काठमाडौं १९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भगवान् गौतमबुद्धको प्रतिमा स्थापना गरिएको छ। विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरेका हुन् ।
बुद्धको प्रतिममा ‘वेलकम टु द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको छ । विदेशी पर्यटकले विमानस्थलबाट बाहिर ननिस्किँदै बुद्धभूमिमा आएको जानकारी पाउने छन् । पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताए।
करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु ७० लाख रहेको विमानस्थल कार्यालयले जनाएको छ। यसमा झण्डै २४ लाखको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएका हुन्।
बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्नेछन्, सहज रुपमा अवलोकन गर्न पाउनेछन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम शुरु भएको पर्यटनमन्त्री भट्टराईले बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने बाँकी कामहरु क्रमशः अघि बढाइने उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना छ।
विमानस्थलभित्र नेपाली मौलिक कलासंस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो।
विमानस्थललाई सफा र चिटिक्क पारिएको छ। यात्रु आवागमन र प्रस्तान दुवै कक्षमा व्यवस्थित रुपमा सेवा प्रवाहको वातावरण बनाइएको छ।