भ्रमण वर्ष २०२० : पर्यटकलाई स्वागत गर्न तयार छन् विराटनगरका होटल

खाना र बस्न छुटको योजना

विराटनगर, १६ पुस । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा घोषणा गरेको छ । वर्षभरि मनाइने भ्रमण वर्षमा १ नम्बर प्रदेश सरकारले पाँचलाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

प्रदेश सरकारले बनाएको योजनालाई पूरा गर्न पर्यटन व्यावसायीहरूले पनि साथ दिएका छन् । भ्रमण वर्षमा आउने पर्यटकको स्वागतका लागि विराटनगरका होटल व्यावसायीहरू तयार रहेको प्रदेश १ सरकारले निर्माण गरेको भ्रमण वर्ष प्रचारप्रसार समिति संयोजक पुन्य भट्टराई बताउँछन् ।

होटल एसियाटिक सञ्चालकसमेत रहेका भट्टराई पर्यटकका लागि होटलमा बास बस्न २५ प्रतिशत र खानामा १५ प्रतिशतसम्म छुटको योजना ल्याएको बताउँछन् । भ्रमण वर्षलाई लक्षित गर्दै विराटनगरमा व्यावसायीले होटल व्यावसाय क्षेत्रमा लगानी थपेका छन् । विराटनगर बजार क्षेत्रमा मात्र होटलमा चार अर्ब हाराहारी लगानी थप भएको होटल व्यावसायी भविष श्रेष्ठ बताउँछन् । सरकारले ल्याएको योजनाले व्यावसायीलाई थप उत्साहित बनाएको बताउँदै उनले नयाँ होटलहरू खुल्ने क्रमम रहेको बताए ।

विराटनगर बजार क्षेत्रमा चार तारेसम्मका होटलहरू सञ्चालनमा छन् । पाँच तारे होटल सञ्चालनको तयारीमा छन् । पुराना होटलहरूले भ्रमण वर्षलाई लक्षित गरी आफ्ना क्षमता अभिवृद्धि गरेका छन् । पर्यटन वर्षलाई लक्षित गरी इस्र्टन स्टारले करिब पाँच करोड लगानी थप गरेका होटल सञ्चालकसमेत रहेका श्रेष्ठ बताउँछन् । पछिल्लो समय लगानी थप गरी होटलको कोठाहरू र सेमिनारहलहरू स्तरीय बनाइएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को पर्यटनतर्फको प्रदेश संयोजक रहेका श्रेष्ठका अनुसार विराटनगरमा थप पाँचवटा होटलहरू निर्माणाधीन अवस्थामा छन् । ‘सामान्य होटल निर्माण गर्न जमिनबाहेक २५ देखि ३० करोड लगानी हुन्छ’, श्रेष्ठ भन्छन्, ‘पाँचतारे स्टार होटल खोल्न दुई अर्ब हाराहारी लाग्छ ।’

पर्यटन वर्षले पर्यटन क्षेत्रलाई थप उत्साहित बनाएपनि पर्यटकलाई धेरै समय बस्ने वातावरण बनाउनका लागि पर्यटकीय क्षेत्रको निर्माण गर्न नसकिएको उनको गुनासो छ । ‘प्रशस्त सम्भावनाहरू छन्,’ उनी भन्छन्, ‘तर पर्यटकको बसाइ लम्ब्याउन लागि पूर्वाधारहरू तयार भएका छैनन् ।’ प्रदेश १ का व्यावसायीहरूले धार्मिक तथा पर्यटकीय क्षेत्रमा नयाँ प्याकेजहरू निर्माण गरेको उनले बताए ।

विराटनगरमा होटल ह्यारिसन प्यालेस, होटल एशियाटिक, बिग होटल, स्टर्न स्टार, रत्ना होटल, जेनियल, पाञ्चाली, होटल कृष्ण, स्वागतम होटल, नमस्कार होटल ठूला व्यावसायीक होटलमा हुन् । त्यस्तै साना लगानीमा एक दर्जनभन्दा बढी होटलहरू खुलेका छन् । विराटनगरमा उद्योगी मोती दुगडले ह्यारिसन प्यालेस सुरु गरेका हुन् । साकाहारी भोजन पाउने ह्यारिसनको सफलतापछि उद्योग राज्यमन्त्रीसमेत रहेका दुगडले पाँच तारे होटलसहितको सेन्च्यूयिन मल निर्माणको काम तीव्र बनाएका छन् ।

रत्ना होटलले विराटनगर बसपार्कमा सुविधासम्पन्न संरचना निर्माण गरेको छ । होटल सञ्चालक रेवतबहादुर थापाले पर्यटकीय क्षेत्र हिलेमा पनि होराइजन प्यालेस होटल सञ्चालन गरिरहेका छन् ।

करिब ५० करोड लगानीमा एक वर्षअघि विराटनगरमा सञ्चालनमा आएको बिग होटलमा ५७ वटा कोठाहरू छन् । होटल एसोसिएसन विराटनगरका अध्यक्ष राजन श्रेष्ठ भ्रमण वर्षले आश देखाएकाले धेरै होटलहरूले लगानी थप गरेको बताए । श्रेष्ठले पनि आफ्नो होटल स्वागतममा लगानी थप गरेका छन् । पछिल्लो तीन वर्षमा होटलमा उल्लेख्य लगानी भित्रिएको बताउँदै उनले थप लगानी आउने क्रममा रहेको बताए ।

श्रेष्ठका अनुसार विराटनगरका ठूला होटलमा दुई हजार मानिस अटाउन सक्छन् । त्यसबाहेक साना होटल र लजहरू पनि छन् । विराटनगरमा मात्र नभई प्रदेश १ का अन्य पर्यटकीय क्षेत्रहरूमा पनि होटलहरू निर्माण भइरहेको उनले बताए ।

Loading...