विद्यार्थीलाई बुझाउन अचम्मको तरिका अपनाउने शिक्षिका

एजेन्सी, १७ पुस । कुनै पनि शिक्षकले आफ्नो विद्यार्थीले सक्दो बुझोस् भनेर पढाउँदा विभिन्न उपायहरू अपनाउने गर्छन् । त्यस्तै पढाउने क्रममा स्पेनकी एक शिक्षिकाले विद्यार्थीलाई बुझाउनका लागि एक अनौँठो उपाय निकालेकी छिन् ।

स्पेनको भालाडोलिडको एक स्कुलमा जीव विज्ञान पढाउने भेरोनिका ड्युकले आफ्ना विद्यार्थीहरूले सजिलै बुझून् भनेर आन्तरिक अंगहरू देखाउने कपडा लगाएर कक्षा लिएकी हुन् । कक्षामा मानव शरीरका भित्री अंगहरूको चित्रसहितको कपडा लगाएर गएपछि विद्यार्थी पनि चकित परेका थिए ।

उनले मानव शरिरका अंगहरूको बारेमा बुझ्नेगरी पढाइन् । विज्ञान, कला, अंग्रेजी र स्पेनिस पढाउने ४३ वर्षकी भेरोनिका आफ्नो पढाउने फरक तरिकाबाटै चर्चित छिन् । विद्यार्थीलाई चित्र बनाएर पढाउन गाह्रो हुने, र विद्यार्थीहरूले पनि बुझ्न गाह्रो भएपछि उनले यस्तो उपाय अपनाएको बताउँछिन् ।

उनले अनलाइनमा उक्त वस्त्र भेटेको र त्यो लगाउनु ठीक हुने ठानेको बताइन् । उनले इतिहास पढाउँदा ऐतिहासिक पात्रको भेषभूषा धर्नेसमेत गरेकी छन् । शिक्षिकाका पतिले ट्विटरमा आफ्नी पत्नीको तस्वीर पोस्ट गर्दै आठ वर्षका बालबालिकालाई पाठ बुझाउनका लागि उनले गरेको प्रयास राम्रो भएको बताएका थिए ।

धेरैले उनलाई सामाजिक सञ्जालमा सकरात्मक प्रतिक्रिया पनि दिएका छन् । अहिले उनको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

Loading...