पत्रपत्रिकामा प्रदेश : कृषिमा असमान अनुदान नीति

विराटनगर २१ पुस । संघ र प्रदेश सरकारको कृषि अनुदान नीति फरक फरक हुँदा संघीय सरकार मातहतका कार्यालयले सञ्चालन गरेको कृषि कार्यक्रम प्रभावित भएका छन् ।

प्रदेश १ सरकारले मंसिर अन्तिम साता स्वीकृत गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यविधि २०७६ मा किसानलाई जुनसुकै कार्यक्रममा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

तर संघीय सरकार मातहतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको कार्यक्रममा ५० प्रतिशत मात्रै अनुदान दिने व्यवस्था छ । संघ भन्दा प्रदेश सरकारले अनुदान प्रतिशत बढी दिएपछि परियोजनाको कार्यक्रम नै प्रभावित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विराटनगरका प्रमुख विनोदकुमार मण्डलले बताए ।

परियोजनाले मोरङमा माछा र मकै जोन सञ्चालन गरेको छ । परियोजनाले १ हेक्टरमा पोखरी खन्न ३ लाख अनुदान दिने तर प्रदेश सरकारले ५ लाख अनुदान दिन्छ ।

यसले गर्दा ५ लाख अनुदान छोडेर तीन लाख अनुदान लिन कृषक नआउने मण्डलले बताए । गत वर्ष पोखरी खन्न १ सय ५० आवेदन परेकोमा ५१ जना अनुदान लिन नै नआएको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

मीरगञ्ज पुल फेरि बन्द

‘ मीरगञ्ज पुल फेरि बन्द’ शिर्षकमा उद्घोष दैनिकले खबर छापेको छ । मर्मतका नाममा मीरगञ्ज पुलबाट हुने आवागमन फेरि बन्द गरिने भएको छ ।

शनिबार भारतको फारबीगञ्जमा बसेको नेपाली प्रतिनिधिहरु समेतको बैठकमा पुस २४ गतेदेखि माघ ६ गतेसम्म पुल बन्द गर्ने निर्णय भएको छ । यो समयमा दुई चक्के र तीन चक्केबाहेकका सवारी साधन सो पुलमा आवागमनमा रोक लगाइने छ ।

मीरगञ्ज पुल विराटनगर जोड्ने एक मात्र विकल्प हो । तर भारतीय पक्षले मर्मतको काम एकै पटक नगरी पटक पटक मर्मतको नाममा दुख दिँदै आएको छ । पुल बन्द नगर्न अनेकौं अनुनय विनय गर्दापनि भारतको सडक विभागले नसुनेको भन्सारका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

‘ बाबुआमा बेपत्ता, छोराछोरीको बिचल्ली’ शिर्षकमा ब्लाष्ट टाइम्समा मुख्य खबर छ । बाबु आमा बेपत्ता भएपछि सुनसरीको धरानका चार जना भाइबहिनी बिचल्ली भएको छ ।

धरानको १७ नम्बर वडामा बस्दै आएका आयुस भुजेल र उनका भाइबहिनी बेसाहरा बनेका हुन् । स्थानीय चारजना बेग्लाबेग्लै स्थानमा साहरा लिएर बसेका छन् । उनका दुई भाइ असिम र पावल स्थानीय मदन राईको घरमा आश्रय लिएर बसेका छन् ।

दीपेन्द्र आधारभूत विद्यालयमा अध्ययन गर्ने उनीहरुको लागि लालनपालको गतिलो आश्रय नभेटिएको प्रधानाध्यापक पर्वत सञ्जेलले बताए ।

Loading...