नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा आज जनही १ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले यस्तो फैसला सुनाएको हो । उनीहरुले कसुर स्वीकार गरको भन्दै उनले अभियोजनको आधारमा १ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको बताए ।
अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ । जरिवाना तिरेर उनीहरु छुटेका छन् । लगत्तै उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले उनीहरुलाई अध्यागमनको जिम्मा लगाइएको बताए ।
पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाइएको हो ।
प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालमया मुद्दा चलाइएको थियो ।