birat ribon

समय समयमा पाठेघरको जाँच गराउन जरुरी

Neuro
समय समयमा पाठेघरको जाँच गराउन जरुरी
aa
डा. जीवन धमला

पाठेघर महिलाहरूमा हुने एक संवेदनशील अंग हो । आजकलको व्यस्त जीवन शैली, अव्यवस्थित खानपान, महिनावारीमा लापरवाही, सरसफाइमा ध्यान नदिएमा, व्यायामको कमी तथा संक्रमणका कारणले महिलाहरूमा सबैभन्दा बढी पाठेघरको समस्या देखिन थालेको छ ।

Padelux insider
cura insider

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको छ । शरीरमा हर्मोनको गडबडी, सानै उमेरमा धेरै सन्तान जन्माउँदा, असुरक्षित यौन सम्पर्कका कारण, अत्यधिक परिवार नियोजनका साधन प्रयोग गर्ने, गर्भ निरोधक पिल्स खाने, ह्युमन पापिलोमा भन्ने भाइरसले यो रोगको जोखिम बढिरहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०१८ मा विश्वमा ५ लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ देखि ६९ वर्षका महिलाहरूमा गरेको सर्वेका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउने महिला ८.२ प्रतिशत मात्र छन् । नेपालमा हालै गरिएको अध्ययनले वार्षिक करिब २० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् भने करिब २ हजार महिलाले पाठेघरको क्यान्सरको कारण ज्यान गुमाइरहेका छन् ।

यसबाट हुने मृत्युदर नेपालमा पनि उच्च छ । सहरमा भन्दा पनि गाउँमा यसको समस्या झनै बढी देखिएको छ । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई नेपालमा भने अझै पनि धेरै महिलाहरू आफूलाई लागेको रोग लुकाएर, लाज मानेर स्वास्थ्य संस्था नजाने हुँदा जोखिम बढिरहेको छ ।

कोशी अस्पताल विराटनगरका कार्यरत स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर जीवन धमला अहिलेको समयमा धेरैजसो महिलाहरू तल्लो पेट दुख्ने, पाठेघरको समस्या, पाठेघरमा संक्रमण, महिनावारी गडबडी हुने, अत्यधिक रक्तश्राव हुने, पिसाब चुहिने, पिसाब थाम्न नसक्ने, वृद्ध अवस्थामा हुने अंग खस्ने जस्ता समस्या लिएर अस्पताल आउने गरेको बताउँछन् । उनका अनुसार कोशी अस्पतालमा अंग खस्ने समस्या लिएर आउनेहरू धेरै छन् ।

नेपाल सरकारले कोशी अस्पतालमा निःशुल्क अपरेसन गर्ने सेवा दिएको हुनाले पनि अरु अस्पतालको तुलनामा यहाँ यो समस्या लिएर आउने धेरै छन् । योबाहेक अर्को अहिलेको मुख्य समस्या भनेको पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बासयको क्यान्सर लिएर आउनेहरू पनि छन् । १२ देख २० वर्षको उमेरसमूहको बच्चाहरूमा समेत डिम्बासयको ट्युमर पनि देखा पर्छ ।

ढिलो उमेरमा पाठेघरको मुखको क्यान्सर, प्रजनन उमेरमा ट्युमरहरू, अण्डाशयमा मासु पलाउने समस्याहरू साधारण भइसकेका छन् । सजिलै स्क्रिनिंगबाट पत्ता लगाउन सकिने हुँदा अहिले भने धेरै फोकसमा हुने पाठेघरको मुखको क्यान्सर हो । क्यान्सर हुँदैछ कि छैन भनेर विभिन्न टेस्टहरू गरेर पत्ता लगाउन सकिन्छ । पाठेघर हेरेर, वा (भिज्युअल इन्स्पेक्सन विथ एसिटिक भीआइए) पाठेघरको मुखमा औषधिद्वारा त्यहाँ केही परिवर्तन हुन्छ कि हुँदैन भनेर जाँच गरिन्छ । र, क्यान्सर भएको जस्तो संका लागेमा बायोप्सी गर्नका लागि वा अन्य जाँच गर्नका लागि राम्रो संस्थामा पठाउने गरिन्छ । यहाँ कोशी अस्पतालमा चाहिँ दक्ष प्याथोलोजिस्टहरूले प्यापीस्मेर (पाठेघरको मुखको पानीको जाँच) गरेर वा अन्य जाँचहरू गरेर पाठेघरको क्यान्सर पत्ता लगाउँछौं ।

विश्व स्वास्थ्य संगठन, एसिओजि (अमेरिकन कलेज ओफ ओब्सट्रेटिक गाइनाकोलोजी) तथा यिनीहरू जस्तो धेरै स्त्रीरोगको समस्या विषयमा सिफारिस दिने संस्थाहरूका अनुसार समय समयमा पाठेघरको मुखको पानीको जाँच गराउनुपर्ने भनेर प्रजनन उमेरदेखि लिएर वृद्ध अवस्थासम्म नै स्क्रिनिंग गर्नुपर्छ । तर, हाम्रोतिर यो कुरा लागु हुन सकेको छैन । प्रजनन उमेरदेखि लिएर बुढ्यौली उमेरमा वर्षमा दुई पटक वा वर्षमा कमसेकम एक पटक जाँच अवश्य गराउनु पर्छ ।

महिलाको पाठेघर क्यान्सर जाँचसम्बन्धी स्वास्थ्य शिविरसमेत चलाउँदै आएका डा. जीवन बेलैमा रोग पहिचान गरे सामान्य खर्चमा उपचार गर्न सकिने बताउँछन् । पाठेघरको क्यान्सरलाई पनि पाठेघरको मुखको क्यान्सर, महिनावारी हुने ठाउँबाट देखा पर्ने क्यान्सर, पाठेघरमा पलाउने क्यान्सर, डिम्बासयको क्यान्सर जस्ता विभिन्न ठाउँमा हुन सक्छ । पाठेघरको मुखको क्यान्सरचाहिँ प्रायः बुढ्यौली उमेरमा मात्र देखापर्ने गर्छ ।

असामान्य रक्तश्राव हुने, महिनावारी रोकिसकेपछि पनि रगत बग्ने भयो भने पाठेघरको क्यान्सर भएको संकेत हुनसक्छ । त्यस्तै, असामय रूपले सेतो पानी तथा फोहोर पानी बग्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने जस्ता समस्या लिएर आउनेहरूमा पनि पाठेघरको क्यान्सर हुने लक्षणहरू देखा पर्छन् । कतिपयचाहिँ सामान्य जाँच गराउन आउनेहरूमा विनालक्षण पनि पत्ता लाग्ने गर्छ ।

पाठेघरको मुखको क्यान्सरमा चाहिँ कतिपयको मासु नै पलाएको देखिन्छ । पाठेघरभित्र हेर्न नमिल्ने हुँदा शंका लागेपछि बायोप्सी गरेर, दुरबिनको प्रयोग गरेर हेरिन्छ । तर, पाठेघरबाहिर त हेर्न मिल्ने हुँदा सामान्य जाँचबाट नै थाहा हुन्छ । ओपिडीमा आएर मात्र जचाउँदा पनि पाठेघर सामान्य हो वा होइन भनेर सजिलै पत्ता लगाउन सकिन्छ । असामान्य भएको खण्डमा प्यापीस्मेर र बायोप्सी जस्ता विभिन्न टेस्टहरू गरेर क्यान्सर भएको हो वा होइन भनेर पत्ता लगाउने गरिन्छ ।

धेरैजसो यहाँ भनेको पाठेघरको मुखको क्यान्सरको पहिलो चरणमा सर्जरी गरेर पाठेघर नै निकालेर फालिने गरिन्छ । अलिकति अन्तिम चरणतिर आइपुग्दा पाठेघरको मुखबाट क्यान्सर छेउछाउ फैलिसकेको हुँदा सर्जरीले फाइदा गर्दैन । क्यान्सर फैलिसकेको अवस्थामा किमोथेरापी र रेडियोथेरापी गरिने गरिन्छ । उपचार गाह्रो र यहाँ नहुने हुँदा हामी भरतपुर तथा भक्तपुर क्यान्सर अस्पताल रेफर गर्ने गर्छौं । त्यहाँ यस्तो अवस्थामा पुगिसकेकाहरू को पनि उपचार हुन्छ ।

आफूले ओपिडी बस्दा धेरै जस्तो अन्तिम चरण वा अवस्था निकै गम्भीर भएर आएका बिरामीहरू पत्ता लाग्ने गरेको डा. जीवन बताउँछन् । सुरुको चरणमा पत्ता लाग्ने भनेको कोशी अस्पतालमा गरिब बिरामीहरू, बाहिरकाहरू एकदमै समस्या भएपछि मात्र आउने गर्छन् । स्वास्थ्य स्थिति के छ गएर देखाएर आम न भन्नेहरू निकै नै कम छन् । आजकल भने बीमा कार्यक्रमले गर्दाखेरी निःशुल्क उपचार पाउने भएपछि फाट्टफुट्ट जाँच गराउनेहरू आइरेका छन् । अरु अस्पतालको तुलनामा चाहिँ समस्या गम्भीर भएपछि मात्र आउने गरेका छन् ।

डिम्बासयको क्यान्सरमा चाहिँ एक्कासी पेट फुल्ने (ग्यास्ट्रिकको जस्तो समस्या) ध्याउ आउने, असामान्य रूपमा पेट बढ्ने जस्ता लक्षणहरू देखा पर्ने गर्छन् । योचाहिँ जुनसुकै उमेर समूहमा पनि देखा पर्न सकिन्छ । भर्खरै महिनावारी सुरु भएकाहरूमा, प्रजनन उमेर तथा बुढ्यौली उमेरमा पनि देखा पर्न सक्छ । प्रायः भिडियो एक्सरे गर्दा ट्युमरहरू देखिने हुँदा त्यसलाई जाँचेर क्यान्सर हुने सम्भावना छ कि छैन भनेर त्यहीँ प्रकारले सर्जरी तथा उपचारहरू गरिन्छ । डिम्बासयको क्यान्सरको सर्जरीचाहिँ यहाँ पनि सम्भव छ ।

पेट दुख्यो भन्दै, महिनावारी अनियमित भयो भन्दै, घरेलु तथा आयुर्वेदिक उपचारतिर लाग्नुभन्दा पनि एक पटक जचाउनु जरुरी हुन्छ । कुनै कुनै समस्या सामान्य हुँदा पनि पीडा अत्यधिक हुने हुन्छ जसमा औषधिले मात्र नभएर परामर्श पनि दिन आवश्यक हुन्छ । एक पटक पनि नजचाइकन घरेलु उपचारतिर लाग्नु प्रभावकारी भने हुँदैन । घरेलु उपचारतिर लाग्दा क्यान्सर अन्य भागमा फैलिसकने हुँदा उपचार ढिलो हुनुका साथै उपचारमा थप जटिलता पनि आउन सक्छ ।

पाठेघरको मुखको क्यान्सर भनेको विशेषज्ञहरूले सुविधासम्पन्न ठाउँमा मात्र पत्ता लगाउने हो । गाउँघरमा पत्ता लगाउन निकै गाह्रो हुने हुँदा बायोप्सी नगरी उपचारतिर जाने कुरा नै हुँदैन । तर, आजकल स्वास्थ्यचौकीहरूमा नेपाल सरकारले त्यहाँका नर्स तथा स्वास्थ्यकर्मीहरूलाई क्यान्सर स्क्रिनिंग गर्न सक्ने सामान्य तरिका (भिज्युअल इन्स्पेक्सन विथ एसिटिक भीआइए) को तालिम दिन थालेका छन् । स्वास्थ्य छ कि छैन भनेर हेर्ने र क्यान्सरको शंका लागेमा राम्रो ठाउँमा रेफर गर्ने गरिन्छ ।

सुरुकै चरणमा पत्ता लागेको छ भने सर्जरी गरेर उपचार गरिन्छ र यो खासै जटिल पनि हुँदैन र परिणाम पनि राम्रो भएको हुँदा पहिलो चरणमा उपचार हुन सके सर्भाइभल रेट पनि बढाउन सकिन्छ । क्यान्सरको जाँचमा हामीले फड्को मारिसकेका छैनौं । क्यान्सरको जाँच हरेक बिरामीलाई गर्नुपर्ने हो । तर, कतिपय बिरामीहरू पनि मान्दैनन्, जनशक्तिको अभावका कारण पनि यो सम्भव हुँदैन र प्रभावकारी पनि हुन सकेको छैन ।

नेपाल सरकारले ल्याएको स्वास्थ्य नीतिमा क्यान्सरलाई फोकस गरिएको छ । पाठेघरको क्यान्सरको जाँचलाई पनि निःशुल्क बनाउने, पानी जाँचका लागि चाहिने दक्ष प्याथोलोजिस्टहरूलाई उत्पादन गर्ने जस्ता लक्ष्यहरू राखिएको छ । त्यसैले हरेक उमेर समूहका महिलाहरूले अझ बुढ्यौली उमेरका महिलाहरूले समय समयमा पाठेघरको जाँच गराउनु जरुरीण् हुन्छ ।

साथै, पहिलाबाटै सावधानी अपनाएमा पाठेघरको समस्यालाई केही हदसम्म भने कम गर्न सकिन्छ । कम उमेरमा विवाह नगर्ने, २० वर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने, छिट्टै बच्चा नजन्माउने, महिनावारी भएका बेला धेरै ध्यान दिने, कपडा तथा प्याड स्व्स्थ र सफा खालको प्रयोग गर्ने, सरसफाइमा एकदम ध्यान दिने, एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क नराख्ने गर्दा पाठेघरको समस्याबाट बच्न सकिन्छ ।

यस्तै रक्सी, चुरोट तथा सूर्तीजन्य पदार्थको सेवनले महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना धेरै भएकोले यस्तो कुरालाई त्याग्नु नै ठीक हुन्छ । २० देखि ३० वर्षको बीचमा बच्चा जन्माउनु उपयुक्त हुनुका साथै अर्को बच्चा जन्माउन कम्तीमा पाँच वर्षको अन्तर राख्नुपर्छ ।

jackson ribon