लामो समयसम्म बाँच्ने सुझाव दिइरहेका व्यक्तिको स्टेजमै मृत्यु

एजेन्सी, १८ पुस । लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा सुझाव दिइरहेका चीनका ६५ वर्षीय एक व्यक्तिको स्टेजमै मृत्यु भएको छ । कसरी स्वस्थ हुने र लामो समयसम्म कसरी बाँच्ने भन्ने विषयमा उपस्थित मानिसहरूलाई सुझाव दिइरहेको क्रममा कार्डियाक अरेस्ट अर्थात् हृदयघातबाट उनको मृत्यु भएको थियो ।

ग्वाङडोङस्थित चिनियाँ स्वास्थ्य कम्पनी जोङी हेल्थ एन्ड टेक्नोलोजी कम्पनीका संस्थापक चेन पिवी कम्पनीले आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्य सुझावहरू दिइरहेका थिए । तर, हिँड्दै बोल्ने क्रममा उनको स्टेजमै डेस्कसँग ठोक्किन साथ लडेर मृत्यु भएको हो । उक्त घटनाको भिडियो सार्वजनिक भएको छ ।

अगस्तमा मात्र सुचारु गरिएको कम्पनिको मुख्य उत्पादनमध्ये विभिन्न जडिबुटीहरूको प्रयोग गरी बनाइएको बाथ रोग निको गर्ने ड्रिंक थियो । २० वर्षअगाडि चेनले मुटुको सर्जरी गराएका थिए । उनको मुटुमा पेसमेकर जडान गर्नु अति आवश्यक भइसकेको र डाक्टरहरूले अपरेसनको लागि ढिला नगर्न सुझाव दिएका थिए ।

उनको मृत्युपछि कम्पनिले नै बनाएको औषधिको सेवन गरेपछि उनको मृत्यु भएको हल्ला फैलिएको थियो । तर, यो सत्य नभएको कम्पनिले दाबी गरेका थिए ।

Loading...