् ।
काउन्सिलर र सहचारीको दरबन्दी श्रम मन्त्रालयमै हुनेछ भने काम कारबाही परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ । उनीहरुले हरेक महिना श्रम मन्त्रालयमा मासिक प्रगति विवरण पठाउने छन् ।
झण्डै दुई वर्षअघि काउन्सिलर र सहचारी छनोटको प्रक्रिया सुरु भएको थियो ।
श्रम सहचारीले नेपाली कामदार रहेका देशको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानव अधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदमबारे नेपाल सरकारलाई जानकारी दिने छन् ।