visit-nepal

टाढाबाट आएका मानिस ‘हयाप्पिल्याण्ड’मा रमाएको देख्दा आनन्द आउँछ : मनोज शिवाकोटी ( मनोरञ्जन उद्यमी)

कसैलाई दुई चार घण्टा टहलिन र रमाइलो गर्न मन लाग्दा प्रदेश एकमा खासै उपयुक्त स्थानहरू थिएनन् । भएका केही ठाउँहरू पनि कि त साँघुरा थिए, कि अव्यवस्थित । केही सामुदायिक वन, सिमसार, चउर र पोखरीहरू पिकनिकका लागि मात्रै अनुकूल थिए भने निजी लगानीमा खोलिएका केही पार्कहरू त्यसको स्तरभन्दा निकै महंगा थिए ।

परिवार नै गएर केहीघण्टा बिताउनका लागि रमणीय र व्यवस्थित पार्कको अभाव भइरहेको समयमा एकजोडी जुझारू युवाको प्रयासमा झापा जिल्लाको कन्काइ नगरपालिकास्थित सुरूङ्गा बजार नजिकै त्यस्तो अभाव पूर्ति गर्नसक्ने रमणीय पार्क निर्माण भएको छ । ह्याप्पील्याण्ड वा सेल्फी डाँडाको नामले चिनिने उक्त पार्कका सञ्चालक मनोज शिवाकोटीसँग कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गरेको कुराकानीः

सुन्दर पार्क निर्माण गर्नुभएछ, कसरी प्रेरणा पाउनुभयो ?

मैले विगत लामो समयदेखि डिजाइन र फ्लोरिकल्चरसँग सम्बन्धित रहेर पोखरामा काम गरेँ । मेरो स्थायी ठेगाना सुरूङ्गा नै भएको कारण र नेपालमै बन्द हड्ताल निषेधित सहरको रूपमा यस सहरले पहिचान बनाउन सफल भएको कारण आफ्नै ठाउँमा केही गर्ने विचार आयो । अर्को कुरा सुरूङ्गा धार्मिक, साँस्कृतिक, भाषिक र जातीय दृष्टिकोणले समेत विविधता बोकेको सहर हो । यस सहरमा सम्भावना नै सम्भावना लुकेको देखेर, अनि आफूले जानेको सीप पनि प्रयोग हुने सोचेर हामी यो पार्क निर्माणका लागि अभिप्रेरित भयौं ।

के के छन् तपाइँको पार्कमा , कति खर्चिलो छ पार्क ?

मानिसले केही घण्टा आनन्दसाथ बिताउनका लागि आवश्यक पर्ने सबै चिजहरू यस पार्कमा राखिएका छन्र । सबै कुरा त म बताएर पनि सक्दिन । तर पनि संक्षेपमा भन्नुपर्दा रंगिन माछाहरूले सजिएको माछा पोखरी, फूलै फूलले भरिएका बगैंचाहरू, मनोरञ्जनका सामाग्रीहरू, पिङ, कोलम्बस खेल, चिप्लेटी, रेल, एरोप्लेन, धेरै प्रकारका आकर्षक मूर्तिहरू, झरना, जनावरहरू, सक्कली ऊँट, सेल्फी डाँडा, पिकनिक स्थल, विश्राम गृह आदि यसका मुख्य आकर्षणहरू हुन् । खर्चको हिसाबले भन्ने हो भने, यो पार्क अत्यन्तै सस्तो र सबैले खर्च गर्न सक्ने पार्कमा पर्छ । भित्र छिर्नका लागि रू १०० को टिकट काटेपछि अरू कुनै थप पैसा तिर्नु पर्दैन । पिकनिक होस् वा खेलहरू सबै त्यही एक सय भित्र नै समावेश भएको हुन्छ ।

मनोरञ्जन क्षेत्रको व्यावसाय नै किन रोज्नुभयो ?

पहिलो कुरा त आफ्नो अनुभव पनि यसै क्षेत्रमा भएकोले हो । अर्को कुरा मानव सभ्यताको विकाससँगै मान्छेको आधारभूत आवश्यकताभित्र मनोरञ्जन पनि पर्न गएको छ । मनोरञ्जनका लागि खासै राम्रा स्थानहरू नभएको अवस्थामा अभाव पूर्ति गर्नका लागि पनि यो व्यवसाय रोजियो ।

व्यापार सजिलो छैन भन्छन् तपाईंलाई कस्तो लाग्छ ?

राज्यको सहयोगको हिसाबले भन्ने हो भने व्यापार पक्कै पनि सजिलो छैन । राज्यले सहजीकरण गर्नुको साटो हरेक ठाउँमा दु:ख मात्रै दिन खोज्छ । राज्यको नीति स्पष्ट नभएर हो कि कर्मचारीको मानसिकता नै त्यस्तो हो सोचेजस्तो सहज सेवा पाउन नेपालमा सजिलो छैन । उदाहरणका लागि सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउँदैछ । हामी त पर्यटन व्यवसायी पनि हौ । हामीलाई थोरै मात्रै सहजीकरण गरिदिएको भए वा सानो तिनो तालिम मात्रै पनि दिएको भए उसको लक्ष्य पूरा गर्न हामी पनि त योगदान गर्थ्यौं नि !

यस विषयमा समेत सरकारले वास्ता गरेको छैन । तर जनस्तरबाट हेर्ने हो भने हामीले बेस्सरी सहयोग पाएका छौं । हाम्रा लागि व्यापार त्यति कठिन भएन । अर्को कुरा सुरूङ्गा यस्तो ठाउँ हो जहाँ बन्द हडतालको कुनै प्रभाव पर्दैन र चन्दा माग्न आउनेहरू पनि खासै छैनन् । त्यसैले मेरो अनुभवमाचाहिँ व्यापार सजिलै भएको छ ।


यस व्यवसायलाई अहिलेको अवस्थासम्म ल्याउन के-कति लगानी गर्नुभयो ?

यो पार्कले ओगटेको जग्गा चार बिघा छ, जो हाम्रो पुर्ख्यौली जमिन हो । जग्गाबाहेक हामीले लगभग २० करोड रूपैयाँ लगानी गरिसकेका छौं । पार्कको उत्तरपट्टि थप डेढबिघा जग्गा किनेर स्विमिङ पुल र पानी सम्बन्धी विभिन्न खेलहरू सुरू गर्न थप २० करोड लगानी गर्न गइरहेका छौं ।

मासिकरूपमा औसत कति मानिसहरू कहाँ कहाँबाट तपाइँको पार्कमा घुम्न आउँछन् ?

वर्षायामको तीन महिना छोडेर हेर्ने हो भने मासिकरूपमा औसत २५ हजार मानिसहरूले यो पार्क भिजिट गर्छन् । नेपालका विभिन्न जिल्लाहरूबाट र भारतको बिहार, पश्चिम बंगाल र सिक्किमबाट समेत गाडी नै रिजर्भ गरेर यही पार्क घुम्नकै लागि मानिसहरू आउने गर्दछन् ।

पार्कलाई सजाउनका लागि विभिन्न किसिमका सामाग्रीहरू प्रयोग भएको देखिन्छ । कहाँबाट ल्याउनुभयो यी सामाग्रीहरू ? कत्तिको कठिन भयो सामाग्रीहरू भित्र्याउन ?

धेरै सामाग्रीहरू नेपालमै उत्पादित प्रयोग गरेका छौं । जुन कुरा नेपालमा उपलब्ध छैन ती सामाग्रीहरू भारत र चीनबाट आयात गरिएका छन् । निर्यातकर्ताले सामानहरूको कुनै पनि जोखिम बहन नगर्ने भएकोले सामान सकुशल भित्र्याउन निकै कठिन भयो । त्यसमाथि सरकारी उल्झनहरू त छँदै छ । हामीले हरेस खाएनौं र अन्ततः यी सामाग्रीहरू अहिले हाम्रो पार्कमा देख्न सक्नुहुन्छ ।

मानिसहरू टाढा टाढाबाट आएर तपाईंको आँगनमा रमाउँदा कस्तो अनुभव हुन्छ ?

धेरै आनन्द लाग्छ । वर्णन गरेर साध्यै छैन । आफूले देखेको सपना आफ्नै आँखा अगाडि पूरा हुँदै गर्दा खुशी नहुने को होला र ?

युवाशक्ति पलायन यो देशको विकराल समस्या हो । देशमै युवाशक्ति खपत गर्ने केही उपायहरू सुझाउन सक्नुहुन्छ ?

राज्यले चाह्यो भने अचम्मै किसिमले परिवर्तन ल्याउन सक्छ । युवाहरूको महत्व राज्यले बुझ्ने हो भने उसले प्रभावकारी कार्यक्रम ल्याउन सक्छ । हाम्रै हाराहारीको मुलुक भियतनामलाई उदाहरणको रूपमा लिन सकिन्छ । उसका युवाहरू पनि हरेक वर्ष खाडी मुलुकमा श्रम गर्न जान्थे । हाम्रै जस्तो मानवीय सङ्कट भोगिरहेको थियो उसले पनि । तर जब राज्यले यो कुरा महशुस गर्यो देशमै प्रचुर मात्रामा उद्योगधन्दाहरू खोलिए । हरेक वर्ष १० प्रतिशतका दरले युवा शक्ति पलायन रोक्न सफल भयो । अहिले भियतनामले काँचुली फेर्न आँटिसकेको छ । हाम्रो देशले पनि यसरी नै युवाशक्ति पलायन रोक्न सक्छ ।

सरकारको मुख नताकी व्यक्ति स्वयम्ले गर्नसक्ने केही छैन ?

अवश्य छ, किन नहुनु ? अहिले धेरैभन्दा धेरै युवाहरूले विदेश गएर केही न केही सीप सिकेर फर्केका छन् । उनीहरूले आफ्नो सीपलाई ठीक किसिमले प्रयोग गर्ने आँट गर्नुपर्छ । कृषि, पशुपालन र पर्यटन नेपालमा सबैभन्दा प्रचुर सम्भावना भएको क्षेत्र हो । एकदमै कम लगानीबाट सुरू गरेर त्यहीँ कमाएको पैसा थप लगानी गर्दै जाने हो भने नेपाली युवाले विदेश ताक्नु पर्दैन । नेपाल सबै दृष्टिकोणले सम्भावना बोकेको मुलुक हो । यहाँ श्रम गर्नेले कहिल्यै पछुताउनु पर्दैन ।

Loading...