विराटनगर, २० पुस । निरन्तर लामो समयसम्म टेलिभिजन हेर्दा आँखामा समस्या निम्तिने त सामान्य हो तर, टिभी धेरै समय हेर्दा आँखालाई मात्र मात्रै होइन, शरीरको तौल र मुटुमा पनि समस्या थपिन सक्छ ।
सन् २०१४ मा जापानको ओसाका विश्व विद्यालयका प्राध्यापक तुरु सिराकावा नेतृत्वको टोलीले गरेको अध्ययनका अनुसार लगातार लामो समय टेलिभिजन हेर्दा मानिसमा ‘पल्मोनरी इम्बोलिजम’ अर्थात् नसामा रक्तप्रवाहमा अवरोधको जोखिम अत्यधिक उने गरेको पाइएको छ ।

८६ हजार २४ जना स्वस्थ मानिसको स्वास्थ्य स्थिति, जीवनशैलीको १९ वर्षका लागि अध्ययन गरेपछि तीमध्ये ५९ जनाको अध्ययनकै क्रममा ‘पल्मोनरी इम्बोलिजम’ का कारण मृत्यु भएको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेखित छ । अध्ययनमा दैनिक साढे दुई घण्टाभन्दा कम र पाँच घण्टाभन्दा बढी समय टेलिभिजन हेर्नेलाई समेटिएको थियो ।
दैनिक साढे दुई घण्टाभन्दा कम समय टेलिभिजन हेर्नेमा टिभी नहेर्नेको तुलनामा ‘पल्मोनरी इम्बोलिजम्’ को जोखिम ७० प्रतिशतले बढी हुने पाइएको छ भने दैनिक ५ घण्टाभन्दा बढी टिभी हेर्नेहरूमा उक्त समस्याको जोखिम २५० प्रतिशतले बढी हुने अध्ययनले निष्कर्ष निकालेको हो ।
त्यस्तै, सन् २०१६ मा अमेरिकन हार्ट एसोसिएसनले ४५ देखि ६४ वर्ष उमेर समूहमा गरेको सर्वेक्षणका अनुसार अनुसार लामो समय टिभी हेर्नेलाई नहेर्नेको तुलनामा ‘भिनस थ्रोम्बोइम्बोलिजम’ नामक रोग हुने सम्भावना १७ गुणा बढी हुन्छ । टीभी हेर्दा एउटै आसनमा धेरैबेर रहँदा हात, गोडा र फोक्सोको नसाका रगतहरू जम्न सक्ने वा शरीरमा रक्त प्रवाह नहुने हुँदा समस्या आई मुटु रोग लाग्ने सम्भावना ३० प्रतिशत बढ्ने सर्वेक्षणले देखाएको हो ।
अमेरिकी प्राध्यापक मेरी कुसमेनका अनुसार टिभी हेर्दा शरीर निष्क्रिय हुन्छ र यस्तो समयमा खानेकुरा चपाइरहने बानीले मोटोपन बढाउने काम गर्छ । ‘स्टडी इन द जर्नल सर्कुलेसन’मा प्रकाशित डा. नोरम्यान साफ्राको लेखमा आँखाको परेलामाथि ४० र तल्लो भागमा २५ वटा ग्रन्थी हुने हुँदा दिनमा ५ घण्टाभन्दा बढी टिभी हेर्दा, कम्प्युटर, मोबाइल वा ल्यापटप चलाउँदा यी ग्रन्थीहरूमा असर पर्छ र आँखा सुक्खा हुने समस्या देखिने उल्लेख छ ।
अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीका डा. ली डूफ्नेरका अनुसार टेलिभिजनबाट निस्कने हानिकारक किरणले थकान महशूस गराउनुका साथै आँखालाई सुक्खा बनाएर ‘भिजन सिन्ड्रोम’ को जोखिम बढाउने गर्छ । त्यसैले, लामो समय टिभी हेर्दा केही समय आँखा बन्द गर्ने र चिसोपानीले आँखा धुने गर्नुपर्छ ।