
‘राज्यको धर्म हुँदैन’
यसो सुन्दा उसले सोचेको थियो
राज्यले शङ्ख फुक्दैन
अनि घण्ट बजाउँदैन होला भनेर
‘राज्यको धर्म हुँदैन’
यसो सुन्दा उसले सोचेको थियो
राज्यले चन्दन घस्दैन
अनि अक्षता छर्दैन होला भनेर
‘राज्यको धर्म हुँदैन’
यसो सुन्दा उसले सोचेको थियो
राज्यले धूप सल्काउँदैन
अनि दीप बाल्दैन होला भनेर
‘राज्यको धर्म हुँदैन’
यसो सुन्दा उसले सोचेको थियो
राज्यले भजन गर्दैन
अनि प्रार्थना गर्दैन होला भनेर
तर
शिक्षकले विद्याको घाँटी रेटीरहँदा
डाक्टरले स्वास्थ्यको हुर्मत लिइरहँदा
अनि विचौलियाले बजारको बलात्कार गरीरहँदा
मूकदर्शक अनि मतियार बनेको राज्य देखेपछि
मुट्ठीभर ठेकेदारको इशारामा
नियम अनि कानूनहरू बदलिएको देखेपछि
पुसको झरीले भन्दा पनि धेरै
किसानको आँसुले सडक भिजेको देखेपछि
उसलाई पक्का भयो
हो त ! राज्यको धर्म हुँदो रहेनछ ।।