visit-nepal

लेख्ने र लेखाउने काम सहज छैन

मधु राई

“म्याम तपाईंहरूले त थोप्ला जोड्ने अभ्यास मात्र गराइरहनु भएको छ, मैले मेरो छोरालाई घरमा क लेख्न सिकाउँदै छु । तपाईंहरूले पनि मेरो छोरालाई क लेख्न सिकाइदिनुस् न”, एकजना बालविकास कक्षामा भर्खरै तीन वर्ष पुगेको विद्यार्थीको अभिभावकले यसरी आग्रह गरिन् ।

साना विद्यार्थीलाई लेख्न सिकाउन मौखिकजस्तो सहज हुँदैन भनेर सम्झाउन केही समय खर्चनु पर्‍यो यो पंक्तिकारलाई । अन्ततः बुझेजस्तो गरेर फर्कनु भो । उहाँजस्ता बहुसंख्यक अभिभावकलाई मौखिक रूपमा गीतको माध्यमबाट एबीसीडी र कख सजिलै भन्न सिकेजस्तै लेख्ने काम पनि सहजै हुन्छ होला भन्ने लाग्नु स्वाभाविक हो । तथापि, गीतको माध्यमबाट सिक्ने–सिकाउनेजस्तो लेख्ने र लेखाउने काम त्यति सहज नहुने कुरा सिक्ने विद्यार्थी र सिकाउने शिक्षकलाई मात्र थाहा हुन्छ ।

यस्तै साना विद्यार्थीले लेख्ने क्रममा पाउने पीडा व्यक्त गर्न नसके पनि लेख्न सिकाउने मजस्ता अधिकांश भुक्तभोगी शिक्षकले समेत आफ्नो पीडा व्यक्त गर्न सक्दैनन् । यसको प्रत्यक्ष र परोक्ष असर विद्यार्थीको पढाइमा पर्छ र लेखनसीप सिकाउनुअघि लेखनबारे आधारभूत कुरा अभिभावक र शिक्षकले थाहा नपाउँदा विद्यार्थीको अक्षर बिग्रँदै जान्छ । अन्ततः अक्षर राम्रो नभएकै कारण कतिपय विद्यार्थीले परीक्षामा राम्रो अङ्क ल्याउन सक्दैनन् ।

यस्तै उमेर नपुगेका छोराछोरीलाई जसरी हुन्छ चाँडो सिकाउन हतारिने निजी विद्यालयका अभिभावकहरुले शिक्षकलाई प्रत्यक्ष र परोक्ष रूपमा दवाव दिने गरेको पाइन्छ भने कतिपय शिक्षकहरू अभिभावकका चाहनालाई शिरोधार्य गर्दै “हुन्छ नि भइहाल्छ नि” भन्दै अवैज्ञानिक तरिकाले सिकाउन थाल्छन् । वास्तवमा ससाना बालबालिकालाई विद्यालय पठाउँदैमा जसरी पनि लेख्न पढ्न सिकीहाल्छन् र सिकाइहाल्नुपर्छ भन्ने अभिभावकको एकतर्फी सोचले साना विद्यार्थीको स्वतन्त्रतापूर्वक सिक्न पाउने बालअधिकार हनन हुन पुगेको छ भने निजी विद्यालय सञ्चालक र शिक्षकहरूले यस्ता सोच राख्ने अभिभावकलाई बालअधिकारलगायत आवश्यक सरसल्लाह दिन नसक्दा स्कुले शिक्षाको पहिलो खुड्किला अर्थात् पूर्वप्राथमिक तहको प्रारम्भिक शिक्षणसिकाइ निरस बन्न पुगेको छ ।

वास्तवमा अन्य काम गर्नुअघि पूर्वतयारी गरेजस्तै लेख्न–पढ्नका लागि पनि साना विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपले तयार गराउनुपर्छ । विशेषगरी लेख्ने हातहरूको मांशपेशीको विकास गराउन सोहीअनुरुपको अतिरिक्त क्रियाकलाप गराउनुपर्छ । उदाहरणका लागि औंलाहरूलाई चलायमान गर्न पीठो वा सुजी थालमा राखेर खेल्न दिनुपर्छ । एवंरीतले केही दिन खेलाएपछि विस्तारै चोर औंलालाई गोलाकार घुमाउन लगाउन सहजीकरण गर्नुपर्छ शिक्षकले । यसरी खेल्न सिकेपछि आटामा खाने रङ्ग वा बेसारको घोल मिसाइ मुछ्न सिकाउने खेल खेलाउनुपर्छ । यस्ता खेलले एकातिर औंलाको मांशपेशी बलियो हुँदै जान्छ अर्कातिर मुछेको आटाबाट विभिन्न आकारप्रकार बनाउँदा समय बितेको पत्तो पाउँदैनन् विद्यार्थीले ।

यसरी अतिरिक्त क्रियाकलाप गर्न सिकेपछि बल्ल मैनबाट बनेको रङ्गीबिरङ्गी पेन्सिल समाउन सक्ने हुन्छन् साना विद्यार्थीहरू । यसरी ती पेन्सिलहरू समात्न सिकेपछि सेतो पाना भएको कापी दिनुपर्छ र उनीहरूलाई स्वतन्त्रतापूर्वक कोर्न दिनुपर्छ । यसरी जथाभावी कोर्दैजाँदा विभिन्न आकारप्रकार बन्दै गएको देख्दा विद्यार्थीहरू दङ्ग पर्छन् र अझै कोर्न हौसिन्छन् । त्यसपछि बल्ल शिक्षकले गोलाकार वा वर्गाकार बनाइदिएर त्यसभित्र रङ्ग भर्ने क्रियाकलाप सुरु गर्नुपर्छ ।

यसरी ती विभिन्न आकारको भित्रीभागमा रङ्ग भर्न सिकेपछि बल्ल थोप्ला जोड्ने अभ्यास सिकाउन सहज हुन्छ साना विद्यार्थीलाई । यसरी थोप्ला जोड्ने अभ्यासले रेखा बनाउने सीप सिक्छन् । यस्तै अक्षर भनेका रेखा हुन भन्ने सिकाइको आधारभूत सिद्धान्त हो जसअन्तर्गत पहिले सरल अनि मात्र जटिल कुरा सिकाउँदै जानुपर्छ । यस्तै लेखनसम्बन्धी आधारभूत सिकाइले अक्षर लेख्न सिकाउँदा नेपाली वर्णमालाको पहिलो अक्षर क वा अबाट होइन सरल रेखाहरूबाट थाल्नुपर्छ भन्छ । यस्तै तल–माथि केही दूरीमा दुई वटा थोप्ला जोड्दा एउटा धर्का बनाउन सिक्छन् ।

एवंरीतले धर्का कोर्न सिक्दै गरेका विद्यार्थीलाई सोही धर्काको नजिकै त्यस्तै अर्को धर्का कोर्न सिकाउँदा दुईवटा धर्का तयार हुन्छ । यसरी दुईवटा धर्कामध्ये पहिलो धर्कालाई बायाँपट्टी अलिकति घुमाउन सिकाउने हो भने ग अक्षर बन्छ । यसरी ग लेखाउने अभ्यासलाई रुचिकर बनाउन छेउमा फूल फुलेको गमला राखि गबाट गमला भनेर सिकाउँदै जाने हो भने सिकाइ प्रभावकारी बन्दै जान्छ । यसरी ग अक्षर लेख्न सिकेपछि क्रमशः म, भ, झ, प, फ, ष, ब, व, र, ख, ए, ऐ र ण अक्षर सिकाउनु पर्छ । अनिमात्र टबाट, वबाट र उबाट बन्ने अक्षरहरू सिकाउनुपर्छ । त्यसपछि बल्ल क वा अ सिक्न सक्ने हुन्छन् ।

वास्तवमा नेपाली वर्णमालाको तुलनामा अंग्रेजीका साँवा अक्षरहरू लेख्न सिकाउन सहज हुने हुँदा साना विद्यार्थीले चाँडै लेख्न सिक्छन् । उदाहरणका लागि त्रिभुजाकारमा तीन वटा थोप्ला जोड्न सिक्दा सिक्दै A लेख्न सिक्छन् । यस्तै नेपाली वर्णमालाको अक्षर जस्तो अंग्रेजीका साँवा A सिकेपछि सहजै अरु अक्षर लेख्न सक्ने हुन्छन् ।

विडम्बना भन्नुपर्छ नाम चलेका कतिपय निजी विद्यालयका शिक्षकहरूले समेत लेखन सीपको आधारभूत सिकाइलाई नजरअन्दाज गरेको देखिन्छ । किनभने कतिपय शिक्षकहरूले चाहे नेपालीको वर्णमालाको अक्षर होस् वा अंग्रेजीको, अक्षरकै आकारको थोप्ला बनाइ माथिबाट पेन्सिलले कोर्न लगाउँछन् । यस्तो शिक्षणसिकाइले नत विद्यार्थीले अक्षरको अवधारणा बुझ्छन् नत लेखनसम्बन्धी आधारभूत ज्ञान नै पाउँछन् । कालान्तरमा यस्तो शिक्षण सिकाइको सुरुआतले विद्यार्थीको अक्षर मात्रै बिग्रँदैन यसले विद्यार्थीको पढाइमा नकारात्मक असर पर्छ । अक्षर राम्ररी स्पष्टसँग लेख्न नसक्ने विद्याार्थीहरू नै पढाइमा पछि पर्छन् भन्ने अध्ययनअनुसन्धानले देखाएको छ ।

हालैको अध्ययनअनुसार पछिल्लो १० वर्षको अवधिमा कक्षा १देखि १० सम्म भर्ना भएका १४ लाख ७२ हजार १३ विद्यार्थीमध्ये ४ लाख ५० हजार १ सय ८६ विद्यार्थी मात्र एसईईमा सहभागी भएको तथ्यांक जनसमक्ष आएको छ । यसरी १० वर्षको अवधिमा १० लाख २१ हजार ८ सय २७ विद्यार्थीहरूले किन विद्यालय छाडे भन्ने विषय गम्भीर छ । उनीहरूले स्कुले शिक्षा बीचैमा छाड्नुका थुप्रै कारणहरूमध्ये हस्तलेखन पनि एक हो कि भन्ने थुप्रै आधारहरू छन् ।

यसरी शिक्षालाई विकास र समृद्धिको मेरुदण्ड भनेपनि माथिल्लो आँकडाले नेपाली शिक्षा विशेषगरी सामुदायिक शिक्षाको वास्तविकतालाई उजागर गरेको छ । विद्यार्थी भनेका विकास र समृद्धिका संवाहक हुन् भने यिनीहरूलाई सबल र सक्षम नागरिक बनाउने पहिलो कर्तव्य अभिभावकको हो र दोस्रो शिक्षकको हो र तेस्रो राज्यको हो ।

यस्तै बर्सेनि विद्यालय छाड्ने विद्यार्थीहरूका बारेमा राज्य गम्भीर हुन जरुरी छ भने विद्यालय स्वयंले पनि छाड्ने विद्यार्थीको लगत राखि पूर्वप्राथमिक र प्राथमिक तहको शिक्षणसिकाइअन्तर्गत पर्ने लेखनसम्बन्धी आधारभूत ज्ञानबारे शिक्षकलाई तालिम दिन जरुरी छ भने निजी विद्यालयका सञ्चालक तथा शिक्षकहरुले पनि अभिभावकको जुनसुकै कुरा शिरोधार्य गर्नुभन्दा उनीहरुलाई लेखनसीप बारे आधारभूत ज्ञान र बालअधिकारकार बारे आवश्यक परामर्श तथा सुझाव दिन जरुरी छ अनिमात्र विद्यार्थीलाई लेख्न र शिक्षकलाई लेखाउन सहज हु“दै जान्छ ।

लेख्न र लेखाउने काम सहज हुनु भनेको विद्यार्थीको समग्र पढाइ सुध्रनु हो । यस्तै पढाइ सुध्रनमा लेखन सीपको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा शिक्षकले अभिभावक र विद्यार्थीलाई बेलैमा बुझाउन जरुरी छ ।

Loading...