‘स्टारलिंक’ भू–उपग्रहले ब्रह्माण्डमा असर पार्ने खगोलविद्हरूको चेतावनी

विराटनगर, २१ पुस । अमेरीकी निजी कम्पनी स्पेश एक्सले तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ निमार्ण सुरु गरेको ‘स्टारलिंक’ नामक भू–उपग्रह विश्वभरिका खगोलविद्हरूको टाउको दुखाइको विषय बनेको छ ।

अन्तरिक्षमा निमार्ण सुरु गरिएको भू–उपग्रहका तारामण्डलले पृथ्वीबाट देखिने ब्रह्माण्डको दृश्यमा असर पार्ने खगोलविद्हरू चेतावनी दिइरहेका छन् । नयाँ वर्ष २०२० को पहिलो साताबाट नै हजारौँ नयाँ भू–उपग्रहहरू स्टारलिंक बनाउनका निम्ति अन्तरिक्षमा पठाउन थालिने भएको छ । तीव्र गतिमा इन्टरनेट सेवा प्रदान गर्ने लक्ष्यसहितको यो अभियानले केही दिनभित्रमा नै तीव्रता पाउने स्पेश एक्सको आधिकारिक वेभासाइटमार्फत् उल्लेख गरिएको छ । पहिलो चरणमा ६० भू–उपग्रहलाई अन्तरिक्ष कक्षमा पठाइसकेको स्पेश एक्सले जनवरी ७ बाट हरेक दुई साताको अन्तरालमा भू–उपग्रहलाई अन्तरिक्ष कक्षमा पठाउने व्यवस्था गरेको छ ।

स्टारलिंक निमार्ण गर्न पृथ्वीबाट भू–उपग्रह अन्तरिक्षसम्म लैजानका निम्ति स्पेश एक्स आफैंले डिजाइन र निर्माण गरेको फाल्कन ९ (रकेटको नाम) ले हरेक पटक ६० वटा भू–उपग्रहहरू अन्तरिक्ष कक्षसम्म पुर्‍याउने छ । २०२० को मध्यसम्ममा १२ हजार भू–उपग्रह लैजाने लक्ष्य राखेको स्पेश एक्सले सङ्ख्यालाई ४२ हजारसम्म बिस्तार गर्ने दीर्घकालीन योजनासमेत बनाएको छ ।

पहिलो चरणको प्रक्षेपणमा ६० भू–उपग्रह मात्र पठाइए पनि यसले अन्तरिक्षको रातको दृश्यमा प्रभाव पार्न थालेको खगोलविद्हरू बताउँछन् । ताराजस्तै चम्किलो देखिएपछि स्पेश एक्सद्वारा निर्माणाधीन स्टारलिंक खगोलविद्हरूको टाउको दुखाइको विषय बन्न पुगेको हो । इम्पेरियल कलेज, लण्डनका भौतिक खगोलशास्त्री डा.डेभ क्लेमेन्ट्स भन्छन् ‘रातको आकाश प्रायः साधारण नै हुन्छ तर कुनचाहिँ साधारण हो भत्रे छुट्टयाउन नै हामीलाई गाह्रो हुन थालेको छ । यसै कारण हामी खगोलविद्हरूमा त्रास उत्पत्र भएको हो ।’

‘भू–उपग्रहका आकार एउटा सानो टेबल जत्रो मात्र छ तर तिनीहरू एकदमै परावर्तनशील छन्, तिनीहरूमा प्रयोग भएका प्यानलहरूमा घामको प्रकाश अत्यधिक परावर्तन गर्ने क्षमता भएकाले नै पृथ्वीबाट टेलिस्कोपले हेर्दा देखिने गर्छ,’ रोयल अब्जर्भेट्री ग्रीनविचका खगोलविद् तारा पट्टेल भन्छिन्, ‘आकार सानो भएपनि परावर्तनशील भएर राति अन्तरिक्षमा हेर्दा देखिने भएकाले समस्या उत्पत्र हुन थालेको हो ।’

स्टारलिंक निर्माणमा प्रयोग हुने भू–उपग्रहहरूले अत्यधिक मात्रामा रेडियो तरंग पनि प्रयोग गर्ने हुँदा खगोलविद्हरूले अनुसन्धान र सञ्चारका लागि प्रयोग गर्ने रेडियो तरंग प्रणालीहरूमा बाधा उत्पत्र हुन सक्ने देखिन्छ । यसले रेडियो खगोल विज्ञानमा समेत समस्या पैदा गर्ने खतरा देखिएको पट्टेल बताउँछिन् । खगोलविद् पट्टेल भन्छिन्, ‘अन्तरिक्ष कक्षमा भू–उपग्रहहरूको सङ्ख्यासँगै यसले निम्त्याउने समस्याहरूको पनि वृद्धि हुनेछ त्यसका निम्ति अहिलेबाट नै सजग रहनुपर्ने हुन्छ ।’

किन हुँदैछ यत्तिका धेरै भू–उपग्रह प्रक्षेपण ?

यसको एउटै उत्तर हो, तीव्र गतिको इन्टरनेट सेवाका लागि । तार र केवलको माध्यमद्वारा इन्टरनेटको विस्तार गर्नुभन्दा अन्तरिक्षबाट इन्टरनेट सेवा प्रवाह गर्न सके बढी क्षेत्रमा इन्टरनेटको पहुँच सजिलैसँग पुग्छ । अन्तरिक्ष कक्षमा धेरैभन्दा धेरै इन्टरनेट सेवा प्रदान गर्ने भू–उपग्रह हुनु भनेको विश्वको जुनसुकै भूभागबाट पनि इन्टरनेटको प्रयोग गर्न सक्नु हो ।

अहिले पृथ्वीको कक्षमा २२ सय भू–उपग्रहहरू सक्रिय रूपमा घुमिरहेका छन् । अमेरिकी कम्पनी स्पेश एक्स एक्लैले सन् २०२० सम्ममा १२ हजार भू–उपग्रह अन्तरिक्ष कक्षमा पु¥याउने लक्ष्य सार्वजनिक गरिसकेको छ । युकेको अर्को कम्पनी वान वेभले ६ सय ५० वटा भू–उपग्रह लैजाने लक्ष्य बनाइरहेको बेला विश्वविख्यात कम्पनी अमेजनले ३, हजार २ सय भू–उपग्रहको तारामण्डल बनाउने योजना बनाइरहेको छ ।

कसरी पार्न सक्छ स्टारलिंकले खगोलविद्हरूलाई अनुसन्धानमा असर ?

‘स्टारलिंकले ब्रह्माण्डको अनुसन्धानमा प्रत्यक्ष असर पार्छ,’ भौतिक खगोलशास्त्री डा.डेभ भन्छन्, ‘ब्रह्माण्डको अग्रभागमा स्टारलिंकलाई देखिन्छ जसले गर्दा पृथ्वीबाट ब्रह्माण्ड हेर्दा देखिने दृश्यमा अवरोध हुन्छ र हामीले हेर्न खोजेको कुरामा यसले असर पुर्‍याउँछ । साथै सम्भावित खतरनाक क्षुद्रग्रह वा टाढाको क्वेजार (चमकदार सक्रिय ग्यालेटिक न्यूक्लियस) पत्ता लगाउन पनि हामी चुक्ने छौं ।’

चिलीमा निमार्णाधीन लार्ज स्नोप्टिक सर्भो टेलिस्कोप (एल.एस.एस.टि) को अनुसन्धानमा समेत यसले अवरोध ल्याउने कुरामा उनी चिन्तित छन् । लीस्टर विश्वविद्यालयका भौतिक खगोलशास्त्री एवंम् प्राध्यापक मार्टिन बारस्टो भने स्टारलिंकले उत्पत्र गराउने समस्याको समाधान गर्न सकिने बताउँछन् ।

‘स्टारलिंक निर्माणमा चाहिने भू–उपग्रहको सङ्ख्या अत्यधिक छ तर ब्रह्माण्ड यति ठूलो छ कि स्टारलिंकको घनत्वले खासै समस्या पैदा गराउन सक्दैन,’ उनी भन्छन्, ‘अन्तरिक्षमा भू–उपग्रहको स्थान थाहा हुने भएकाले यसले निम्त्याउन सक्ने समस्यालाई हामी कम गर्न सक्छौं । तस्बीरमा भू–उपग्रह स–साना चम्किलो थोप्लो जस्तो मात्र देखिन्छन्, स्टारलिंक अन्तरिक्षको कुन स्थानमा रहन्छ त्यसको बारेमा थाहा हुने भएकाले अनुसन्धानमा प्रयोग गरिने तस्बीरहरूबाट स्टारलिंकलाई सजिलै हटाउन सकिन्छ । तर त्यसका लागि निकै मिहिनेत र धैर्यचाहिँ गर्नुपर्ने हुन्छ ।’

प्राध्यापक मार्टिनका अनुसार भू–उपग्रहले प्रयोग गर्ने र खगोलविद्हरूले प्रयोग गर्ने रेडियो तरंग फरक हुने भए पनि ‘स्टारलिंक’ जस्ता भू–उपग्रह तारामण्डलले अनुुसन्धानमा चाहिँ पक्कै असर गर्नेछ ।

के भन्छन् भू–उपग्रहका तारामण्डल निर्माण गर्ने कम्पनीहरू ?

तारामण्डल निर्माणमा संलग्न कम्पनी स्पेश एक्सले ‘स्टारलिंक’ ले गर्दा असर परेको क्षेत्रमा विशेष निगरानीका साथ समस्या न्यूनीकरण गर्न खगोलविद्हरूसँग सहकार्य गरिरहेको बताएको छ । अर्को प्रक्षेपणका लागि विशेष लेप लगाइएका प्यानलहरूको प्रयोग गरिने र प्यानलहरू कम परावर्तनशील हुने भएकाले यो पहिलेका भू–उपग्रहभन्दा कम चम्किलो हुने र ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा पर्न सक्ने असरमा कमी आउने कम्पनीको पूर्ण विश्वास छ ।

अन्तरिक्षको जिम्मेवार, दूरदर्शी नेतृत्व गर्ने उद्देश्य बोकेको अर्को सञ्चार कम्पनी ‘वान वेभ’ले भने आफ्नो सबै भू–उपग्रहहरुलाई अन्तरिक्षको १२०० किमीको कक्षमा राख्ने कार्य सुरु गरिसकेको छ र यसलाई २०२० को सुरुआतसँगै तीव्रता दिने भएको छ । १२ सय किमी क्षेत्रको कक्षमा राख्दा यसले ब्रह्माण्डको अनुसन्धानमा खासै असर नपार्ने वान वेभको ठम्याई छ ।

‘एक जिम्मेवार अन्तरिक्ष कम्पनी भएको नाताले हामीले असर नपर्ने कक्ष छनोट गरेका छौं, हामीले सुरुआतबाट नै विश्वका सम्पूर्ण खगोल क्षेत्रसँग सम्बन्धित निकाय र मानिसहरूसँग यस बारे बहस र छलफल गर्दै आईरहेका पनि छौं,’ वान वेभकी उपाध्यक्ष रुथ प्रिचर्ड केली भन्छिन्, ‘हामीले प्रयोग गर्ने भू–उपग्रहहरू अत्यधिक चम्किलो र परावर्तनशील पनि नहुने र यसले कुनै पनि किसिमको रेडियो तरंग प्रशारणमा असर, समस्या र हानी नपुर्‍याउने कुरामा हामी विश्वस्त छौं ।’

‘वान वेभ’ र ‘स्टारलिंक’को निर्माणसँगै विश्वले तीव्र गतिको इ्रन्टरनेट सेवा पाउने कुरामा दुईमत छैन । केली भन्छिन्, ‘चाहे त्यो अस्तित्वमा आईसकेका भू–उपग्रह प्रविधि होस्, मोबाईल सेवा प्रविधि होस् वा खगोल विज्ञान, हामी कसैलाई हस्तक्षेप गर्न वा समस्या दिन आएका होइनौँ । यो त आवश्यकताअनुसार समयको माग हो । र हामीलाई थाहा छ कि हामी सबै क्षेत्रसँग मिलेर सहमति र सहकार्यका साथ अघि बढ्नेछौ ।’

बीबीसीकाे सहयाेगमा

Loading...