Rumpum Advertisement
Dazzu

शास्त्रीय संगीतका प्रवर्द्धक कुशेश्वरको राईको सांगीतिक यात्रा

शास्त्रीय संगीतका प्रवर्द्धक कुशेश्वरको राईको सांगीतिक यात्रा

शिवहाङ राई
सामान्य किसान परिवारमा जन्मेका कुशेश्वर राईले प्राथमिक संगीत शिक्षा आफ्नै बुबा स्वर्गीय इन्द्रनारायणबाट प्राप्त गरे । परिवारमा सांगीतिक माहोल भइरहने हुँदा सानो उमेरदेखि नै उनी संगीतमा रमाउन थालेका थिए । औपचारिक शिक्षा ग्रहण नगरेको परिवार भएपनि कुशेश्वरको चार पुस्तासम्म निरन्तर संगीत साधनमा लागिरह्यो । औपचारिक शिक्षा लिएर संगीत साधनामा लाग्ने कुशेश्वर परिवारमा चौथो पुस्ताको पहिलो सन्तान हुन् ।

भोजपुरको दिल्पा मुलघर भएको राई परिवार गरिबी निवारणका लागि भारतको बिहार पुगेको थियो । केही वर्षको बिहार बसाइपछि २०२८ सालमा परिवार नै सुनसरी जिल्ला सदरमुकाम इनरुवामा बसाईं सरेर आइपुग्यो । बिहारको विद्यालयबाट मेट्रिक पास गरेका राई इनरुवामा गाउँका केटाकेटीहरूलाई गणित र अङ्ग्रेजी विषयको ट्युसन पढाउने काम गर्थे । २०३३ सालमा भारत फर्केका राईले गणित र अङ्ग्रेजी विषयमा आईए पास गरे । त्यसपछि उनले इलाहावादस्थित प्रयाग संगीत महाविद्यालयबाट शास्त्रीय संगीतमा डिप्लोमा तहको शिक्षा हासिल गरेर ‘संगीत प्रवीण’ उपाधि प्राप्त गरे । शास्त्रीय संगीतलाई सर्वसाधारणमाझ पुर्‍याउने लक्ष्य लिएर नेपाल फर्केका उनले तर संगीतलाई जिन्दगी धान्ने साधन मात्रै बनाएनन् पूर्वमा शास्त्रीय संगीतका चर्चित गुरु पनि बने ।

खिसी सहेर विद्यालयमा शास्त्रीय संगीतको पढाई

त्यसबेला संगीत क्षेत्रमा आवद्ध छु भनेको सुन्नासाथ मान्छेहरू खिस्सी उडाउँथे । संगीतबाट आम्दानी पनि हुँदैनथ्यो । मन संगीतमा भएपनि परिवार पाल्ने धन नभएपछि उनी शिक्षण पेशामा आवद्ध भए । विराटनगरका थुप्रै स्कूलहरूमा उनी अङ्ग्रेजी र गणित विषय पढाउँथे । शिक्षण पेशामा मन नअडिएपछि मिल्स एरियास्थित अशोक टेक्सटाइल्समा राईले तेह्र वर्षसम्म काम गरेर छोडे ।

संगीत साधक राईलाई संगीतमा नै केही गर्नुपर्छ भत्रे भोक थियो । स्कूलको शिक्षण पेशा र टेक्सटाइल्सको कामले उनलाई संगीतबाट टाढा राख्न सकेन । टेक्सटाइलको जागिर छोडेपछि राईलाई अब के गर्ने भन्ने प्रश्नले सतायो । यसैक्रममा उनले विराटनगरका गौतम बुद्ध, डिएभी जस्ता कहलिएका स्कूलहरूमा संगीत शिक्षकको रूपमा काम गरे । तर कामअनुसारको दाम नभएपछि उनले स्कूलहरूमा संगीत सिकाउने काम पनि छोडे ।

यसरी जन्मियो ‘स्वर संगम संगीतालय’

२०४६ सालतिर विराटनगरमा शास्त्रीय संगीतभन्दा मानिसहरू हाँस्दै नाक खुम्च्याउने गर्थे । त्योबेला शास्त्रीय संगीतको माहोल बनाउन निकै गाह्रो थियो । लेघ्रो तान्दै आ र उ गरेर चिच्याएको पनि गीत–संगीत हुन्छ ? भनेर मान्छे रिसाउने गर्थे । तर संगीतबाहेक केही नगर्ने मनसाय बनाएका राई विराटनगरका घरहरूमै गएर संगीत सिकाउन थाले । काम विशेषले बंगलादेशबाट नेपाल आएका बंगाली परिवारका साना नानीहरू, घरहरूमा संगीत अध्यापन गराउँदाका राईका पहिलो संगीत विद्यार्थीहरूथिए ।

राईको शिक्षणबाट प्रभावित भएर अन्य अभिभावकहरूले पनि आफ्ना साना केटाकेटीहरूलाई संगीत सिकाइदिन आग्रह गर्न थाले । हिजोसम्म शास्त्रीय संगीत सिकाउँछु भन्दा हाँस्ने अभिभावकहरू आफैं आफ्ना सन्तानहरूलाई शास्त्रीय संगीत सिकाइदिनका लागि आग्रह गर्न थालेपछि उनी निकै खुशी भए । घर–घरमा गएर संगीत सिकाउन सक्ने स्थिति नरहेपछि सबैको अनुरोध र आग्रहबीच उनले विराटनगरमा ‘स्वर संगम संगीतालय’ स्थापना गरे ।

निरन्तरको साधनाले संगीतालयको रजतजयन्ती

वि.सं.२०५१ सालमा संगीतालय स्थापना हुँदा राईसँग आफ्नो ज्ञानबाहेक केही पनि थिएन, न त उनीसँग वाद्यवादनका निम्ति कुनै सामाग्रीहरू नै थिए । त्यसबेला उनलाई सहयोग गर्ने पनि कोही भएन । तर आफ्नो आत्मविश्वासमा अडिग राई संगीत साधनामा नै व्यस्त रहे । निरन्तर लागिरहे । त्यसैको प्रतिफल हो संगीतालयले २०७६ मङ्सिर २८ गते मनाएको रजतजयन्ती । ४३ वर्षदेखि संगीत साधनामा अहोरात्र खटिएका राई हाल शास्त्रीय संगीतका प्रवर्द्धकका रूपमा परिचित छन् । संगीतले नै उनलाई आजको उचाईसम्म पुर्‍याएको हो र यसमा उनी खुशी छन् ।

त्रिचालीस वर्षे यात्राबाट एक हजार चेला उत्पादन

४३ वर्षको संगीत यात्रामा राईबाट एक हजारभन्दा बढी विद्यार्थीहरूले संगीत शिक्षा ग्रहण गरिसकेका छन् । उनीबाट संगीत ज्ञान लिएका सयौं युवाहरूले संगीतलाई नै आफ्नो जीवन र पेशा बनाएका छन् । काठमाडौंमा मात्र राईका ३ दर्जन बढी विद्यार्थीहरू व्यावसायिक रूपमा संगीत विद्यालय सञ्चालन गरेर अध्यापन गराइरहेका छन् । जुनु रिजाल, मेनुका पौडेल, मनिषा पोख्रेल, बलबहादुर राजवंशी, संजय तुम्रुक, विकास लिम्बू, मदनगोपाल जस्ता नाम चलेका कलाकारहरू राईका विद्यार्थीहरू हुन् ।

संगीत अध्यापन गराउनकै निम्ति १५ वर्षसम्म हरेक शनिबार विराटनगरदेखि काँकडभिट्टा धाएको राई सम्झन्छन् । राई भन्छन्, ‘घाम, पानी, जाडो, गर्मी केही नभनी हिँड्थेँ । लामो यात्रामा अनेक समस्याहरू आउँथ्यो तर तिनीहरूले मलाई कहिल्यै रोक्न सकेनन् ।’ राईको संगीत विद्यालय वर्षको ३ सय ६५ दिन नै खुल्ला रहन्छ, चाडपर्वमा पनि उनी संगीत विद्यालयमा नै भेटिन्छन् । ‘संगीत साधना हो । साधनालाई कुनै बहानामा नि रोक्न हुँदैन’ राई भन्छन्, ‘सिक्ने कुराको कहिल्यै समाप्ति हुँदैन, म संगीतमा हरेक दिन नयाँ कुराहरू सिकिरहेको हुन्छु, त्यसैले म कुनै पनि कारणले संगीतबाट टाढा रहन चाहन्नँ ।’

श्रीमती, छोराछोरी सबै संगीतको यात्रामा

राई मात्र हैन राईको परिवार पनि संगीतमय छ । राईकी श्रीमती उजाला राई पनि सांगीतिक परिवारकी हुन् । उजाला आफैं पनि संगीतकी विद्यार्थी हुन् । जेठा छोरा अमितले पनि तबलावादनमा डिप्लोमासम्मको अध्ययन पूरा गरेका छन् । छोरी नन्दिता पनि संगीतकै विद्यार्थी हुन्, उनले भोकल विधाको डिप्लोसम्मको अध्ययन पूरा गरिसकेकी छन् । कान्छा छोरा नवनित राईको भने संगीतप्रति खासै चासो छैन, उनी सफल उद्यमी बन्न चाहन्छन् ।

संगीत सागर हो, उपलब्धिका लागि साधना गर्नैपर्छ

संगीत साधनाका निम्ति कति मिहिनेत चाहिन्छ ? ४३ वर्षदेखि संगीत साधना गर्दै आइरहेका शास्त्रीय संगीतका प्रवर्द्धक कुशेश्वर राईलाई भन्दा अरुलाई कमै थाहा होला । फुसर्दमा प्रायः अध्ययन गर्न रुचाउने राई मानिसले हरेक दिन केही न केही अध्ययन गर्नै पर्ने बताउँछन् । उनी आफैं पनि प्रायः किताब पढिरहेको, संगीत साधना गरिरहेको वा अध्यापन गराइरहेको भेटिन्छन् । शास्त्रीय संगीतमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका राई अझै पनि संगीतसम्बन्धी विभिन्न पुस्तकहरू अध्ययन गर्छन्, उनले संगीतका विभिन्न अनलाईन कोर्सहरूसमेत अध्ययन गरिसकेका छन् । राई भन्छन्, ‘संगीत सागर हो, यसमा असीमित विद्या छ, तिमीले जसरी सक्छौँ त्यसरी नै यसको ग्रहण गर्ने प्रयास गर्नुपर्दछ ।’

संगीतलाई सोखको रूपमा मात्र हैन पेशाका रूपमा पनि विकास गर्नुपर्छ

मानिसहरूमा संगीतलाई एउटा कला मात्र नभई विद्याको रूपमा लिने परम्पराको विकास हुँदैछ । विशेषगरी शास्त्रीय संगीतलाई अहिलेका युवा पुस्ताले सकारात्मक तरिकाले बुझिदिँदा यसको फाइदा नेपालको समग्र संगीत क्षेत्रले नै पाइरहेको राई बताउँछन् । यस्तोबेला सरकारी निकाय, निजी संस्थानहरूले पनि शास्त्रीय संगीतको विकास र वृद्धिमा सहयोग पुर्‍याउने हो भने नेपाल पनि शास्त्रीय संगीतको क्षेत्रमा उदाहरण बन्नसक्ने राईको तर्क छ । संगीतलाई सोखको रूपमा मात्र नलिई यसलाई विद्या, पेशा र पर्यटन प्रवर्द्धन गर्ने माध्यमको रूपमा नेपालले विकास गर्न सके नेपालको शास्त्रीय संगीतको क्षेत्र अझै व्यापक र अन्तर्राष्ट्रियकरण हुने निश्चित छ ।

(शिवहाङ राई कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार हुन्)